बाबुराम न्यौपाने “उत्स”

म !!
प्रकाशको अभिन्न अंश हुँ
ज्ञानचक्षुको पर्दा खुलेको पल
म जिउँदै
सङ्घर्षको भट्टीमा हुर्हुर्ती जलेर
चेतनकिरणका दिव्य तरङ्गहरूमा
निर्वस्त्र स्नान गर्नेछु ।
मेरो दृढतामुनि दबिएर
अन्धकारले गुहार माग्नेछ
ईश्वरको विराट्स्वरूप
मलाई अमरत्वको आशीर्वाद दिन
नयाँ अवतार लिनेछन्।
ईश्वरको मृत्यु र अस्तित्व
मानव चेतना र दर्शनको
सुदूर किनारसम्म
अन्त्यहिन तर्कको बिस्कुन लगाउँछ।
वेदका ऋचाहरूको मङ्गलध्वनि
बाइबल कुरान त्रिपिटकका
शान्ततरङ्गहरू
जीवनको लयमा
जबजब गायत्री राग बनेर उदाउनेछन्
मेरो अन्तस्करणबाट
चेतनाका नयाँ झिल्काहरू निस्कनेछन्
तिनै झिल्काको ज्वालामा जलेर
म ! हीरा भएर चम्कनेछु।
मन्दिर मस्जिद चर्च चैत्यका
मधुर गुञ्जनहरू
अतिवादको सूक्ष्म छिद्र छिचोलेर
जब
पुराण बाइबल कुरान त्रिपिटकका
अक्षरअक्षरमा
नव चेतनाको राँको झोस्छन्
तब म
युगको सँघारमा उभिएर
नयाँ सभ्यताको भव्य स्वागतमा
दीपावली गरिरहेको हुनेछु ।
दमक, झापा