मूलः मिन शिन
अनुवादः गोविन्द गिरी प्रेरणा
शहरको धूले बाटोमा भित्रिंदा मेरो मुटु नराम्रोसँग धड्किरहेको थियो । म चलचित्रकी एक नायिका खिनलेतिनलाई भेट्न जाँदै थिएँ । उनलाई मैले निकै लामो समयदेखि प्रत्यक्ष वा पर्दामा देख्न पाएको थिइन ।
वास्तवमा भन्ने हो भने कुनै दिन म यो शहरको धूले बाटोमा आउँला भन्ने सोचेकै थिइनF । किनभने उनलाई फेरि भेट्ने मौका पाउँला भन्ने लागेकै थिएन । सबभन्दा पहिले उनीसँगको मेरो भेटको सम्झनाले अतीतमा डोर्यायो ।
दोस्रो विश्वयुद्ध हुनुपूर्व खिनलेतिन बर्मेली नायिकाहरूमध्ये अत्यन्त आदर्श नायिकाको रूपमा सुपरिचित थिइन् रङ्गमञ्च र पर्दा दुवैमा ।
खिनलेतिनलाई हामी तरुणहरूले युद्धपूर्वका चलचित्र झैं आदर्श बनायौं । हाम्रो स्नेह र आत्मीयता उनको लागि बन्धनयुक्त थिएन । हामीले त्यसैकारण युद्धपछि उनलाई पर्दामा हेर्न बेचैनीकासाथ प्रतीक्षा गरिरह्यौं । उनले अभिनय गरेका चलचित्र मात्र हामीलाई मन पर्थ्यो । अनि रेडियोबाट बज्ने गीत पनि उनले गाएको मात्र आनन्दमयी लाग्थ्यो । वास्तवमा हाम्रो हृदयमा कुनै खालि स्थान थिएन अरू नायिकाको लागि । उनी एक्ली एकाधिरिणी थिइन् हाम्रो हृदयकी ।
ती दिनमा हामी मध्ये एकजना यस्तो पनि थियो जसले सगर्व घोषणा गर्थ्यो, “उनले गाएको गीत सुनिरहन पाए म त भोक प्यासै बिर्सिन्छु ।“
अर्को पनि एउटा थियो जसले खिनलेतिनले अभिनय गरेको एउटा चलचित्र ५/६ पल्ट हेरिसकेको थियो तर ऊ भन्थ्यो, अझै ऊ त्यो चलचित्र हेर्न चाहन्छ। हामी सबैजसो हाम्रो खर्च गर्ने पैसा बचाएर राख्थ्यौं, खिनलेतिनको रेकर्ड निस्कने बित्तिकै किन्नलाई । केही अरू यस्ता पनि थिए जो उनलाई हरेक हप्ता चिट्ठी लेख्दथे अमर प्रेम र भेट्ने इच्छा दर्शाएर।
अर्को एकजना यस्तो तन्नेरी पनि थियो जो बारम्बार भनिरहन्थ्यो – “यदि तिमीहरू कसैले खिनलेतिनको घर चिनेका छौ भने मलाई लगिदेऊ । उनलाई मेचमा बसाएर गीत गाउन अनुरोध गर्दछु र म भुईंमा लडिबुडी गर्दै उनको अनुहार नियाल्दै उनले गाएको सुन्न चाहन्छु । यदि मैले यसो गर्न पाएँ भने म खुशीसाथ मर्नेछु ।”
त्यो तन्नेरी मानिस अहिले मरिसक्यो । ऊ सेनामा भर्ती भएको थियो र राष्ट्रवादी चिनियाँ आक्रमणकारीसँगको सङ्घर्षमा मारिएको थियो । समय बित्दै जाँदा हाम्रो समूह टुक्रियो । कसैले जागीर खाए । कसैले आफ्नै व्यवसाय अँगाले । सबै आ-आफ्नै रुचि र रोजाइ अनुसारको सङ्घर्षमा उत्रिए । तर हामीले हाम्रो काम सम्हाल्नु अघि नै चलचित्र अभिनेत्रीले हाम्रो हृदयमा कब्जा जमाइसकेकी थिइन् । त्यसैले त केही वर्षपछि चलचित्र पत्रिकामा खिनलेतिनले चलचित्र जगत्बाट सन्यास लिएको खबर पढ्दा हामीलाई साह्रै बेमज्जा लाग्यो । खिनलेतिनले पर्दाबाट मात्र सन्यास लिएकी थिइनन्, उनी रङ्गूनको समाजबाटै बेपत्ता भएकी थिइन् र मलाई लाग्यो- उनी रङ्गूनबाट बेपत्ता हुनुमा केही जिम्मेवार म पनि छु। यस्तो लागेर मलाई पछुतो भयो ।
