कुसुम गौतम

कस्ले भन्छ
टुक्रिएका बादलहरुमा
दुखाइ छैन भनेर!

उसको पनि आफ्नै दुखाइ हुन्छ
आफ्नो अस्तित्वका सुन्दर छविहरु मेटेर
बग्नु परेको छ हावासँगै

बादलको कथा र कविको व्यथामा
कुनै अन्तर छैन यहाँ
आमा भन्नु हुन्छ
“भो…बन्द गर्दे तेरा कलमहरु
कस्ले पढ्छ तेरा थोत्रा कविता”
इतिहास इतिहासमै सीमित भइगयो
वर्तमान आडम्बरमा हिँडिरहेको छ
आफ्नै इच्छा र आकाङ्क्षाहरुकै विशेषतामा
“त्यसैले बन्द गर्दे तेरा कलमहरु”

रगत पसिनाका छिटाहरुले
सिँचिएको हाम्रो वीरता
विक्टोरिया क्रसद्वारा सम्मानित
पूर्खाहरुका वीरता
पुस्तकबाट च्यातिएका पाना मात्र भइसके
आजकल अधिकार खोज्नेहरुकै भिड छ
कस्ले गराउँछ
कर्तव्य र दायित्त्वका बोध
वर्षौँदेखि मगजहरु कुहिरोभित्र गुम्सिएका छन्
अस्पष्ट क्षितिजको घेराभित्र
“त्यसैले बन्द गर्दे तेरा कलमहरु”
यहाँ कविको भन्दा गफीको भाउ छ
यहाँ साहित्य भन्दा सत्ताको खाँचो छ
बादलझैँ बाध्य छ कवि
यहाँको परिवेश र परिस्थितिमा बाँच्न
त्यसैले यहाँ बादलको कथा अनि
कविको व्यथामा
कुनै अन्तर छैन।

म्यान्मा