पदम दाहाल

पदम दाहाल

एक जुवा घाम बाँकी रहेदेखि नै
मेरो मन थाल्छ तुल्बुलाउन
मेरो छाती थाल्छ छट्पटाउन
हतारिन्छु म हरेक रात बास बसाउन
थन्क्याएर सबै हातका कर्तव्यहरू
र अत्तालिन्छु म आवास पुग्न
कुम्लो कुटुरो र झोलीमा
पोक्याएर सबै भोलिका बाँकी सामानहरू
र वर्तमानका आयामहरू ।

नबिर्सेर आफ्नो गुँड
हतारोमा फर्किएको हुन्छु
बिसाउन आफ्नो जिन्दगी
फगत तीन प्रहरका निम्ति
थन्क्याउन कामका सयौं चटाराहरू
घेरिएर कालो पर्दाभित्र
जेलिएर समयको जालोभित्र
पु–याउँछ प्रायः प्रिय रातले मलाई
स्वप्निल सुखको गर्तमा
बिना कुनै सर्त
म आफू जिइरहेको हुन्छु यसरी नै
खिइरहेको हुन्छु म सधैँसधैँ
अतृप्त जीवन रहेछ यो
आधा भुलेको र आधा खुलेको जिन्दगानी
कहिले उमङ्गमा कहिले बिढङ्गमा
दिन र रात भएर बगिरहन्छ दुःख सुक्खमा
समय पानी भएर एकनास बगिरहन्छ ।

 

मादी न.पा.– ६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर