
रूपक अधिकारी
एउटा राम्रो चलचित्र बनाउन एउटा टिम राम्रो चाहिन्छ तर एउटा पुरानो फिल्मलाई न्याय गर्न आमिर खान मात्र भए पुग्छ । यो कुरा ‘मन’ र ‘गजनी’बाट प्रमाणित भैसकेको छ । ती चलचित्रहरू क्रमशः an affair to remember र memento का रिमेक थिए । हिजोबाट संसारभर एकसाथ प्रदर्शनमा आएको फिल्म ‘लाल सिंह चढ्ढा’ जसलाई forrest gump को अफिसियल रिमेक भनिएको छ । तर जब फिल्म सुरु हुन्छ र तपाईं कहानीमा डुब्न थाल्नुहुन्छ, त्यतिबेला भने एकदम अर्गानिक लाग्छ । लाग्छ, यो फिल्म पहिले बनेकै छैन । forrest gump हेरिसकेको मलाई कहीँ लागेन कि मैले यही फिल्म पहिले नै हेरेको हुँ । तर यसको लागि तपाईंले पनि रिमेक हो भन्ने कुरा सकेसम्म मैलेजस्तै घरमै नत्र कमसेकम हलबाहिर राखेर जानुभए अझ बेस हुनेछ । फिल्म हेरुन्जेल आख्यान पढेजस्तो लाग्छ ।
एड्भान्स टिकट बुकिङ गर्नेबेला मेरा हात एकछिन रोकिन खोज्यो तर धेरैबेर रोकिएन । एकातिर आमिरको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ले दिएको निराशा त्यसमाथि रिमेक । यसपालि फिल्म नहेर्न यति एउटा कारण पर्याप्त थियो । किनकि हिन्दी डब वा अंग्रेजी दुवै भाषामा ओरिजिनल फिल्म युट्युबमा भेटिन्छ तर जहाँ तपाईं आमिर खानको फिल्म चार वर्षदेखि पर्खिरहनुभएको छ भने मनले कहाँ मान्छ र ?
कसैले ट्रेलर हेरेर पिके वा धुममा जस्तै क्यारेक्टर छ भनेकै भरमा नजान मनले मान्दैन । त्यसैले त एड्भान्स बुकिङ त्यो पनि फस्ट डे, फस्ट सो भ्याउन मन लाग्यो । यस्तो लाग्छ, नहेर्नेले धेरै त केही हैन तर एउटा जिन्दगी भने मिस गर्नेछन् । किनकि लाल अर्थात् रातो र रातो रङ केको प्रतीक हो त ? मैले भनिरहन पर्दैन । भलै यो कथा लालको जिन्दगीको आसपास घुम्छ तर तपाईं फिरफिरे लिएर दौडँदै आफ्नै जिन्दगीको परिक्रमा गर्नुहुनेछ ।
कथा जहाँ सुरु हुन्छ त्यहीँ सकिन्छ । कहीँबाट उडेर आएको प्वाँख नायकको खुट्टामा खस्दा सुरु भएको कथा खुट्टादेखि पर उडेपछि सकिन्छ । एकपटक नायकलाई उसकी आमाले भन्छिन्, ‘मृत्यु पनि जिन्दगीको हिस्सा हो ।’ यस कुराले गहिरो संदेश प्रवाह गर्छ । उनले जिन्दगीलाई पानीपुरीसँग पनि तुलना गर्छिन् । जिन्दगी नअघाउने खुराक हो भनेर बडो सुन्दर ढंगमा प्रस्तुत गरिएको फिल्म अर्गानिक हैन भन्न कहाँ पाइन्छ ? पानीपुरी खाँदा भलै पेट अघाओस्, मनले त अझै एउटा भन्छ, भन्छ ।
त्यस्तो कहाँ हुन्छ र ? भन्नुहुन्छ यदि भने अपवादबाहेक मान्छेहरू किन एकदिन अरु ज्युँन चाहन्छन् ? किनकि कोही पनि अघाएका छैनन् । किनकि सबैलाई क्रान्ति गर्न मन छ । हकको लडाइँ लड्नु मात्र क्रान्ति हैन । जिन्दगी ज्युनु आफैँमा क्रान्ति हो भनेर फिल्मले भन्छ । लालले भन्छ ।
अर्कोतिर सिंहले भन्छ लिडर र निडर । सामान्य मान्छेभन्दा कमजोर ठानिएको एउटा सेना राष्ट्रिय पदकले सम्मानित हुन्छ । त्यसैले तपाईं जो कोहीलाई यो समाजले केही गर्न सक्दैन भन्छ नि, उसले प्रेरणाको लागि भए पनि यो चलचित्र हेर्दा केही फल मिल्छ । भोलि को मान्छे कहाँ पुग्नसक्छ कसले भन्नसक्छ र ? एउटा सुस्त बच्चा जसलाई हिँड्नसम्म सकस परेको छ, कसरी विभिन्न दौडहरू जित्दै सेना र बिजनेसमेनसम्मको दौडमा अब्बल हुन्छ भन्ने कुरा देखाएको यो फिल्मको तेस्रो पक्ष चढ्ढा हो । चढ्ढा आफैँ केही हैन । चड्डा आमाको विश्वास, बालाको प्रेरणा, रुपाको आश र मोहम्मदको साथले बनेको एउटा जिन्दगी हो ।
फिल्मले कति हाँसो र आँसु दिन्छ भन्नेभन्दा पनि भरपुर साथ दिन्छ । पानीपुरी जस्तै फिल्म सकिए पनि लाग्छ अब अलिकति त थपौँ क्यार ! फिल्ममा चमत्कारलाई पनि ठाउँ दिइएको छ । अझ भनौं फिल्मभर चमत्कार भैरहन्छ । त्यसैले रुपाको प्लेन म्याजिक जस्तै कल्पना गर्न सकिन्छ । अब अलिकति ! फिल्म कछुवाको गतिमा अघि बढेको छ, त्यसैले कतिका लागि लामो पट्यारलाग्दो भन्ने पनि लाग्नसक्छ । तर हामी सबैलाई थाहा छ, बिस्तारै दौडिए पनि निरन्तर दौडिने हो भने जित सम्भव छ । यहाँ लाल पनि निरन्तर दौडन प्रेरित गर्छन् ।
चढ्ढालाई साथ दिने उसकी आमा, बाला, मोहम्मद र रुपा सबैले छोडेर जान्छन् तर चड्डा जिन्दगीको दौड निरन्तर दौडन्छ । प्रेम र सहानुभूति, प्रेम र साथ, प्रेम र मित्रता, प्रेम र समर्पण, प्रेम र कर्म । यसरी विभिन्न कोणबाट जिन्दगीको अनेक रङ देखाउन आएका लाल सिंह चढ्ढा हामी आफैँ हौँ । हामीले जिन्दगीको हिस्सा ‘मृत्यु’ नपाएसम्म दौड छोड्नु हुन्न ।
[embedyt] https://www.youtube.com/watch?v=R6savS7m0Fg[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