खिनलेतिनसँग मैले पहिलो पल्ट सन् १९४९ मा बर्मेली प्रसारण केन्द्रमा एउटा रेकर्डिङ सेसनमा भेटेको थिएँ र हामी छिटै नै एक अर्काका सम्पर्कमा आएका थियौं । मेरो उनीसँगको मित्रता अत्यन्त पवित्र र निस्वार्थ थियो । उनलाई युद्धपूर्वका चलचित्रहरूमा देखेदेखि नै म उनीप्रति साहै नै चाख लिन्थें । उनीप्रति कति गहिरो स्नेह थियो भने त्यहाँ सरल र साधारण प्रेमको कुनै गुन्जाइस नै थिएन । आफ्नो युवावस्थाकै आदर्श अभिनेत्रीसँग मित्रताको मौका पाएको हुँदा म अत्यन्त खुशी थिएँ । उनी पनि मैले साहित्यिक जगतमा आफ्नो नाउँ कमाउन थालेकोमा कम खुशी थिइनन् । हाम्रो सामूहिक रुचि सङ्गीतले हामीलाई साह्रै नजिक ल्यायो र हामी दुवैको ललितकलाप्रतिको साझा झुकावले हाम्रो मित्रतालाई छन् गाढा बनायो । हामी जतिजति घनिष्ठ मित्र हुँदै गयौं, मेरो खिनलेतिन प्रति झन् सम्मान बढ्यो । वास्तवमा खिनलेतिन प्रति मेरो अत्यधिक सम्मानले गर्दा मेरो घनिष्ठ मित्र कोथासान र मबीच कहिलेकाहीं त कचिङ्गल पनि हुन्थ्यो ।
खिनलेतिनले हाम्रो शौखिन सङ्गीत समूह ‘द न्यू मेलोडी’ मा गीत गाउन मन्जुरी दिएकी थिइन् । ती नयाँ गीतहरू रेडियोबाट प्रचारण हुने निश्चित भइसकेको थियो । कोथासानले त्यस अवसरको लागि एउटा विशेष गीत रचना गरेको थियो र उसले उनलाई त्यो गीत ठीकसँग गाउन सिकाउने मौका पायो । तर खिनलेतिनलाई सिकाउन सजिलो कुरा थिएन भन्ने कुरा हामीले छिट्टै थाहा पायौं । गीतका शब्दहरू ‘प्रेमको महासागर’लाई कोथासानले पूरा दिन धैर्यपूर्वक त्यो गीत कसरी गाउने सिकाउन कोशिश गरिरहयो । तर हाम्रो अपेक्षा विपरीत खिनलेतिन जस्ती लोकप्रिय नायिका मात्र नभई देशकी एउटी अत्यन्तै लोकप्रिय गायिका दिनभरिको प्रशिक्षण पछि पनि त्यो गीत गाउन सक्षम भइनन् ।
दुई दिनसम्म पनि ठीकसँग गाउन नसकेपछि प्रशिक्षण तेस्रो दिन पनि चालु रह्यो । तेस्रो दिन पनि उसले धैर्यसाथ सिकायो तर उनले पकड लिन सकिनन् र तेस्रो दिनको अन्त्यमा ऊ पड्क्कियो, “तिमी दुनियाँकी अत्यन्त महशूर गायिका हुन सक्छ्यौ तर तिमीलाई सङ्गीत बारे एक छेउ पनि ज्ञान छैन । मलाई थाहा छैन तिमीलाई त्यस्तो भयङ्कर लोकप्रिय बनाउने गीत कसरी गायौ ?” यो आलोचना उसको हृदयबाटै उब्जेको थियो । साँच्ची नै उसलाई गजब लागिरहेथ्यो जसलाई लयसम्मको ज्ञान छैन त्यसले कसरी सफलतापूर्वक गाउन सक्छ?
