
‘Hi’ उताबाट म्यासेज आयो । ‘Hello’ मैले पनि पठाइहालेँ ।
‘How are you?’ म्यासेज आउनेबित्तिकै मैले टाइप गर्दै इन्टर ठोकेँ ‘Good’ ।
फोन पनि आइ त हाल्यो । ‘साथी जुग बितेछ है कुराकानी नभएको ?’ मैले भनेँ- ‘हो नि झण्डै २० वर्ष पो भएछ त । नामले मात्रै चिनियो । बाटोमा हिँड्दा ठोक्किए पनि नचिन्ने पो भएछौ ।’ स्कुले साथीसँग मेसेन्जर भएको कुराकानी हो यो ।
ऊ विदेश बसेको एक दर्जन वर्षजति भैसकेछ । यसो हालखबर र बसाईँ सोध्दा आफू बस्ने देशको कुनै ठेगानै छैन अरे । युरोपको कुनचाहिँ देश छिरेपछि युरोपभर बस्न पाइन्छ भन्दैथ्यो । अहिलेको ठाउँ पनि कुनै अप्ठेरो वा गल्ढ्याङ्ग्रो खालको नाम भनेको थियो । आ यादै गर्नुपर्ने नै के छ र ? नेपालको राजनीति देखेर आउनै मन लाग्दैन अरे । बालबच्चालाई त यहाँ आउनेबित्तिकै एलर्जी नै हुन्छ अरे । विदेशी श्रीमती बिहे गरेको कारण यहाँ मान्छेहरू मान्छे नै नदेखेजस्तो हेरेका हेर्यै गर्छन् अरे । त्यही भएर उनलाई पनि यता आउन मन लाग्दैन अरे । बुढा बाआमा दाइले अमेरिकातिर लगे अरे । आफ्ना त शाखा सन्तान सबै विदेशतिरै स्थायी बसाइ भएको अरे । यस्तै यस्तै… । विश्व भ्रमण नै गरिरहेछु भन्दोछ ।

संप्रस पौडेल
मलाई असह्य भयो । आफ्नै साथीको यतिको चलखेल हुँदा अर्को साथीलाई पेट पोल्नु कुन नौलो भयो र ? पल्लो जिल्ला पुग्न पनि कि त बिरामी पर्नुपर्छ हैन भने कसैले बिहेमा ‘चु.’ वाला निमन्त्रणा कार्ड पठाउनैपर्छ । उसले के गर्दैछौ भन्दा फूर्तीका साथ उत्तर दिएँ ‘साहित्यकार भएको छु ।’ ‘अहो ठूलै काम गरेछौ, अनि साहित्यलाई आकार दिने काम के के गर्दैछौ ?’ मलाई उसले झन् घाँटीमै अँठ्याएको आभास भयो । दुईचारोटा कविता लेख्नासाथ साहित्यलाई ठूलै योगदान गरेँ भन्ने भ्रम उसले तुरुन्तै माटोमा मिलाइदियो । खासमा ऊ पनि फलाना ढिसाना साहित्य समाजका नाममा विदेशतिर साहित्यिक कार्यक्रममा सहभागिता जनाउँदो रहेछ । उसले अन्तर्राष्ट्रिय नेपाली साहित्यसम्बन्धी कुनै अनलाइन लागि एउटा कविता माग्यो र विदा भयो ।
मैले हतार हतार कविता कोरेँ । यसले नै थाहा हुन्छ कि म हतारे साहित्यकार हुँ । पठाउँन त पठाएँ । त्यस दिनदेखि उसले हालखबर सोधेन । कविता छापिए नछापिएको जानकारी पनि गराएन । कुराकानी गर्नै पो छोड्यो । कविता यस्तो थियो-
अन्तर्राष्ट्रिय नेपाली
– गफास्टक शर्मा
बाजे बस्ने अमेरिका, बज्यै जापानतिर,
बाको काम मलेसिया, आमा कतारतिर,
जेठी छोरी ग्रिनल्याण्ड बस्ने, कान्छी बस्ने हल्याण्ड
काका बस्ने आयरल्याण्ड, काकी बस्ने पोल्याण्ड
जेठो छोरा हङकङ हुँदा, कान्छो लण्डन बस्ने,
सालासाली जापान कस्ने, भान्जा इराक पस्ने
नाति पढ्ने अष्ट्रेलिया, नातिनी चैं जर्मन,
मेचीकाली जो पुग्दैन, उसको विश्व भ्रमण ।
हुन कतै दिन, कतै रात, एकातिर भोक, अर्कातिर भात भन्छन् । खाँचोले भन्दा पनि लेखाइको स्तर जाँच्न खोजेको पनि हुन सक्छ । अरूले पाएको सुखभोगलाई देखी नसहने आरिसे बानीले लेखेको आरिसे कविता कसले पो छाप्थ्यो र छापिएन ।
पहिल्यै मागेको मोबाइल नम्बरमा हिजै मात्रै उसले फोन गर्यो र भन्यो ‘म नेपाल आइपुगेको छु । अँ तेरो कविता छापिएको छ । लिङ्क पठाएको छु । खोलेर हेर् है । तँलाई कमिङ सन्डे भेट्न आउनेछु ।’ कविता यस्तो थियो-
मेरो हविगत
– गफास्टक शर्मा
नेपाल बस्ने कपाल फुलाउने
फुलाउने हजुर बेलुन फुलाउने
धागोले बाँध्ने, फेरि फुकाउने
लोरी गाएर घाँटी सुकाउने ।
रोग पालेर रोइरोइ बसेको छु
ग्यास्ट्राइटिस लाग्दा पटुका कसेको छु ।
देश समृद्ध हुँदा ७६ वर्षका वाइडेनले
अमेरिका हाँकेका छन्
देश गरिब हुँदा ५० कटेपछि
बुढोले र्याल झार्यो भन्छन्
उनका देशमा संसारभरिका
बौद्धिक मान्छे थुप्रिएको
हाम्रा देशमा चाकरी गर्दा गर्दा
आधी उमेरमैं कुप्रिएको ।
उनीहरू सानातिना देशका जिउँदा नेता
चिन्दा पनि चिन्दैनन्
हाम्रा पातहरू के भएका
मरेका नेतासँग चिनजान थियो भन्छन्
विदेशी नेता साइकलमा हिँड्छन्
यिनै झारहरू झारमा टेक्नुपर्ला कि भनी
रातो कार्पेट नभै हिँड्दा पनि हिँड्दैनन् ।
त्यही देशको म माटोकै घैंटो हुँ
चुनावअघि नमस्कार पाउँछु
चुनावपछि लात्ती पाएपछि
चकनाचुर भएको गीत गाउँछु
५ वर्षमैं चुनाव फेरि आउँछ
उसैसँग गठबन्धनको मीत लाउँछु ।
अर्काको कविता आफ्नो नाममा छपाउने त थुप्रै भेटिन्छन्, तर आफू कविता लेखेर अर्काका नाममा छपाउने पहिलो पटक भेटेँ । खासमा यो कविता उसले लेखेर मेरा नाममा छपाएको रहेछ । न धुँदा जाने, न रुँदा जाने । म लाजले रातोपिरो भएँ । अब त मलाई नै भेट्न ऊ नेपाल आयो, म यही मौकामा विदेश छिरूँ कि कसो ! जदौ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 









