
लेख्नु भनेको शङ्ख फुक्नु हो अनि शङ्ख फुकेर अस्त्र (पाण्डुलिपि) नै बोकेर पब्लिकेसन भौँतारिएको लेखक आखिर राजा नभएर के हुन्छ ? उसको साम्राज्य कति ठुलो छ भन्ने कुराले फरक पर्दैन । उसको राजकीय रवाफ कति छ ? मुख्य कुरा यो हो ।
“तँ के गर्दैछस् ? खै त, किताब लेखिसकेँ भन्थिस् कता गयो ?”
तराईमा अक्सर जाडोयाममा घाम लामो समयपछि आउँछ । ऊ ठ्याक्कै त्यसरी आई । नयाँ वर्ष लागिसकेपछि यो उसको पहिलो उपस्थिति हो । र आउने बित्तिकै मेरो अवस्थामा प्रश्न गरी । म सेलाएको कारण जान्न चाही । तयार भइसकेको पुस्तक बजारमा नल्याउँदैमा म सेलाएको हैन तर उसले त्यसरी बुझी । सायद सही बुझी किनकि सबैको बुझाइ एउटै हुँदैन ।
मलाई लाग्यो, ऊ पुस्तक पढ्न आएकी हो । पहिलो पटक आफ्नो किताब पढ्ने सौभाग्य उसलाई दिँदै पाण्डुलिपि उसको हातमा थमाएँ, “ला पढ् ।”
ऊ एकछिन केही नबोली पहिलो पानामा लेखेको नाममा आफ्ना औँलाहरू डुलाउन थाली । मलाई मेरो कपाल कसैले सुमसुम्याए झैँ लाग्यो । ऊ टोलाएर घरि “आधा मण्डप” घरि “रूपक अधिकारी” सुमसुम्याउँथी । मेरो नाममा उसको हात पर्ने बित्तिकै काउकुती लागेर आउँथ्यो ।
उसले पाना पल्टाई । पाना पल्टाएसँगै मलाई हेरेर मुस्काई । उसले फेरि अर्को पाना पल्टाई । आँखालाई अक्षरसँगै नचाउन थाली । म उसलाई हेरेर अर्को कुनै दुनियाँमा हराउन पुगेछु । जहाँ म्रुनलको ठाउँमा ऊ थिई । उसको बिहा हुन लागेको थियो तर बिहे अगाडि उसलाई प्रहरीले लग्यो । समाजले जसरी सोच्छ त्यसरी नसोच्दा उसलाई बन्दी बनाउनु कतिको जायज हो ?
“संसारमा हरेक कुरा जायज छ । यो कुरा तँलाई भन्दा राम्रो कसलाई थाहा छ भन् त !”, उसले पाण्डुलिपि थन्काउँदै मलाई प्रश्न गरी । हुन पनि हो, हरेक कुरा जायज छ भन्दै हिँड्ने म नै हुँ फेरि उसको हिरासतलाई किन प्रश्न गर्दै छु ?
“म त तँसँगै छु । कहाँ बन्दी भएको छु र ?”
हुन पनि जीवित अस्तित्व नबोकीकनै ऊ मकहाँ छे । ऊ यति बेला यहाँ हुनु जायज हो भने मेरो कथामा म्रुनल बनेर प्रश्न गर्दै हिँड्नु उत्तिकै जायज छ अनि फेरि उसको हिरासत नाजायज भन्नै मिल्दैन । चुरोटको बट्टा उठाएँ । म जस्तै रित्तो रहेछ । एक खिल्ली चुरोट भइदिएको भए मेरो खिल्ली उड्ने थिएन ।
घडी हेरेँ । रातको बाह्र बजेर उति नै मिनेट गएको छ । यो मध्ये रातमा कसलाई गुहारूँ ? रहस्यता जे गर्न पनि सक्छे तर मलाई चुरोट ल्याएर पक्कै दिने छैन । अर्को कोठामा दिदी हुनुन्छ तर निदाएको मान्छेलाई एउटा चुरोटको लागि उठाउन जायज लागेन । आफ्नो चाहत पूरा गर्न जे गरे पनि सही हो तर खै किन हो ठिक लागेन । टाउको उठाएर मैले रहस्यतालाई हेरेँ । ऊ मलाई एकतमासले हेरिरहेकी थिई । सायद उसले बुझिकी मेरो तड्पन, त्यसैले अलप भई । निमेषभरको समयपछि दिदीको कोठाको ढोका खुलेको महसुस भयो । हत्तपत्त गरेर म बाहिर निस्किएँ । दिदीलाई एउटा चुरोटको लागि इशारा गरेँ । दिदीले केहीबेरमा एउटा चुरोट मेरो हातमा थमाइदिनुभयो । राहत मिल्यो । पार्श्वमा राहत फतेह अली खानको गीत बज्यो, “जरुरी था” । सायद यसको पनि जरुरत थियो नै ।
कोठाभित्र पसेर मन र लाइटर एकसाथ सल्काएँ । चुरोट बल्यो । तर रहस्यताको जिज्ञासा मेटिएन । मेरो प्यास भने केहीबेरको लागि मेटियो ।
“अब त खुसी छस् होला नि ? तेरो लागि चुरोटको व्यवस्था जो गरेँ ।”
यसको मतलब ऊ दिदीको शरीरमा पसेर मेरा निमित्त उठी । नत्र यो आधा रातमा कहाँ सम्भव थियो र एक खिल्ली चुरोट ? चुरोटसँग मनमा जमेका अनेक अवरोह उडाउन खोजेँ तर त्यो त्यति सहज पनि थिएन ।
“अनि म्रुनल को हो ?”
