पदम दाहाल

गाई मारेर गधा पोस्नेहरू
जाई मासेर उनिउँ रोप्नेहरू
भाइ लघारेर कुनिउँ झोस्नेहरू
अघाउन्जेल डकारेर बीउसहित जीउ मास्नेहरू
साधारण छन् उदाहरणमा
तर असाधारण लाग्छन्
मेरा हरेक बस्तीका बासिन्दा
र मुकामभित्रका बास सुवासमा

लाज लाग्छ ढर्रा, ठर्रा र जर्राहरू देख्ता पनि
टुकुचाको दुर्गन्ध आउँछ
साम्नेमा कुनै बेला भेट्ता पनि
उन्माद भरिएर कुम हल्लाउँदै हाँस्छन् तिनींहरू
उस्तै लाग्छन् राज्य संचालनका हकदारहरू
दुरुस्त छन् सुन्दरता चुस्न माहिर
उन्नायक कहलाएका चमकदारहरू

मरिकुच्च जल्लाद सरह छन् कोही
विदेश खुसाएर देश हाँक्नेहरू
कुरा बढी काम कमको व्यस्ततामा दिनहुँ बस्नेहरू
थला पारिरहेछन् स्वयम् आमा र आफूलाई
थचारिरहेछन् बास उचालिरहेछन् आकाश
झुटो माया र मुठो आश्वासनमा
दुना टपरीझैँ गाँस्नेहरू
नपलाउने गरी विश्वास सबै गुमाइरहेछन्
लामो सास् तान्दै आशाको पासा लडाएका छन्
निराशा छोपेर पावरको खात लाएका छन्
शब्दैपिच्छे बिरासतको धतधाजमा रमाएका छन्
चिप्लिंदै छन् पछारिंदैछन् बीच बीचमा
र असङ्ख्य यात्रुका लात खाएका छन्
न त कसैको साथ छ
न यात्राको गन्तव्यमा पुग्नै भ्याएका छन्
फगत् सुस्ताएका छन्
र कुहिराको काग हुन पाएका छन्
पिरो छाती अमिलो डकार फालेर
सजधज झिक्तै गमक्कसँग
गुडिया बोकेर गुड्डी गाएका छन्
आहा क्या रमजान छ क्या तामझाम छ
एकेक सबैले उपरखुट्टी लाएका छन् ।

 

मादी न.पा.– ६,सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१