यस पृथ्वीमा जन्मिने करोडौं मानिसमा यस्ता कतिपय महान् व्यक्तिको आगमन हुन्छ, जसले आफ्नो भाषा, साहित्य र जातिको सर्वाङ्गीण विकासका लागि सम्पूर्ण जीवनभरि साधनारत भएर आफ्नो नाम इतिहासका पृष्ठहरूमा सुनौलो अक्षरले लेखेर जाने गर्दछन् । यस्तै एकजना गौरवशाली व्यक्तित्वको नाम हो – ‘लीलबहादुर क्षत्री’ ।

भारतीय नेपाली साहित्यका मूर्धन्य साहित्यकार पद्मश्री लीलबहादुर क्षत्रीको गत १३ मार्च, सन् २०२५ को दिन राती १०:१० बजे गुवाहाटीको निज बास भवनमा भएको असामयिक निधनको समाचार पाएर मर्माहत भएँ । विश्वासै नलाग्ने कुरा, किनभने भर्खरै गत १ मार्च, सन् २०२५ को दिन गुवाहाटीको उजान बजारस्थित विष्णुनिर्मला भवन प्राङ्गणमा उहाँको ९३ औं जन्मजयन्ती उपलक्ष्यमा त्यहाँ उपस्थित भएर उहाँको दर्शन गर्ने सौभाग्य प्राप्त भएको थियो  । अति व्यस्तताको बीचमा पनि केही समय उहाँसित कुराकानी गर्ने मौका मिल्यो  । त्यही अनुष्ठानमा इन्द्रेनी प्रकाशन, असमद्वारा प्रकाशित उहाँका चार ओटा उपन्यास (अतृप्त, बसाइँ, ब्रह्मपुत्रको छेउछाउ र प्रतिध्वनिहरू विस्मृतिका) लाई एउटै ग्रन्थमा समावेश गरेर ‘लीलबहादुर क्षेत्रीका उपन्यास समग्र’ को लोकार्पण गरिएको थियो । त्यो नै थियो उहाँसितको अन्तिम भेटघाट  ।

१ मार्च, सन् १९३३ मा गुवाहाटीमा जन्मिनुभएका क्षत्री उपन्यासकार र कथाकार मात्रै होइन, उहाँले कविता, गीत, निबन्ध, नाटक, रेडियो रुपक आदि विभिन्न विधामा कलम चलाएर धेरै ओटा मूल्यवान् ग्रन्थ रचना गर्नुभएको छ । असंख्य राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्ने क्षत्रीज्यूलाई उहाँको ‘ब्रह्मपुत्रको छेउछाउ’ नामको उपन्यासका लागि साहित्य अकादमी पुरस्कार (सन् १९८७)ले सम्मानित गरिएको थियो  । सन् २०२० मा भारत सरकारद्वारा देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ पुरस्कारले विभूषित हुने क्षेत्रीज्यूले सम्पूर्ण जीवन नेपाली साहित्य र संस्कृतिका लागि समर्पण गर्नु भएको हो ।

प्रा. लीलबहादुर क्षत्रीज्यूसित मेरो व्यक्तिगत सम्पर्क र सान्निध्य अति आन्तरिकतापूर्ण थियो । सन् १९७२ मा असमको लङ्कामा अनुष्ठित भएको लङ्का नेपाली छात्र संघद्वारा आयोजित भानुजयन्ती महोत्सवमा उहाँको पूर्णाङ्क नाटक ‘दोबाटो’ मञ्चस्थ गरिएको  थियो । त्यो अनुष्ठान सम्पन्न हुने दुई-चारदिन अघि नै उहाँ  स्वयं उपस्थित भएर नाटकको रिहर्सल साथै निर्देशन पनि गर्नुभएको सम्झना आउँछ  ।

‘दोबाटो’ नाटक सन् १९७८ मा लङ्कामा फेरि पनि मञ्चस्थ गरिएको थियो र त्यस बेला पनि उहाँ उपस्थित रहेर अभिनेता-अभिनेत्रीहरूलाई प्रोत्साहित गर्नुभएको हो  ।

सन् १९८५ मा लङ्कामा अनुष्ठित भएको भानुजयन्तीको ‘सिल्वर जुबिली’ महोत्सवमा विशिष्ट अतिथिको रूपमा उहाँलाई बोलाइएको थियो र त्यस अनुष्ठानमा पनि उहाँको उपस्थिति रहेको  थियो । एकजना सहज, सरल र निरहङ्कारी व्यक्तिको रूपमा परिचित क्षत्रीज्यूको व्यक्तित्वदेखि छात्रावस्थाबाट  नै  प्रभावित भएको हुनाले मेरो पहिलो कथा सङ्कलन ‘माटो मान्छे र  माया’ (सन् १९९८) को बारेमा केही लेखिदिने आग्रहलाई उहाँले सहर्ष स्वीकार्दै लामो  भूमिका लेखिदिनु भएको थियो  ।