खिनलेतिनले पनि आलोचनाको जवाफ दिइन् र बाझाबाझ भयो ।
“म तिमीहरूलाई जानकारी गराउन चाहन्छु, म गीत गाएर पेट पाल्ने खालकी होइन र म मेरो समय यी लय-सय सिकेर समय खेर फाल्न चाहन्नँ । म गाउँछु किनभने मेरो स्वाभाविक सुन्दर र कर्णप्रिय स्वर छ।” र त्यसपछि अनावश्यक रूपले लाजमर्दो हुनुपरेकोले होला उनी रुन थालिन् । त्यस अवसरमा मैले उनको पक्ष लिएँ र मेरो प्रिय साथीलाई हकारें – उसले त्यसरी ठाडै आलोचना गर्न नहुने । तर जहाँसम्म उनको कलाको कुरा थियो, कोथासानसित सहमत हुने खालको थिएन ।
“तिम्री नायिका सङ्गीतज्ञा होइनन्, न त उनलाई गायनको दैवी शक्ति नै प्राप्त छ । उनका गीतकार साथीहरूले मरिमेटेर सिकाएको उनी सुगाले झैं टर्टराउँछिन मात्र । मलाई आज आफैलाई लाज लागिरहेछ, म तन्नेरी हुँदा खिनलेतिनलाई त्यति धेरै श्रद्धा गर्दथें ।”
मैले यति नराम्रोसँग मेरी आदर्श देवीलाई बचन लगाएको सुनिरहन सकिन, फलस्वरूप हामी बीच झगडा भयो । म र मेरा साथीहरूमाझ छुटानाम पनि भयो । कोथासानको त्यो गीत रेडियोबाट प्रसारण भयो तर त्यो अरू नै कसैले गाएको थियो । छ महिनासम्म कोथासान र मेरो बोलचाल भएन ।
चलचित्र जगतमा अत्यन्त जाज्वल्यमान व्यक्तित्व भएकी खिनलेतिनसँग त्यही बरावरको गर्व थियो । तिनलाई यस्ता कुनै पनि किसिमका आलोचना सह्य थिएनन् । अर्कोतिर कोथा सान थियो जो आफूले हासिल गरेको स्थानबाट एक इन्च पनि यता उता गर्न तयार थिएन, किनभने उसले स्थापित गीतकार र लेखकको रूपमा गर्व प्राप्त गरेको थियो । कालान्तरमा उनीहरू गर्वले एक आपसबाट पृथक् भए । तर साँचो भन्ने हो भने खिनलेतिन र म दुवैलाई थाहा थियो कोथासानले खिनलेतिनको असक्षमताका बारेमा भनेका कुरा वस्तुतः सत्य थियो । खिनलेतिनले आफ्नो गल्ती त्यस बेला महसूस गरिन् जब मैले कोथासानको आलोचनालाई सकारात्मक ढङ्गले स्पष्ट गर्ने प्रयास गरें । उनले चुपचाप सुनिन् कुनै पनि प्रतिक्रिया बेगर । तर त्यो आलोचनाका सम्बन्धमा उनको जे सुकै विचार भएको भए ता पनि उनको पक्षमा म थिएँ भन्ने कुरा उनलाई थाहा भएर ढुक्क थिइन् । पछि त उनी नैतिक सहयोगका लागि पूर्ण रूपले मप्रति नै आश्रित भइन् । त्यसैकारण उनको कलाकारको जीवनसँग सम्बन्धित सल्लाहहरू दिन म उत्साहित थिएँ । उनले पनि मेरा सकारात्मक आलोचना उत्साहपूर्वक नै स्वीकार्न थालिन् । उदाहरणको लागि म भन्न सक्थें कुन चलचित्रमा उनको अभिनय त्यति ठीक थिएन । त्यस्तो दृष्यमा उनको उच्चारण त्यति किन जमेन ? कुन चलचित्रमा उनको भूमिका किन त्यति सुहाएन अथवा पछिल्लो चलचित्रमा सह अभिनेत्रीसँग खेल्नु किन ठीक थिएन इत्यादि। मेरा यी आलोचनाहरूलाई उनले स्वीकार मात्र गरिनन्, मैले औंल्याएका त्रुटिहरूलाई सुधार्ने प्रयास पनि गरिन् ।
