मरुभूमिको ऊँट बनेर
आफ्नै जुरोमा खन्याउँदै पानी
तिर्खा मेटाउन तड्पाएकाहरू
जोहो रहेको बुद्धि गुमाएर
फेरि पलाउन नभ्याएकाहरू
सधैँजसो बुद्धु भएर नै
बाँचिरहन रुचाउँछन्
हिस्स परेको हुस्सु हुँदाहुँदै पनि
खुसबु लिन खुसाउँछन्
किन हो दृष्टिमा खिया पलाएकाहरू
निस्तीमा खुफिया झिकाएर
आलटालमा तेल मालिस लगाएकाहरू
सधैं सधैं परमानन्दमा छन्
न सर्माउँछन् न गर्माउँछन्
बुद्धिहीन सुद्दीविहीन भएकाहरू
निर्निमेष टोलाउँछन्
र एकैनास विनाशका खातिर
निसास्सिएका छन्
पानी नपाएको बौँडाई जस्तै
बीच आकाशमा पौडिएकाहरू
इमान, जमान र स्वाभिमान जति राखेर थाती
विश्वासघातको जमात फर्माउने गर्छन्
गिदीभरि उपहार भएर पनि
सिँढी हुँदो निराहार झिकाउनेहरू
टिठ्याइरहन्छन् छेउकै पसलेले धमाधम
बेचिरहेछ ऊ बोल्नै नभ्याई सामान
तर बिलाउनेहरू टेढिएर हेरिरहन्छन्
खुलुखुलु थुक निलिरहन्छन्
मुख सुकाएर फुलिरहन्छन्
थमाएर पुर्पुरोमा दुइटै हात
लाएर घोसेमुन्टो किन हो किन
लामो चोसो पसारिरहन्छन्
विलाप बगाएर आफ्नै अनिष्टमा
आलाप गाएर उपहास साटिरहन्छन्
लाएर फुस्रा ओठ यसरी नै जिन्दगी काटिरहन्छन्
भत्काउन सक्दैन कसैले पनि कसैको भाग्य
निखार्न खोज्छ को नै आफैँले आर्जेको साम्राज्य ?
पछुताउलान् बरु कोही आफ्नै कठोरतामा
एक्लै भित्रको उद्विग्नतामा
एकाकी निर्भरतामा
र फगत दिनगन्तीमा
किनकि अहम्भित्र डुबेपछि
आफूले आफैँलाई दुखाइरहन्छन् ।

मादी नपा ६, संखुवासभा
हालः लोकन्थली, भक्तपुर ।