‘मोटो-घाटो, रसिलो, स्वर पनि तिक्खर, तिमी त बलियो तन्नेरी भएछौ’ उत्तर आधुनिक युवालाई उसैकहाँ पाहुना लाग्न आएका आधुनिक वृद्धले भने, ‘अर्कै मान्छे जस्तो ।’

‘उही मान्छे फेरि उही मान्छे हुँदैन त काका’ युवाले उत्तरमा भन्यो ।

‘अर्को जुनीमा कि बिहे गरेपछि ?’ हालसालै बिहे गरेको युवालाई अलिकति जिस्क्याए झैँ वृद्धले भने ।

‘होइन, अर्को क्षणमा मात्रै पनि ।’

‘कसरी ?’

अनि उत्तर आधुनिक युवाले आधुनिक वृद्धलाई पच्चिस सय वर्षअघिको कथा सुनायो :

“जेतवन विहारको नजिकै भद्रपाल नाम गरेको एउटा चतुर व्यापारी थियो । त्यो व्यापारी यति बेला अत्यन्त क्रुद्ध र दुःखित थियो किनभने उसका दुवै छोराहरू आफ्नो बाबुको व्यवसायमा सघाउन छोडेर बुद्धको प्रभावमा पर्न गएका थिए र हरबखत ध्यानमा तल्लीन हुन थालेका थिए । भद्रपाल सम्झाउँथ्यो – ‘हेर बाबु हो, गँजडी जुवाडे, वेश्या र भिक्षुका पछि नलाग, काम नभएकाहरू लाग्ने कुमार्गमा काम भएका गरिखाने मानिसहरू लाग्दैनन्।’

तर पुत्रहरूले आज्ञापालन गर्न छोडिसकेका थिए, खेतमा जाने बेला होस् वा पसलमा बस्ने बेला, उनीहरू ढोका बन्द गरेर थपक्क ध्यानमा बसिदिन्थे । भद्रपाल पुत्रहरूको यस प्रवृत्तिले गर्दा आजित भइसकेको थियो।

विशेष गरी बेलुका सुत्ने बेला भद्रपाललाई यस स्थितिले दुःख दिन्थ्यो, आज पनि त्यही भयो, ‘के गर्ने यी लठुवाहरूलाई ?’

फेरि आफ्नै मनमा उत्तर आयो – ‘यिनलाई केही गरी हुँदैन, यी त्यो गौतम भन्ने भिक्षुको मोहनीमा परिसकेका छन्, जे गर्ने हो यिनको त्यही पाखण्डी गुरुलाई दोब्राउनुपर्छ । अस्ति पन्ध्र दिन अगाडिसम्म पनि केटाहरू ठिकठाक नै थिए । मिहिनेत र मन लगाएर काम गर्थे । जेठो खाना खान घरमा आउँदा कान्छो पसलमा बस्थ्यो, कान्छो खेतमा जानुपर्दा जेठो पसलमा पुग्थ्यो ।’

भद्रपाललाई अचेल अनाथपिण्डक भन्ने व्यापारीसँग पनि चर्को रिस उठेको थियो । त्यसले करोडौँ रुपियाँको खोलो बगाएर राजकुमार जेतसँग जेतवन किनी विहार नबनाइदिएको भए न त गौतम भिक्षु त्यहाँ आउँथ्यो न त उसका पुत्रहरूले नै बरालिने मौका पाउँथे भन्ने उसलाई लागेको थियो ।