यस प्रकार समयको एक अन्तरालसम्म उनका राम्रा चलचित्रहरू उत्पादन भए र तिनलाई जनताले रुचाए । तर त्यस्तै दश वर्ष जति पछि उनका चलचित्रहरू ओरालो लाग्न चाले । थोरै भन्दा थोरै मात्र उत्पादन हुन थाले, तिनमध्ये पनि थोरै मात्र सफल भए । ती दश वर्षका बीच नयाँ कलाकारका जमात चलचित्र जगतमा उदाइसकेका थिए । यी नायक नायिकाहरूमध्ये तीनचार जना त साह्रै लोकप्रिय भए र सबै चलचित्र निर्माताहरूले हरेक चलचित्रमा उनैलाई मात्र लिन चाले र ठूलो रकम पनि दिन थाले । उनको यो ओरालो लागेको लोकप्रियता र भाग्यको समयमा उनकै भलाइको लागि मैले उनलाई आफ्नो काममा लागिरहन सल्लाह दिएँ । तर मेरा आलोचनालाई उनले मैले अपेक्षा गरे झैं लिइनन् र मेरा असल भावनाहरू धूलोमा मिले । सधै मैं म उनीप्रति सहयोगात्मक हुन खोजिरहेको थिएँ ।
“एउटा कलाकारको जीवन उसको कलात्मक सिर्जनामा भर पर्छ।” मैले भनेको थिएँ -“त्यसकारण यदि तिमी अरू चलचित्रमा संलग्न नभै यसरी नै बस्यौ भने तिमीलाई जनताले तुरुन्तै बिर्सिदिनेछन् । तिमी किन अरू चलचित्र बनाउँदिनौ ?”
“चलचित्र निर्माताहरूले आजकाल मलाई चाहँदैनन् । मैले चाहेर पनि के गर्नु ? कसैले चलचित्र बनाउनु पनि त पर्यो । र सुन, ती भर्खरका अल्लारेहरूलाई १५,००० देखि २०,००० सम्म दिन्छन् । मलाई भने मात्र ५,००० देखि १०,००० एउटा चलचित्रको लागि । के तिमी यो कल्पना गर्न सक्छौ ? मैले यतिका वर्ष लगाएर प्राप्त गरेको अनुभवको मूल्य त्यो भर्खर उदाएकी जेन्नीको भन्दा एक तिहाइ मात्र हुन्छ ? तिनीहरूलाई मेरो प्रतिभाको शोषण गर्न दिनुभन्दा त म चलचित्र नै बनाउन्न नि बरु ! त्यो निर्देशक यूकेइनले अस्ति मलाई आमाको केन्द्रीय चरित्रको भूमिका खेल्न सल्लाह दियो । यो भन्दा बढी अरू के हुन्छ ? म नायिका होइन, नायिकाकी आमा ”
मलाई लाग्यो उनको आवाज रिस र घमण्डमा मात्र सीमित थिएन र उनले लगभग आँसु खसाल्ने लक्षण देखाइन् । तर यस विषयमा यति गहिरोसँग उनले सोच्छिन् भन्ने मैले अनुमानसम्म गरेको थिइनँ । त्यसैले मैले त्यस कुराप्रति ध्यानै नदिईकन भन्दै गएँ- “तिमीले यसलाई कलात्मक मूल्यको दृष्टिले हेर्नुपर्छ । एउटा कलाकारको नाताले तिमीले आफूलाई प्राप्त हरेक अवसरमा निश्शङ्क प्रतिभा देखाउनको लागि स्वागत गर्नुपर्छ । यदि तिनीहरू तिमीलाई आमाको भूमिका दिन तयार छन् भने जनतालाई देखाइदेऊ । तिमी आमाको भूमिका स्वीकार । आफ्नो मनलाई काममा लगाऊ । तिमीले एकेडेमी पुरस्कार पनि जित्न सक्छौ ।”
