पदम दाहाल

पदम दाहाल

हजुर आमाको दन्त्यकथा सुन्दासुन्दै
झकाउने नाति नातिनाहरू
मुहारिका पुस्तकमा गहिरिएका छन् अहिले
प्रविधिको विधानभित्र छिरिरहेका छन् जहिले
गीत, गायन, ज्ञान र सङ्गीतमा
तरुनी तन्नेरी हराएका छन्
देखिन्छन् सशरीर बाहिर
तर भित्रै बिलाएका छन्
थाहा पाउँदैनन् बाआमाले बोलाउँदा पनि
बिर्साइरहेछ युगले घडीको अलार्म
पानी, भोक र स्वयं जिन्दगानी
निद्राभित्र पस्न भ्याउँदैन जोडी नयन
नयाँ संसारभित्र घोप्टिएको घोप्टियै छ मान्छे
तन र मनभरिको अमन चैनले
बिर्सेको छ हिंड्ने बाटो
भुलेको छ काम र दाम
बनेझैँ लाग्छ अधकल्चो
भ्याएन सम्झिन नातागोता आफन्त र सुसम्बन्ध
दास भएझैँ उपबासमा रमेको छ
बिर्सेको छ मान्छेले सास फेर्न र बास बस्न पनि ।

एउटा नवजात शिशु गुम्फित चीत्कारसँगै
फोटो खिचि माँगेर बिसाउँछ रोदन
नयाँ तस्बिर खोजेर एक्लै खिल्खिलाउँछ जवान
खेल्दै प्रविधिसँग स्तनपानमा रमाउँछ अन्जान
र टुकुटुकु हिंड्न नभ्याउँदै
एक्लिएर समाजदेखि बाँच्न रुचाउँछ दिनमान ।
जन्मिनै नभ्याई नयाँ ज्ञान सिकाउँछ कोही
पुरानो पुस्तालाई ओठे जवाफ लाउँछ कोही
सिकारुको कित्तामा उभ्याउँछ
नयाँ पुस्ताले जित्छ तर हार्दैन युग
कुत्कुतिन्छ मान्छे र उचालिन्छ विज्ञताको सिंहासनमा ।

मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर