

बाबुराम न्यौपाने “उत्स”
छुपुमा छुपु धानको बीउ युवती रोप्दछन्
बाउसे गर्ने युवाका टोली धरती खोप्दछन्
असारे गीत मधुर भाका बेठीको तालमा
युवती युवा बन्दछन् बन्दी प्रेमको जालमा।
बर्षाको रिमझिम बादलु घुम्टो प्रकृति खुलेको
धरती माथि क्या सुन्दर दृश्य उमङ्ग झुलेको
दु:ख न पीडा थकाइ न तनाव चटक्क भूलेको
कल्पना फुल्छ अन्नको दाना घरभित्र हुलेको।
धरतीपुत्र प्राणको सूत्र किसानको पगरी
असारे गीतमा झुम्दछ गाउँ क्षितिज उघारी
अल्छिको कतै साम्राज्य हुन्न सोचेर मनमा
पसिना रोप्छ पृथ्वी माथि शक्ति छ तनमा।
रोपाहार बाउसे पिरती रोप्छन् मेला र पर्ममा
परिश्रम गर्न लेखेको हुन्छ किसानको कर्ममा
अन्नको दाना झुलेर ढाक्छ छपक्कै धरती
यही धरती माथि सुवास छर्छ मगमग पिरती।
किसान खोल्छन् जाँगरको पर्दा असारे गाउँदै
प्रकृति खुल्छ मिलाई भाका संसारभर छाउँदै
दाँदेमा सवार किसानले रहर साकार पार्छन् रे
माले र तारे गोरुको फुर्ती होर्रा र ह…..ह…. रे।
हलो र जुवा गोरु छन् प्यारा किसानका सारथि
प्राणको बीज उमार्न किसान गाउँछन् आरती
असारको झमझम निरन्तर बर्षा प्रेयसी रुझिन् रे
प्रेमको संसार उज्यालो हुन्छ यही सत्य बुझिन् रे।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








