१. घाम बोकेर
अँध्यारो बेच्नेहरू
“उहाँ महान् हुनुहुन्थ्यो” भन्नलाई
उहाँहरू जिउँदै हुनुहुन्छ ।
“उहाँहरू जिउँदै हुनुहुन्छ” भन्नलाई
मृत्युको पाँचै मिनेटअघि
“दमले छाड्यो म बाँचेँ नाति”
भन्ने हजुरबाको स्थानमा हुनुहुन्छ ।
२. सावधानका चर्का आवाजहरू
उहिलेको कुरा
लेखिन्थ्यो सार्वजनिक सवारीमा
“पाकेटमारदेखि सावधान!”
तर पनि खै किन हो
कसै न कसैको पाकेट गायब हुन्थ्यो
हरेक यात्रामा ।
लोपोन्मुख, दुर्लभ, अति दुर्लभ नै भइसकेछन्
आजकल त पाकेटमारहरू ।
“होसियार ! आफ्नो पैसाको सुरक्षा आफैँ गर्नुहोला ।”
यति सुनिसकेपछि चोकमा जादू हेरिरहेकाहरू
धमाधम मोलमोलाइमा पर्न सुरु हुन्थे ।
“हात गोजीबाट बाहिर निकाल्नुस् नत्र…।”
यति धम्की पाइसकेपछि थुरथुर भएकाहरू
धमाधम लुटिन सुरु हुन्थे ।
खै कुन आत्मबलले हो
सवारीमा पाकेटमारको सन्देश लेखिन छोडेपछि
जादूवालाहरूलाई चोक-चोकबाट लखेटेपछि
आजकल मान्छेहरू सुरक्षित भएको आभास गरिरहेछन् ।
सकारात्मकता महद् वस्तु भवति ।
३. भगौडा सिपाही
दिनभर टुप्पीदेखि पसिना पैतालासम्म पुर्याएर
तनक्क तन्कनेहरू
घर पुगेर रनक्क रन्किरहेका हुन्थे ।
तन्कनेहरू, थन्कनुपर्नेहरूका सामु
भाषणमा तन्किए, आश्वासनमा तन्किए
शिलान्यासमा तन्किए, मदिरालयमा तन्किए
शौचालयमा तन्किए ।
बिचौलियाका सामु तन्किए
मिचौलियाका सामु तन्किए ।
तन्किँदा–तन्किँदा बुटको चाक खिइसक्दा पनि
तन्कन नछुटेकाहरू
खुम्चिएर, परिवारको बाध्यताले
बोकेर हरियो राहदानी
देखिन्छन्— देशको झन्डा बोकेर
उभिइरहेका एयरपोर्टमा ।
तिनको तन्काइ अलि बेग्लै देखिन्थ्यो
“सावाँको ठुलो मुठोले होइन मान्छेहरू
ब्याजको सिर्कनोबाट उम्किन
पाइला तन्काउँदै पो थिए ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