यति वेला उनी यी सब कुरामा असम्बन्धित झैं भै रहन सकिनन् ।
“म यसलाई कलात्मक दृष्टिले हेर्न सक्दिनँ । म प्रशंसा अथवा एकेडेमी पुरस्कार चाहन्न । म त्यसरी मानिसहरूलाई मेरो अपमान गर्ने छूट दिन्न । म अब अरू कुनै चलचित्र नै बनाउन्न । अब जिन्दगीमा कहिल्यै बनाउन्न । तिमी जान सक्छौ । आफूलाई अपमानित गर । जाऊ । गइहाल । तिमी, जसको मप्रति यति गरीब सल्लाह छ, अब तिमीले कहिल्यै मेरो घरमा पाइला नहाल !”
उनको क्रोधित वाणीले म त्यस घरबाट तुरुन्तै बाहिरिएँ । त्यसपछि दाज्यु बहिनी जस्ता नजिकका हामी दुई जो एक अर्काका क्षमतालाई सम्मान गर्थ्यौं – यही आलोचनाको कारणले छुट्टियौं जब कि उनकै पक्षमा लागेर केही समय पहिले म कोथासानसँग छुट्टिनु परेको थियो।
त्यसपछि मैले उनलाई भौतिक रूपमा मात्र होइन पर्दामा समेत हेरिन । यस बीच हामी छुट्टिएको छ वर्षसम्म खिनलेतिनले अभिनय गरेको एउटै चलचित्र बनेन । यतिन्जेलसम्म चलचित्र प्रेमीहरूले पनि खिनलेतिनलाई बिर्सिसकेका थिए । अन्त्यमा, धेरै मानिसहरूले निष्कर्ष निकाले- उनले पर्दाबाट सन्यास लिइन् । मेरा लागि भने उनले युद्धपूर्व अभिनीत चलचित्रहरूका अभिनयको अझै ताजा सम्झना थियो । यसकारण नै यो सानो धूले बाटोबाट म हिंडिरहेको थिएँ र म यो अवर्णनीय सोचाइले पीडा अनुभव गर्दै थिएँ ।
मलाई दिक्क लाग्यो । किनभने एउटी नायिका जो कुनै बेला देशकी नामुद नायिकाको रूपमा प्रसिद्ध थिइन्, देशको यो अज्ञात कुनामा आएर बिलाउन लागेकी थिइन् । मलाई पनि कताकता अपराधबोध भै रहेको थियो, यी सबको लागि म पनि केही न केही रूपमा जिम्मेवार छु जसका कारण यी घटनावलीहरू भए ।
मित्र कोचासानबाट मैले सुनेको थिएँ खिनलेतिन देशको बाहिरी भागको एउटा सानो शहरमा रेलवे स्टेशन नजिक बस्छिन् । र जब मैले सोचें – मबाट कति टाढिएको रहेछ, जब कि मैले कोथासानसँग पुनः मित्रता कायम गरिसकेको थिएँ । सबै पुराना सम्झनाका लहर लहरिन थाले ।
यो यसकारण सोचेको थिएँ कि यो सानो शहरमा म फर्कँदा एकपटक अडिन्छु भन्ने विचार थियो, माथिल्लो बर्माबाट व्यापारिक काम सकेर फर्कँदा । र त्यसैले म त्यो सानो शहरको धूले बाटो समातेर शहर नाप्दै थिएँ ।
“के तिमीलाई थाहा छ, खिनलेतिनको घर कुन हो ?” सडकछेउ खेलिरहेका केटाकेटीहरूमध्ये एउटालाई मैले सोधेँ।
“अर्थात् हिरोइन हैन त ? …. उ त्यस काठको घर उनको हो ।”
