“हामीले हार सोच्नु मात्र पनि हाम्रो हार नै हो ।
   यो मृत्यु जित्नका लागि लेखिएको हो ।”
यसरी सुरु भएको पुस्तक घुम्दैफिर्दै अर्कै बनेको छ । तपाईंलाई लाग्ला झूट बेचियो तर म भन्छु तपाईंले जिन्दगी खरिद गर्नुभएको हो । तपाईंको अपेक्षा अनुसारको खुराक नहोला तर पौराणिकदेखि आधुनिक समाजसम्म आइपुग्दा खासै परिवर्तन नभएको एउटा सत्य छ । त्यो सत्यको नाम यौन हो । त्यही सत्यको नाम जिन्दगी हो ।
मेरो हत्याको प्रयास कसरी सफल भएन भनेर भनिसकेको छु । जन्मपछि मृत्यु शाश्वत छ त्यसैले हो कि मृत्युको द्वारमा उभिएर पनि मेरा गोडा काँपेका थिएनन् । काँप्न त यी पाउ घरको दलान नाघेर निस्किएका दिन पनि सकेका थिएनन् । जन्मदातालाई तथानाम गाली गरेर घरबाट निस्किएकै दिन म मरिसकेको थिएँ । उनीहरुले बगाएका आँसुका धार न देखें, न लेख्ननै सक्छु । तर मेरो मृत्युमा उनीहरु रुने थिएनन् । कुनै पनि सन्तानको मृत्यु असह्य हुन्छ । धेरै सहिसकेका मेरा बाआमाका निमित्त त्यो सहन गर्न सक्ने शक्ति अझै आइसकेको छैन तर पनि उनीहरु आँसुका भेल ओरल्ने छैनन् । किनकि मेरो मृत्युको खबर बोकेर काग पनि मुम्बईबाट झापा आइपुग्ने थिएन । कसरी आओस् त्यो बैरी काग ? त्यसलाई मेरो ठेगाना पनि त थाहा छैन । यो त तब म मरेको भएको अवस्थाको कुरा हो अब त्यस्तो हुने छैन । अब कागलाई मेरो घरको ठेगाना रटाइसकेको छु ।

रूपक अधिकारी

आज मैले भन्नुपर्दा गुमनाम मृत्यु मेरो छैँटीमा लेखिएको रहेनछ । मलाई आफ्नै धरातलमा आएर निभ्नु रहेछ । यहीँ बल्नु रहेछ । यहीँ जल्नु रहेछ । त्यसैले मलाई दुई जनाले पालैपालो मार्न चाहे पनि विधाताले बचाइन । एटेम्प्ट टु मर्डर केसमा यदि सजाय हुन्छ भने दुवैले बराबर सजाय पाउनेछन् । एक, म स्वयं । दुई, मेरी पत्नी ।

