एउटा जुग थियो
गुरू-चेलाहरूको
अचेल ‘मास्टर’ बनाइयाछन्
शिक्षाका खम्बाहरू
महिला शिक्षकाहरूको
‘आमा हुनुको उत्सव’
साथीहरूले स्कूलमै मनाइदिन्थे
पछि उही स्कूलको नयाँ विद्यार्थी हुन्थ्यो
कक्षामा राम्रो अङ्कसाथ उत्तीर्ण हुँदा
मुख मिठो पारिन्थ्यो
त्यो सब मनाही छ
छाड्नोस् यी कुरा
बरू
तपाईँ जन्मिदाको खुशी
कसरी मनाइयो ऊबेला
आमालाई सोध्नू न है !
अचेल अभिभावकलाई मन पर्दैन
आफ्नो बाहेकको बच्चाको जन्मदिन मनाएको
स्कूलमा
आजकाल हेडसरलाई मन पर्दैन
शिक्षकले किताबका बाहेक
नीतिका कुरा
इतिहासका कुरा
विज्ञानका कुरा
समसामयिक कुरा गरेको
स्कूलमा
साथीहरू
आफ्नो भिडियो भाइरल बनाउन
आँखा दारेर बसेका छन्
स्कूलमा
ज्ञानगुन, नैतिकता, व्यवस्था, सभ्यता….
छाड्नोस् यी कुरा
अचेल आफ्नो होइन
अर्काको चासो छ मान्छेलाई
शिक्षकले हाच्छिउँ गरेकोदेखि
ख्वाक्क खोकेको अनि
पेटमा बच्चा बोकेकोसम्म
घर, परिवार, आफन्त, साथीभाइ
सबै सबै उही कार्यालय न हो
आफूलाई हो, अरूलाई होइन
यही भन्छ हल्ला नाइकेहरू
घाँटी घोटेर बोर्डमा छाप्ने
दालभात टर्ने तलब पाक्ने ठाउँ- स्कूल
जहाँ वसन्तझैँ भरिलो जिन्दगी
शिशिरझैँ खङ्ग्रङ्ग बनाउँछ मान्छे
शिक्षक र विद्यार्थीहरू होशियार !
वर्जित छ, शिक्षकको जन्मदिन मनाइदिन
पाइँदैन, आमा हुनुको उत्सव मनाउन
निषेध छ, चाडबाडमा खुशी बाँड्न
अनुमति छैन, दोहरी गाउन र नाच्न
बन्देज छ, खुशीले सद्भाव र सम्मान गर्न
भिडको अदालत अलि कडै छ
र अब झनै ढुक्क हुनु
सयौँ थुङ्गा गाउनलाई हो
हुनलाई होइन
भिडको ध्यान हल्लामा हुन्छ
उसलाई न्याय के ! अन्याय के !
अरूले खुशी मनाएको देखी सहँदैन
भिड पीरैपीरले उचालिएको छ
पछारिएको छ
उसको मतलब त केवल
अर्कोले भ्या गर्दा भ्या फर्काउनु मात्रै त हो !
भ्या !
भ्या !
भ्या !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० कार्तिक २०८२, आईतवार 