उहाँसित धेरैपल्ट भेट भएको हो –  गोर्खा सम्मेलनको साहित्य गोष्ठीमा, हवाईपुरको देवकोटा जयन्तीमा, अधिवेशनहरूमा, उहाँको वासस्थानमा, इन्द्रेनी प्रकाशनद्वारा आयोजित संगोष्ठीहरूमा, उहाँको जन्मदिनको उत्सवमा  । सन् १९९४ को १३ जुलाईमा टिरापगेट (लेखापानी) मा भएको भानुजयन्तीमा उहाँलाई मुख्य अतिथिको रूपमा निम्त्याइएको थियो र त्यस उपलक्ष्यमा भानुसालिगको अनावरण पनि भएको थियो, जुन पूर्वाञ्चल भारतको पहिलो भानुसालिग हो । त्यसको अनावरण गर्नुभएको थियो लीलबहादुर क्षत्रीज्यूले  ।

भोलिपल्ट अर्थात् १४ जुलाई, सन् १९९४ का दिन डिगबोईको नेपाली विष्णु मन्दिर‌को कार्यालयमा डिगबोईका साहित्यिक बन्धुवर्ग उहाँको आगमनको उपलक्ष्यमा भेला भएर बातचित गरेका थियौं, जुन अन्तर्वार्ता डिगबोईबाट प्रकाशित अर्धवार्षिक पत्रिका ‘समकालीन नेपाली साहित्य’ (वर्ष-२, अङ्कः-१) सन् १९९४) र रुद्र बरालद्वारा सम्पादित अन्तर्वार्ताहरूको सँगालो ‘लीलबहादुर क्षत्रीको कायाकैरन’ (सन् २०२३) मा समावेश गरिएको छ ।

साहित्यकार लील‌बहादुर क्षत्रीको नाम लिने बित्तिकै सबैभन्दा पहिले ‘बसाइँ’ को सम्झना आउँछ । असलमा, भन्नु हो भने लीलबहादुर क्षेत्री र बसाइँ – यी दुवै पर्यायवाची शब्द बनिसकेका छन्  । यो पहिलो कृतिले नै उहाँलाई एकै चोटि शिखरमा पुर्‍यायो  । उहाँको मनपर्दो कृति ‘अतृप्त’ भए तापनि बहुमुद्रित र बहुपठित ग्रन्थ ‘बसाइँ’ उपन्यासले उहाँको साहित्यिक सुगन्धलाई विश्वव्यापी फैलाएको हो ।

सन् १९५७मा मदन पुरस्कार पुस्तकालय, काठमाडौंबाट सर्वप्रथम प्रकाशित भएपछि अहिलेसम्म यसको ३६ औं संस्करण प्रकाशित भइसकेको छ । ‘बसाइँ’ उपन्यासका अरू उपलब्धिहरू हुन् –  यसमाथि चलचित्र निर्माण, अष्कार पुरस्कारका लागि नामाङ्कन, असमीया, अङ्ग्रेजी, चिनी आदि विभिन्न भाषामा यसको अनुवाद, नेपाली भाषामा लेखिएको कुनै पनि उपन्यासको यति धेरै संस्करण प्रकाशित हुनु, विभिन्न विश्वविद्यालयमा पाठ्यक्रममा समावेश हुनु इत्यादि  । जीवित कालमा नै असंख्य पुरस्कार र सम्मानले विभूषित हुनुभएका लीलबहादुर क्षत्रीलाई भारतीय साहित्यका निर्माताहरू मध्ये एकजना अन्यतम् स्रष्टाको रूपमा मान्यता दिइएको छ ।

नेपाली भाषा-साहित्यमा आजीवन लगनशीलता र सिर्जना साथै शिक्षा क्षेत्रमा रहेको योगदानका लागि उहाँलाई दिइएको ‘पद्मश्री पुरस्कार’ ले समग्र पूर्वाञ्चलका नेपालीहरूको गौरवलाई उच्च शिखरमा पुर्‍याएको छ । यस्ता महान् स्रष्टाको बारेमा जति लेखे पनि अपुरो नै रहन्छ । उहाँको साहित्य र समाज‌प्रतिको अवदानको कुरा सीमित वाक्यहरूमा लेखेर सकिंदैन  ।

असमेली नेपाली साहित्यका शिखर पुरुष क्षत्रीज्यूको निधनले साहित्यको क्षेत्रमा ठूलो पैह्रो गएको छ, जुन क्षति अब कहिल्यै पनि पूरा हुने छैन  । यस भेकका साहित्यिक अभिभावक भनेर हामी सबैले मानिल्याएका हुनाले उहाँको देहावसानको समाचार नै झूटो जस्तो लाग्दछ । तर, जे भने पनि मृत्यु चिरन्तन सत्य हो, कठोर वास्तविकता पनि हो, जसलाई हामी कसैले नकार्न सक्दैनौं ।  यसरी एउटा युगको समाप्ति भयो, तर लीलबहादुर क्षत्री अब अक्षरहरूमा हामीबीच सधैंभरि बाँचिरहनु हुनेछ  ।

 तेजपुर (असम)