कमसेकम कसैले त उनको त्यो कला जीवनकै कारण अझै चिन्दो रहेछ । यो सोचाइ मात्रले पनि म प्रसन्न भएँ । जब मैले त्यो काठको छाप्रोमा प्रवेश गरें, मैले मुस्किलले केही देख्न सकें। क्षणभरको लागि म अन्धकार जगतमा पुगे झैं लाग्यो । टेबुलमाथि राखिएको रेडियोबाट मधुरो स्वरमा गीत बजिरहेको थियो । त्यस सँगैको मेचमा खिनलेतिन बसेकी थिइन् । मैले चिनें, उनी खिनलेतिन नै थिइन् । तर मैले मुश्किलले पत्याएँ । उनका कपाल फुल्न थालिसकेका थिए र गाला चाउरी पर्न लागेको देख्दा उनी बुढ्यौलीतिर झर्न लागेको लक्षण प्रष्टै देखिन्थ्यो । उनको आकृति छ वर्ष अघिको जस्तो सर्लक्क र सुकसुकाउँदो थिएन ।
“हलो ! कोमिनशिन ? तिमी कसरी यहाँ आइपुग्यौ ? कतै बाटो त बिराएनौ ?”
उनको आवाजले आखिरमा मलाई विश्वास दिलाई छाड्यो – मेरो अगाडि बसिरहेकी अरू क्वै नभई खिनलेतिन नै थिइन् ।
उनले अत्यन्त सौहार्द्रताका साथ अभिवादन गरेकी हुनाले मेरो डरलाग्दोसँग धड्किरहेको मुटु शान्त भयो । त्यसपछि यति धेरै वर्षसम्म अलग्गिएका हामीले एक अर्काको बारेमा सोधपुछ गर्न थाल्यौं । बितेका दिनका कुराहरू गर्न थाल्यौं ।
“तिमी कति बस्छौ कोमिनसिन ? म तिमीलाई यहीं मेरो घरमा राख्छु ।”
मैले उनलाई भनें -“रङ्गूनमा मेरो अझै काम बाँकी छ र म धेरै दिन बस्न सक्दिनँ । मलाई अर्को रेलबाट गइहाल्नु छ आजै ।” मैले उनलाई बिदाइको अभिवादन गर्दै हिंड्न खोजें तर उनले मलाई केही बेर रोकिन् ।
“म तिमीलाई यी सबको बारेमा लेख्न चाहन्थे तर सकिरहेको थिइनँ । त्यसपछि मैले अठोट गरेकी थिएँ जहिले म तिमीलाई भेट्छु तब यसको बारेमा बताउनेछु । र अहिले तिमी यहीं नै छौ, यी सब कुरा मेरो छातीबाट निकाल्नु वेश हुनेछ । तिमीलाई सम्झना होला, छ वर्षअघि तिमीले मलाई बताएका थियौ, एउटा कलाकारले आफ्नो कलात्मक उत्पादनमा भर पर्नु पर्दछ । ती शब्दहरू सही रूपमा ठीक साँचा थिए । तर तिमीले यी शब्दहार उच्चारण गर्दा म माथि पूरै घमण्ड सवार थियो, मैले यी शब्दहरूको अर्थ के हो क्षणभर पनि सोचिनँ । मैले बुझ्दै बुझिनँ । तर शहरको त्यस जीवनबाट अलग्गिएर जब म यो एकान्त गाउँमा आएर आफ्नो जीवन व्यतीत गर्न थालें, मैले राम्ररी बुझें तिमीले जुन शब्दहरू उच्चारण गरेका थियौ ती सब ठीक थिए । म अझै जिउँदै छु तर मेरो कलाकारको जीवन छ वर्षअघि नै समाप्त भै सक्यो ।” यी सब कुरा भन्दा उनको गहभरि आँसु भरिएको थियो ।
“होइन, यो अझै समाप्त भएको छैन । यदि तिमी चलचित्र जगतमा फर्किन चाहन्छौ भने फेरि जान सक्छौ । म तिमीलाई चलचित्र जगतमा फर्केर फेरि चलचित्र बनाउन आग्रह गर्दछु ।”