उसको छुरी हान्न खोज्ने प्रयासलाई आफ्नो सामर्थ्यले खोसेर झ्यालबाट पर हुँइकाएर निस्तेज गरें । नत्र त उसले गर्दनमा छुरा राख्दा खुन चुहिन सुरु भैसकेको थियो । आज मेरो अस्तित्व नै नरहन सक्थ्यो । अनि आफ्नो प्रयासलाई मानसिकता दह्रो बनाएर । मट्टितेलले नुहाएको शरीर जल्न के बेर लाग्थ्यो होला र ? त्यसपछि त हो मैले अल्पविराममा राखेको कलम हातमा लिएको ।
आँसु लेख्ने कि जिन्दगी भन्ने कुरामा म जिन्दगी लेख्ने पक्षमा उभिएँ । आँसु त हरेकको जिन्दगीमा छ । रुवाउनु साहित्य हो भने बिन्ती मलाई कसैले साहित्यकार नभनून् । मनका भावहरु पोख्छु र सकेसम्म ती भावहरु प्रेरणाका आधारस्तम्भ बनून् त्यसमा कलम चलाइरहनेछु । मेरो कलमले कहिले यौन लेख्ला । कहिले धर्म लेख्ला । कहिले क्रान्ति लेख्ला । स्वाभिमान, इज्जत, प्रतिष्ठा, दाग, भोक, संस्कार जे जे लेख्ला त्यो सब आवश्यक कि अनावश्यक त्यसको बहस गर्न तपाईंलाई छुट छ ।
कसैलाई मेरो आँसु पढाएर रुवाउन मलाई मनासिब लागेन । त्यसपछि जिन्दगी लेख्न सुरु गरें । गुगल गरें, दुई चार थान किताब पढें तर अहँ, जिन्दगीको परिभाषा कहीँ कतै भेट्टाइनँ । कसरी भेट्टियोस् ? जिन्दगी परिभाषित गर्ने कुरा हुँदै हैन । यो नितान्त बाँच्नका लागि मात्र हो । जसरी घाम छ, जुन छ त्यसरी नै जिन्दगी छ । फरक जिन्दगी फरक तरिकाले बाँच्ने मात्र हो ।
जयबाबा समसेर राणा अर्थात् जे.बि.आर जस्तो बजनदार चरित्र जन्माएर । साढे ३ हत्या जस्तो दिमाग नै हल्लाउन सक्ने प्रवृत्तिको नाम राखेर आखिर यति हलुका कथा किन ?
हलुका …. ? सत्य बोल्ने कुरा कसरी हलुका भयो ? आजको दिनमा प्रेमको नाममा बिस्तारा बनाइन्नन र ? कि विवाह गरेर सम्भोग गरिन्न ? छ कोही त्यस्तो पति-पत्नी , प्रेमी-प्रेमिका भने देखाउन आग्रह गर्छु । फेरि मैले यौन नै लेखे पनि आशय त फरक छ नि हैन र ? जिन्दगी ज्युनुपर्छ भन्ने कुरा लेख्दा हलुका भन्ने तिनै हुन् जो खल्तीबाट एक रुपैयाँको टक खस्दा आतिन्छन् । करोडौं गुमाएर हाँसीहाँसी ज्युँने पनि छन् । जाउ हेर र बुझ जिन्दगी । त्यसैले हार नसोच, जीत हो जिन्दगी ।
र अर्को कुरा म खुल्लम् खुला भन्छु मैले लेखेको हो यौन । प्रेम भनेर यौन लेखेको हो । जिन्दगी भनेर यौन लेखेको हो । म स्वीकार गर्छु अश्लिलताको सीमा नाघेर लेखेको कुरा । तर सत्य यही हो मैले जे देखें त्यही लेखें । आजको युगको वास्तविकता लेख्दा कसैले मलाई खराब देख्छ भने त्यो मलाई स्वीकार्य छ तर यो समाजले आफूले दैनिक जीवनमा गरेको कार्य लेख्न मलाई रोक लगाउन मिल्दैन । आजको वास्तविकता हिजोकै देन पनि हो । हामीलाई पिँढी दर पिँढी सिकाउँदै आएर आज यौनलाई अपराध भन्ने पनि यौन पिपासु नै हुन् । यौन नै नभए सृष्टि चल्दैन भन्ने सबैलाई थाहा छ । यौनको मामलामा कोही अछुतो छैनन् । प्रेमको नाममा, सम्बन्धको नाममा, संस्कारको नाममा वा वंश धान्ने बाहानमा क्रिडा हुने गरेको छ । त्यसलाई के भन्ने ? विवाह गरेर बलात्कार नै गरे पनि वैधानिक र प्रेममा सम्भोग भए अश्लील ? आखिर किन ?
तिमी अरुलाई आज राति म क्रिडा गर्दैछु, त्यसैले आइज भोज खा अनि मेरो अश्लीलताको साक्षी बस भनेर भन्न जब बन्द गर्छौ तब मेरो कलमले तिमीलाई अश्लील लाग्ने कुरा कहिल्यै लेख्ने छैन । लेख्ने छैन मतलब फेरि कलम नसमाउने कुरा हैन । जबसम्म मेरो चेत र हात चल्छन् तबसम्म भावनाहरु ओकलिरहनेछु । चाहे त्योबेलासम्म मेरो भागमा कोही पनी पाठक रहुन् वा नरहुन् । किनकि गालीहरुको माझमा जब एउटा मात्र भए पनि ताली बज्छ संसार झकिझकाउ लाग्छ । लाग्छ खरायोसँगको दौडमा जित्ने त्यो कछुवा म नै हुँ । त्यसैले हारसँग नडराउ, कमजोरीसँग नडराउ, असफलतासँग नडराउ । तिमी डरायौ भने तिमीले हार मान्नेछौ र जिन्दगी हार्नेछौ ।

 

(अधिकारीकाे साँढे तीन हत्या उपन्यास प्रकाशित छ ।)