
रूपक अधिकारी
ओए तिमीलाई थाहा छ कि छैन ?
चुनाव आउँदैछ नि
तिमीलाई म्यादी बनाएर तिम्रो अनुपस्थितिमा
बुबा आमालाई बहकाएर भोट चोर्न
आउलान् फेरि उही पुरानै अनुहार
जसले बर्षौंदेखि मात्र आश्वासन बाँडेका छन्
असारको महिनामा टाँसिएको कालोपत्र जस्तै
उक्किजान्छन् झुठा कसमहरू
फेरि टालिन्छन् उही आश्वासनका लेपनहरू
श्रीङ्गार गरी नयाँ नारासहित
चुनावी एजेन्डासहित
के के न गर्लान् जस्तै गरी
लालचको चपेटामा फसाउलान् बुबा आमालाई
अनि लुटिरहलान् बर्षभरी अस्मिता
हिँडिरहेको सडक एकदिन मेयर साब आएर उद्घाटन गर्लान्
मख्ख बनाउलान्
बर्षौंसम्म आसनमा बसेर
अन्कनमा बसेर
गर्दै नगरेका प्रगतिशिल पथ देखाएर
भन्लान् भत्ता र सत्ता त हाम्रै हो
तिमी एता सन्जालमा नो भोटको अभियानमा लागेको बेला
तिम्रो नाकमुनिबाट तिम्रै घरको भोट लैजालान्
तिमी दुनियाँका अघि जिल खाउला, ट्वाल्ल
दुनियाँ उसैको पछि भीड लाउला
यही त चलेको छ रित फेरि दोहोरिएला, के फरक पर्छ र
चोरले एकपटक फेरि चोरी गर्ला
फेरि डकैती होला
लुटपाट बढ्ला
बलात्कार
हत्या – हिंसा
अपहरण र फिरौती
एवं रितले फस्टाउलान्, के फरक पर्छ र ?
कसैले जंगल पस्छु भनी इमोसनल ब्ल्याकमेल गर्लान्
कोही जंगलबाट आएर यहाँ सब मंगलनै मंगल छ भन्लान्
जसले जे गरेपनि जित्ने आखिर नेताले नै हुन्
तर तिमीले याद राख्नु
नेताको आडम्बरमा यहाँ फेरि गुन्डाराज नदोहोरियोस्
आउ हामी चुनावलाई चुनावजस्तै बनाऔं
हरेक आन्दोलन इतिहासमा सहादत पाएकाहरूको साख जोगाउन
भोटरको शक्ति देखाऔं
के के न गर्छु भनेर केही नगर्नेलाई मज्जाले पछारौं
यसपाली चुनावमा नो भोट वा नोटको पक्षमा हैन
लिडरको पक्षमा मतदान गरौं
चुनाव आउँदैछ योग्यता पुगेकाले उम्मेदवारी दिनुपर्छ
योग्यता पुगेकैले भोट दिनुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