“तिमीले मलाई कति वर्षकी ठानेका छौ ? पचास नाघिसकें र म एउटी बूढी आइमाई भैसकें । छ वर्षअघि निर्देशक यूकेइनले मलाई आमाको भूमिका खेल्न आग्रह गर्दा म रिसाएकी थिएँ । अब त मेरो लागि हजुर आमाको भन्दा अरूको भूमिका सुहाउने छैन । तिमीले भने जस्तै अब फेरि चलचित्र जगतमा फर्किनु र जस्तोसुकै कठिनाइ झेल्नु भनेको जुनसुकै भूमिका पनि स्वीकार्नु हो र जरूरी कुरा के हो भने आफ्नो अभिनयले दर्शकहरूलाई खुशी तुल्याउनु हो । त्यसैले तिमीले मलाई आमाकै भूमिका खेल्न पनि आग्रह गरेका हौ । तर म अलि अप्ठ्यारो खालकी आइमाई हुँ । मलाई थाहा छ मैले पचास पार गरिसकेकी छु तर म अझै आफूलाई वीस वर्षकी पट्ठी खिनलेतिन सम्झन्छु, त्यो तरुणी जो युद्ध अघिका दिनमा शहरकी सबकी प्रिय नायिका थिई । जब म चलचित्र बनाउने कुरा सोच्दछु, मलाई बीस वर्ष नायिकाको भूमिकामा मात्र खेल्ने इच्छा हुन्छ । म आफूलाई पर्दामा केवल बीस वर्षे खिनलेतिन मात्र हेर्न चाहन्छु । र म चाहन्छु जनताले मलाई त्यही रूपमा हेरून् र चिनुन् । म बूढी खिनलेतिन हेर्न चाहन्न र अरूले पनि नहेरुन् भन्ने सोच्छु, त्यसैले मैले निर्णय गरिसकें, म यो जीवनमा अरू कुनै चलचित्र बनाउन्न । शायद हुनसक्छ अर्को जुनीमा …. । खैर, जनताले खिनलेतिनलाई जस्तो कि पहिले थिई त्यस्तै सम्झिदिए मलाई सन्तोष हुनेछ । अब तिमी दौडिहाल, अन्यथा तिमीलाई रेल भेट्न ढिलो हुनेछ । जाँदा जाँदै कृपा गरी तिम्रो साथी कोथासानलाई मेरो शुभेच्छा सुनाइदिनु ल !”
उनीसँग छुट्टिएको कैयौं बेरसम्म पनि उनका शब्दहरू मेरा कानमा गुन्जिरहेका थिए । रेलमा पनि रेलको छकछक आवाज भन्दा पनि उनकै शब्दोच्चारण आइरह्यो ।
शुरूमा आफ्नो घमण्डले गर्दा चलचित्र जगतमा उनले पिठ्यूँ फर्काएकी थिइन् । त्यसपछि उनलाई आफ्नो कदमप्रति पछुतो भएको थियो र फर्किन चाहेकी थिइन् । तर अहिले उमेरले झस्काउने अवस्था बनाइसकेको थियो । उनले घृणा गर्ने उमेरले उनलाई चियाउँदै जाँदा पनि उनलाई तरुणी छँदा पाए जस्तै जनताको प्रेम र स्नेहको भोक थियो । शुरूमा त जनताको स्नेह पाइरहन चलचित्र जगतमा फर्केर आउने दमित इच्छा त थियो तर आखिरमा उनले ती सबलाई धुजाधुजा पारिदिइन् ।
मैले उनको कुरा बुझें ।
तर यस विषयमा अरू कसैको जस्तोसुकै विचार भए पनि, मेरो विचारमा एउटा कलाकारको जीवन त्यहीं सकिन्छ जहाँ उनको सिर्जनशीलता समाप्त हुन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









