कविता- चमेरो

मोहन सुवेदी (असम)

साँझपख एउटा चमेरो उड्दै आएर

तीन फन्को मारो आँपको रूखलाई

अनि दुई खुट्टा माथि पारेर

झुन्डियो एउटा ठूलो हाँगामा

कुकुरहरू रोए उसको गन्ध सुँघेर

कुद्न थालेका थिए घोडाहरू जथाभावी

कौवाहरू, उल्लुहरू, भँगेरा र रुप्पीहरू

नसुनिने भए सबैका उन्मुक्त बोलीहरू

हुलका हुल मानिस थुप्रिए त्यो ठाउँमा

फ्याँक्न थाले झटाराहरू लट्ठीका, ढुङ्गाका

तर छटपटाएन त्यो चमेरो अलिकति पनि

आँखा नखोली हेरिरह्यो बिचरा मानिसलाई

उपायहीन मानिसहरू डराउन थाले

काँचो मुढो एउटा बालिदिए रूखमुनि

र कुद्दैगएर पसे आ-आफ्नो घरभित्र

हल्लियो अलिअलि त्यो आगाको रापले

धुवाँले छोपेको थियो सम्पूर्ण सहर

एकरात भयानक शब्द सुनियो त्यो रूखनेर

भस्मीभूत भएको उसको निर्जीव देह

चमेरो त मरेर गयो,

तर छटपटाइरहे उसका पखेटा

प्रत्येक मानिसको छातीमा ।