पढ्नेहरू एकस्वरमा कराउँछन् पढ्नुपर्ने कुरा यहाँ
उनलाई बेच्नु जो छ एउटा अर्को किताब
पुरानो कोट र नयाँ पुस्तकको किंवदन्ती सुनाउँछन्
तर पुरानो कोट लगाउँदा पनि पढिँदो रहेछ गरिबी भन्ने पाठ
र छोड्दा पनि पढिँदो रहेछ
विलासिताको अभ्यास
कुनै काँपिरहेको शरीरमा अडियोस् न्यानो भन्ने चाहत राख्ने हो भने
पढिने रहेछ ” अनुकूले विधौ देयं एतः पूरयिता हरिः ”
अर्थात् तकदीर अनुकूल हुँदा दान दिनु किनकी सप्पै दिने भगवान हुन्
पढिने रहेछ खाटदेखी घाटसम्मको हाम्रो हरेक कर्म
पढाई यहाँ यात्रामा पनि हुँदो रहेछ
कमसेकम जिन्दगीको यात्रामा
जहाजले धर्ती छोड्दा एउटा पाठ सुनाउँदो रहेछ
अभावको पाठ
फेरि त्यही जहाज अर्को भूमि टेक्छ अर्को पाठ सुनाउँछ
लगनशीलता र इमानदारीताको पाठ
गाडीमा दौड्दैगर्दा पनि पढिँदो रहेछ
समय पल्टाई पल्टाई समयकै कथा
बगलमा बसेर सँगै अघि दौडिएकाहरूको कथा
सडक किनारमा उभिएर हात हल्लाउँदै पछाडी छुटेकाहरूको कथा
समयले नै हेर्नुस् यहाँ हामीलाई अघि र पछि नचाएको छ
कमसेकम नतिजाको नाममा
कसैलाई प्रथम त कसैलाई अन्तिम बनाउँदै
मुल्यांकनको पाठ पढाउँछ
र सबले यहाँ कदर र सम्मानको पाठ पढ्छन्
यसैगरी जिन्दगीभर जिन्दगीको पाठ पढ्नेहरू
कागजमा लेख्छन् र बेच्छन् नयाँ पुस्तक
अनि फेरिपनी दोहोर्याउँछन् पुरानो कोट लगाउ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।