उसको प्रश्नको ठ्याक्कै उत्तर केही छैन । समाज र यसको नियमले थिचिएका हर क्रान्तिकारी नारी म्रुनल हो । म्रुनल मेरो घरमा नजन्मिएकी रहस्यतादेखि कुनै कलाकार वा खेलाडीको प्रेममा परेकी सामान्य नेपाली चेली हुन सक्छे । हुनसक्छ, भोलि कुनै दिन मसँग वैवाहिक सम्बन्धमा जोडिने पात्र म्रुनल हुनसक्छे । उसको ठ्याक्कै कुनै अस्तित्व छैन तर ऊ आजको सत्य हो । आजको आवश्यकता हो । यही सब भन्न मन लाग्यो तर यी कुराहरू चुरोटको धुवाँसँगै जम्मा भएको कुहिरीमण्डलमा कहीँ हरायो ।
“के उसले तेरो जिन्दगीमा कुनै सद्भाव राख्छे त ?”
पक्कै पनि । आफूले जन्माएको पात्रले सद्भाव राख्छे नै । कुनै सम्बन्ध नै नरहने भन्ने त हुनै सक्दैन । लेख्दाको समय यति डुबेको थिएँ कि केही समय ह्याङ्गओभरका कारण आफूलाई म म्रुनल भएर बाँचिरहेको आभास भएको हो । अब यो भोगाइले पनि प्रस्ट नै हुन्छ ऊसँगको मेरो सम्बन्ध । तर वास्तवमा ऊ आउँदो पुस्ताको जरुरत हो । म त भन्छु, अब सबै नारीले म्रुनल भएर आफ्नो अस्तित्व लड्नुपर्छ ।
“अनि तँ यत्तिका समय कहाँ हराएकी थिइस् ?”, मैले कथा कथाबाट मोडेर वर्तमानको दिनमा ल्याएँ । सरी… सरी… रातमा । मध्य रातमा । यति बेला ठमेलको क्लबहरूमा थुप्रै रहस्यताहरू कसैका रानी भएर नाचिरहेका होलान् । तर म चाहन्छु, हर नारी जीवनमा एकपटक त राजा हुनै पर्छ ।
“तँलाई के लाग्छ, के हामी राजा भएका छैनौँ ?”, उसले जवाफमा प्रतिप्रश्न गरी ।
“सामाजिक सञ्जालमा पितृसत्तात्मक सोचलाई गाली गर्दैमा राजा भइँदैन । राजा हुन त कमसेकम मन्दिरको द्वारमा नउभिएको पालेलाई चिर्दै महिनावारी चढाउन सक्नुपर्छ ।”
“त्यति गर्दा चाहिँ राजा भइन्छ ?”
“रणको शङ्ख फुक्नुले मात्र पनि रण जितेको अनुभूति गराउन सक्छ । मैदानमा नै नउत्रिए त कसरी भन्न सकिन्छ कोही युद्ध लड्ने तागत राख्छ वा राख्दैन भनेर । कि हैन ?”
सायद मेरो जवाफमा उसले मनमा जरा गाडेर बसेको कौतुहलता मेट्टाई । त्यही भएर ऊ आफ्नो लोकतिर बढी । मैले छोडेको चुरोटको धुवाँ पातलिँदै थियो अनि उसको आकृति पनि । मैले आफ्नै कुरामा आफ्ना लागि पनि धेरै कुरा भेट्टाइसकेको थिएँ । किनकि धेरैले प्रश्न गर्छन्, “किताब कहिले आउँछ ?” यसको उत्तर हो, “किताब आउँछ ।”
लेख्नु भनेको शङ्ख फुक्नु हो अनि शङ्ख फुकेर अस्त्र (पाण्डुलिपि) नै बोकेर पब्लिकेसन भौँतारिएको लेखक आखिर राजा नभएर के हुन्छ ? उसको साम्राज्य कति ठुलो छ भन्ने कुराले फरक पर्दैन । उसको राजकीय रवाफ कति छ ? मुख्य कुरा यो हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

