बाबुराम न्यौपाने “उत्स”

साँझपख भारीमन लिएर ज्ञानुले मिल्नेसाथी सुमीलाई फोन गरिन्।
“सुमी अतिनै भईसक्यो !! तँलाई हिजो भनेको थिएँ नि।त्यो चरित्रहिन पर्शुरामले उसले भनेको नमाने ज्यानमार्ने धम्की दिंदैछ।
भोलि भेटगर्न बोलाएको छ।केटो राम्रै होला लागेको थियो।  तर गलत रहेछ।घरमा कसैलाई भनेकी छैन।डरले मुटुनै काम्न थालेको छ।के गर्ने होला।”
बलात्कारीहरु हत्या गरेर फरार भएका घटनाहरु सम्झिएर दुबै भक्कानिए।
” चिन्ता नगर् ज्ञानु बिहानसम्ममा केही उपाय सोचौंला।धर्मको आड, कुसंस्कार र कुरीतिको छायामा कहिलेसम्म पीडादिन्छ हँ नारीलाई यो समाज र सभ्यताले।सदियौं सतीको नाममा जिउँदै चितामा जलायो।
बोक्सीको आरोपमा दिसापिसाब ख्वाउछ।छाउपडीको नाममा  यातना दिन्छ। विधवालाई तिरस्कार घृणा गर्छ।वादी र देउकीको रुपमा भोग्या बनाउछ। जताततै बलात्कारको नग्ननृत्य चलेकोछ।” ज्ञानुले खुईया… सुस्केरा हालिन्।
बिहानेै भेटगरेर दुबैले एउटा योजना बुने।
दिउँसो एघारबजे ज्ञानु पर्शुरामले बोलाएको ठाउँमा एक्लै गइन्।यता सुमीले प्रहरीलाई फोनबाट सूचना दिइन् र सामाजिक अभियन्ता शान्तालाई लिएर ज्ञानुले भनेको स्थानतिर दौडिन्।
सामुन्नेको दृश्य देखेर दुबै आत्तिए।प्रहरी टोलीपनि आइपुग्यो।
रगतपक्ष ज्ञानु भन्दैथिइन्।
” तपाईंहरु आउन थोरै ढिलो गर्नुभयो।यसले मलाई बलात्कार पछि मार्ने योजना बनाएको रहेछ।यसका दुईजना साथी भागे।मेरो अनुनय मानेनन्।मेरो लाजमाथि खेलवाड गर्नथाले।मैले बलात्कारपछि मर्नुको विकल्प देखिन। समर्पणको नाटक गरेँ ।मभित्र महाकाली प्रवेश गरिन्।यसकै हातको हतियार खोसेर हत्या गरिदिएँ।मलाई गिरफ्तार गर्नुहोस्।”
अर्कोदिन प्रहरीले ज्ञानुलाई अदालतमा पेशगर्यो।
ज्ञानु अदालतमा न्यायाधीशसामु भन्दैथिइन्।
“न्यायमुर्ति अब कोमल फूलहरु मजस्तै आगोबनेर जल्नेछन्।फूलबाट आगोको ज्वाला निस्कनेछ।नारीहिंसा आगोको जुलुसमा परिणत हुनेछ।
अब फूलको महानक्रान्ति सुरुहुन्छ,आँधी उठ्छ।कानुनले मलाई जे सजाए तोक्छ तोकोस्। भोग्नेछु…..।”
हलमा खासखुस सुरुभयो।
टेबुल ठोक्तै न्यायाधीश गर्जिए।
अर्डर……अर्डर…….।

 

दमक,झापा