एक कार्यक्रममा लघुकथा प्रतियोगिता आरम्भ भयो । कथावाचनका लागि भूमिराजको पालो आयो ।
“हलमा उपस्थित आदरणीय व्यक्तित्वहरूमा नमस्कार । म भूमिराज लामो सम्बोधन नगरी आफ्नो लघुकथा वाचन गर्दै छु । मेरो लघुकथाको शीर्षक छ, भूकम्प ।
एकपटक देशमा विध्वंसकारी महाभूकम्प आयो । हजारौँको मृत्यु भयो । कैयौँ घाइते भए । कतिका आफन्त गुमे । कति टुहुराटुहरी भए । भुईँचालो आएको समयमा एक घरमा एउटी आमा आफ्नो सात महिनाको बालकलाई स्तनपान गराउँदै थिइन् । उनलाई आफ्नै घरले किच्यो । भाग्ने अवसर नै पाइनन् । बेहोस अवस्थामै दुई दिनपछि उनको मृत्यु भयो । बालक जीवितै थियो । घरी आमाको दूध चुस्थ्यो, घरी कहालिँदै रोएर बेहोस हुन्थ्यो ।
सानो प्वालबाट देखिने यो कारुणिक दृश्यले बचाउकर्ता टोली हुनसम्म भावुक बनेका थिए । बच्चालाई बचाउने उनीहरूको प्रयास तीन दिनसम्ममा पनि सफल हुन सकेको थिएन । अब बालकको गला बसिसकेको थियो । उसको आवाज बाहिरसम्म सुनिन छोडेको थियो । बचाउ-अभियानकर्ता बच्चा मरिसकेको निष्कर्षमा पुग्न लागेका थिए तर तालिम प्राप्त कुकुरको सङ्केत अझै बालक जीवित छ भन्ने थियो ।
बचाउ टोलीले अन्तिम प्रयास गऱ्यो । सातौँ दिनमा टोली क्रंक्रिट र रडको छत तोडेर बच्चासम्म पुग्न सफल भयो । यस समयमा बालक आमाको काखमा अर्धमूर्च्छित अवस्थामा थियो । उसका कोमल ओठ आमाको स्तनको निप्पलमा अडिएका थिए । यति वेला भने लघुकथा वाचकका आँखामा आँसु टिलपिलाए । उसको गला अबरुद्ध भयो ।”
“त्यो बालकलाई के भयो होला नि ?” हलमा खासखुस सुरु भयो ।
केही बेर रोकिएर वाचकले लघुकथाको अन्तिम हरफ वाचन गऱ्यो, “आखिर बालक बँच्यो । उक्त गुमनाम बालक मञ्चमा उभिएर लघुकथा वाचन गरिरहेको यही भूमिराज थियो ।”
सभाहलमा निःशब्द सन्नाटा छायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।