मोहन सुवेदी (असम)

सारा रात बलेको थियो आगो

त्यसरी नै अँध्यारो रातमा टल्किएका थिए

मौनताका हरफहरू ।

 

देशकाल नाघेर आएको छु

तिम्रा नजिक

एउटा मीठो गीतको धुन

सुनाउने रहर

शब्द कोर्दै छु निश्चित

सम्भावनालाई सुमसुम्याउँदै

झरी परेको निर्जन रातको

काखमा ढल्किएर ।

 

हृदयभरि टाँस्सिएको

शुभकालको यात्रा

त्यो विश्वास जसले न्यानो

आश्रय मागेको छ

जान्दिनँ, कसका लागि यस्तो

वेदनासिक्त अनुभूति

चियाको धुवाँजसरी अग्लिँदै

गएका आस्थाहीन शब्दहरू ।

 

कैयौँ दिन भयो नसुनाएको

खुल्ला मनले

अकालग्रस्त दुर्दिनमा

छिप्पिएको आर्तनाद

हुरी आउनेछ ठानेर आएको

छु तिम्रा छेउ

अवहेलाका समस्त

बन्धनलाई चुँडाएर ।

 

तिम्रो रूप, शरीर कि त

मुस्कानसित होइन

तिम्रो सान्निध्यको एउटा

बलियो गतिपथ

विषादग्रस्त नदीको किनार भएर

खिरिलो गोरेटामा उम्रिएको

एकमुट्ठी दुबो

म दिनेछु मेरो उपस्थितिको

अनौठो उपहार

वर्षाक्लान्त कुनै एउटा

दिनको गोधूलिमा ।

 

दिनेछु, सपनाको साटो

विशाल आकाश अँगालेर

थोपाबाट बादलसम्म

नदीबाट सागरतर्फ

माटो र पसिना मिसिएको

सुनौलो खेत

अब यसरी नै हुनेछ

अन्तहीन वार्तालाप

अभ्यस्त दुःखहरूलाई

एकछिनका लागि पन्छाएर

नारकीय यन्त्रणाबाट निस्कने

सुरुङ खोज्दै

हामी फेरि निधारभरि सजाऔँला

रातो रङमा चोबिएका

बलिया दुइटा हात

मैले बोल्न नसकेको एउटा पाठ

तिमी कण्ठस्थ पारेर

निर्विरोध बोलिदेऊ

खुल्ला आँगनमा उभिएर एकसाथ

बल्दै गरेको तातो आगो तापेर

ओ’ मेरा सन्तानहरू !