रूपक अधिकारी

स्खलित भैसकेको एउटा पुरानो बत्ती सदनमा बलि नै रहेको छ
र त लालटिनहरू आजकल बल्दैनन्
लालटिन नबल्नुमा कमी यहाँ मट्टीतेल वा मसालको हैन
किनकि तीन लालहरू हिजै सती गैसके
सती जाँदैगर्दा उनले भनेका हुन्
अब उपरान्त क्रान्ति कहिल्यै नबलोस्
अब कसैले परिवर्तनको झुटा आश्वासनमा लिप्त भएर नृत्य नगरोस्

सती जानुको अर्को कारण भनेको व्यवस्था हो
त्यो व्यवस्था जहाँ अग्ला टावर त छन्
तर भुइँमान्छे देख्नसक्ने दुरविनको एक प्वाल सम्म छैनन्
यदि देख्ने आँखा हुन्थ्यो भने लालटिनले साहस गर्थ्यो
तर मेरो अधिपतिलाई
आलिसान महलका खिड्किबाट चुहिएको विलासिता मात्र नजर आउँछ
र पाउ तिनै ढोका भएर स्विस बैंकमा ठुल्ठूला विकास पठाउँछन्
निकास पनि त त्यही हो
हामीले चाहेको पनि त त्यही हो

सती जानेबेला भन्न नपाएका तमाम आक्रोशहरू
आजकाल कमानबाट फुत्किएर हावासँगै बहन थालेका छन्
र त बल्न पाएका छैनन् लालहरू
र त तयार छौँ रेटिनलाई हामी सारा ह-लालहरू
र त नाचेका नाच्यै गर्छन् कछाड फुकाएर झोलाका द-लालहरू
र त अनुत्तरित छन् अझै पनि सहादतका सवालहरू

चोकमा कुनै फुच्चे प्रकाशको शालिकमा मौनता गाढेर बसेका छन्
लालटिनका अवशेषहरू
कहीँ बारुदका छर्रा बदनभरि कुँदेर सल्काइरहेका छन्
अंशवण्डाको घडेरीसँगै आँसुका छाप्राहरू
र त चाप्राहरू लालटिन दफन गर्दैछन् पुँजीपति भान्साको थालमा

आउनुस् विपी – काम्रेड भएर आउनुस्
एक थाल चुनावमा म एक भोट लिलाम गर्दैछु
आउनुस् एक छाक गरिबीमा म तपाईंको तीन पुस्ते बिमा गरिदिन्छु
आउनुस् भ्रष्टाचारको उत्तेजित लिङ्ग बोकी
मलाई करणीको तपाईँले दोष खानुपर्दैन
आउनुस् फेरि तपाईँ स्खलित भएर सदनमा निर्धक्क पुरानो बत्ती बाल्न सक्नुहुनेछ ।