१.
जिन्दगीको छन्द

एक अति असरल्ल छन्दमा
समय बितिरहेछ, सहर बितिरहेछ
जुवाको दाउमा
कोही एक नसिबवाला जितिरहेछ
कोही बेनसिब सिद्धिरहेछ
खुट्टा नभिज्ने पानीमा पौडन खोज्छन् मान्छे
कहिले घुँडा ठोक्किरहेछ
कहिले हात घिस्रिरहेछ
मान्छे जिन्दगीभन्दा जिन्सीमा माया खोज्छ
ज्यानको भन्दा घरको रङ रोज्छ
कुटुम्बभन्दा धेरै धेरै कपडा साँच्छ
उज्यालोभित्र अँधेरो
प्रेमभित्र तुषारो
धनभित्र कपट
मान्छे चरित्रभन्दा चित्र खोज्छ
एकान्तमा म जिन्दगी खोतल्छु

पाउँछु
श्वास दिनदिनै रित्तिरहेछ
बेछन्द जिन्दगी बितिरहेछ ।


सँघारको उज्यालो

फेरि एकपटक भाले बास्यो
ताराको हूल आफ्नो बाटो लाग्यो
ल्यामपोस्टको बत्तीझैँ पूर्वबाट पहेँलो घाम उदायो
चिरबिरहरू ब्यूँझियो
निन्द्रामै दुईपटक अलार्मे ब्यूँझियो
घाम पुतली आँखाको आँगनीमा उड्यो
पातहरूले मोतीझैँ एकछिने नानी पाए
फूल माहुरीको बस्ती भेटियो
ऋषि अवस्थीझैँ
एक ध्यान एक मगन
एक चित्त एक लगन ।

३.
एक बिहान

कलिको एक प्रहर
समयको एक लहर
रात मुर्दा सहर
बिहानको पर्खाइमा ब्यग्र
बिहान
चियाको कित्ली बोकेर
मुखमै आउँछ
भाँडाकुँडा बोकेर
गल्ली गल्ली
सिक्का बटुल्छ दिनभरि
जवान जवानी खोज्दै हिँड्छ
जीवन कहानी खोज्दै हिँड्छ
चराहरूझैँ साँझमा
गुँडमा फर्किन्छ सारा सहर
कोही तातेर
कोही मातेर
आ–आफ्नो किस्मत समातेर ।