मेरो घर यस्तो दोसाँधमा छ
उत्तरतिर
मेरो झ्यालबाट देखिन्छन् पहाडहरू,
पहाडको अनन्त समाधि र अडान,
दिउँसोको उज्यालोमा उभिएका रूखहरूको हरियाली,
पहाडबीचको बाटो हुँदै बग्दै जाने सेतो कुहिरो,
बन्ने-टुट्ने बादलका थुप्राहरू,
शान्तसँग उभिएको बुद्ध स्तूप,
अस्ताउँदो बेलाको सुनौलो रङ्ग,
चराचुरुङ्गीको चिरबिरहट,
रातको शान्तिमा टल्किने ताराहरूको संसार,
कोमल, स्निग्ध हावा,
झिलिमिली गर्दै नाच्ने जुनकिरी,
बिहानको वर्षाको मधुर धुन।
यी सौन्दर्यका पुञ्जहरू
आई कानमा के-के भन्छन् रहस्यमय,
केही यस संसारका कुरा
र केही अर्कै लोकका,
प्रिय, अनौठा र मुटु छुने।
तर यति परिपूर्ण,
यति धेरै, यति धेरै
कि त्यसलाई शब्दमा भन्न सकिँदैन।
अनि दक्षिणतिर
देखिन्छन् तथाकथित मान्छेहरू
जो देख्दैनन् अद्भुत अज्ञेय कला मेरो देशको,
सुन्दैनन् सिद्धार्थको करुणासिद्धि।
तिनीहरू दाँतमा मान्छेकै रगत लिएर दौडिरहेछन्
बेहोस अनि हिंसातुर।
तर मेरा शब्द यति गरिब,
म केही गर्न सक्दिनँ, केही पनि सक्दिनँ,
म सिद्धि सकिएको लेखक।
हरेक शब्द निर्जीव छन्,
मात्र लास – आर्यघाटमा जलाइन लाम लागेजस्ता।
त्यसैले मलाई माफ गर
म अचेल शब्दहरू लेख्दिनँ –
म अचेल लासहरू लेख्दिनँ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