‘हैन,’ ऊ सोच्थ्यो, ‘जीवनभरि व्यवसाय गरी कमाएको करोडौँ रुपियाँ आखिर एउटा भिखारीका निम्ति खर्च गर्नु थियो भने व्यवसाय गरेकै किन ?’ तर भद्रपाललाई यो अनाथ पिण्डकको दान देखेर सुरुमा त खुसी लागेको हो नि – अत्यन्त खुसी किनभने भद्रपाल जस्ता साना व्यापारीको व्यापारलाई सुकाएर चौपट पारिदिने ठुलो व्यापारी अनाथपिण्डक नै थियो। बुद्धका निम्ति जेतवन किनेर दान गरेपछि अनाथपिण्डक झन्डै टाट पल्टेको अवस्थामा पुगेको थियो जसले गर्दा भद्रपाल व्यापारीले आफूलाई सुरक्षित ठान्न पुगेको थियो। अनाथपिण्डकको जुन कार्यले भद्रपाललाई कुनै बेला ठुलो खुसी दिएको थियो त्यही कार्यले आज फेरि पीडा र ग्लानि दिएको थियो ।”

श्रोता अर्थात् आधुनिक वृद्धको अनुहार हेर्दा उनी कथा श्रवण कार्यमा रस लिएर तल्लीन भएको प्रतीत हुन्थ्यो । यो देखेर कथा वाचकले उत्साहपूर्वक आफ्नो कथा (आफूले भन्दै गरेको र इतिहासले रचना गरेको कथा) अगाडि बढायो :

“हो, भद्रपाल गौतम भिक्षुलाई नै स्वाद चखाएर आफ्ना केटाहरू बराले बापतको बदला लिने निष्कर्षमा पुगेको थियो । तर त्यो बदला लिने कार्य कुन प्रकार वा स्वरूपको हुने भन्ने कुरामा ऊ प्रस्ट थिएन । ऊ त्यस रात कोल्टो फेरिरहेको थियो, निद्रा थिएन । उठेर पूर्वतिरको झ्यालमा उभियो । विहारतिर गाढा कालो मात्र देखियो । त्यहाँ त्यही भिक्षु छ भन्ने भावनाले रिस फेरि जुरुक्क उठ्यो र ऊसँगै झ्यालमा उभियो । विहारतिर फर्केर भद्रपाल बडबडायो – ‘घरभँडुवा !’

जसोतसो उज्यालो भयो । भद्रपाल अनिदा आँखा बोकेर जुरुक्क उठ्यो, आफ्नो कुटे लौरो टिप्यो र विहारतिर लम्कियो।

विहार प्रवेश गर्ने मार्गमा फाट्टफुट्ट मानिसहरू फलफूल- मिठाईका डालीहरू बोकेर गइरहेका देखिन्थे।

‘मन्द बुद्धिहरू,’ भद्रपालले मनमनै भन्यो, ‘यस्तैको कारणले गर्दा यी लुठाहरूले सारालाई ठगिरहेछन्।’ बिहे गर्ने उमेरका सर्लक्क काँक्राका चिराजस्ता आफ्ना दुवै पुत्रहरूले हिजोचाहिँ कपाल पनि खौरेर ध्यानमा बसेको सम्झेर ऊ विक्षिप्त भइरह्यो। क्रोधको मात्रासँग हिँडाइको गति पनि तीव्र भएको उसलाई चाहिँ थाहा भएन।

बुद्धको पार्श्वमा भिक्षु आनन्द थिए र अगाडि सयौँ भिक्षुहरू ध्यान मुद्रामा देखिन्थे ।

‘तँ मुडुलो भिखारी !’ भद्रपाल विस्फोट भयो, ‘ आफू पनि काम गर्दैनस्, राजगद्दी छोडेर मागिखाने भएको छस्, हे भँडुवा, मेरा दुवै छोराहरूलाई नानाथरी प्रलापले भड्काएर आफूजस्तै मगन्ते बनाउन किन खोज्दै छस् !’

सारा ध्यानस्थ भिक्षुहरूका आँखा खुले । आफ्ना परम आदरणीय गुरु गौतम बुद्धसँग यस्तो अपमानजन्य भाषामा चिच्याउने मान्छे उनीहरूले देखेका थिएनन् । त्यति मात्र होइन भद्रपाल बुद्धलाई कुटुँला झैँ गरी लट्ठी समेत उजाउँथ्यो, फन्केर ओहोर-दोहोर गर्थ्यो, खुट्टा बजारेर उफ्रिन्थ्यो ।

भिक्षुहरू किङ्कर्तव्यविमूढ थिए । बुद्धसँग कसैले कुरा गरिरहेका बेला बिचमा पसेर बोल्नु अशिष्टता हुन्थ्यो । अतः बुद्धबाटै गतिलो प्रतिवाद होला भन्ने आशामा उनीहरू दबिएर-रन्थनिएर बसिरहे । भिक्षु आनन्दलाई असह्य भएको देखियो – उनी रिसले काम्न थाले । राता आँखा बनाएर उनी जुरुक्क उठे । यति बेला बुद्ध भद्रपाललाई हेरेर दिव्य मुस्कान मुस्कुराइरहेका थिए।

भद्रपाललाई असह्य भयो – ‘यत्रो कडा वचनको प्रत्युत्तरमा मुस्कुराउनुको प्रयोजन के हो गौतमको ?’ ऊभित्र रिसको ज्वार उठ्यो र उसले आफ्नो मुखभरिको थुक जम्मा गरेर बुद्धको अनुहारभरि थुकिदियो। ओह ! भद्रपालको यस कृत्यले सारा भिक्षुहरूलाई हठात् स्तब्ध बनाइदियो।

‘पक्ड यसलाई,’ आनन्द भद्रपालसँग भिड्ने मनसायले अगाडि बढे। भिक्षुहरू जुरुक्कै उठे तर बुद्धले सबैलाई रोकिदिए, ‘भिक्षुहरू, उन्माद त्यागेर होसमा फर्क, तिमीहरू शान्त भएर बस।’

बुद्धले पूर्णतः शान्त स्वरमा आनन्दलाई सम्झाए, ‘हेर आनन्द, यी सज्जनले जे गरिरहेका छन् आफ्नो बुझाइअनुसार नै गरेका छन्। यिनको यावत् इतिहास र वातावरणले यिनलाई जे सिकाएको छ त्यही व्यवहार यिनले गर्ने हो। यसमा यिनको आफ्नो भूमिका कति हुन्छ ? यिनको दोष कति हुन्छ ? साधारण मानिसहरूले त्यही गर्छ जे उसलाई उसको परिस्थितिले अह्राउँछ।

बुद्ध बोल्दाबोल्दै  भद्रपाल आफ्नो महलतिर लम्किसकेको देखिन्थ्यो।

बुद्धवचनले पनि त्यहाँको ग्लानिमय स्तब्धतालाई चिर्न सकेको थिएन। त्यस उद्दण्ड व्यापारीसँग यथोचित प्रतिक्रिया जनाउन सकिएन  भन्ने भावनाले भिक्षुहरू हीनताबोधको स्थितिमा थिए र आनन्दका आँखाबाट लगातार आँसु झरिरहेका थिए।

बिस्तारै साँझ बाक्लियो र सामुन्ने कालो रात नै आइपुग्यो।

उता बुद्धसँग कसरी बदला लिने भन्ने छटपटीले हिजो निदाउन नसकेको भद्रपाललाई आज पनि निद्रा परेन तर आज निद्रा नपर्नुको कारणचाहिँ विपरीत थियो।

आफ्नो रौद्र अभिव्यक्तिमा बुद्धको निर्विकार शान्त मुस्कानको प्रतिक्रिया स्मरण गर्दा ऊ थाक्न थाल्यो। व्यापारको सन्दर्भमा उसले अनेकौँ मानिसहरूसँग विवाद गरेको थियो तर कटु वचनका निम्ति बुद्धको जस्तो निर्विकार प्रतिक्रिया उसले देखेको थिएन।

ऊ बारम्बार बुद्धका वाक्यहरू सम्झिरहेको थियो, ‘यी सज्जनले जे व्यवहार गरिरहेका छन् आफ्नो बुझाइअनुसार नै गरिरहेका छन्।’ बुद्धको आभामय अनुहार र मृदु-मुस्कानको स्मृतिले ऊ गल्दै गयो। त्यस्तो करुणामय अनुहार देखेर उसलाई रिस किन उठ्यो ? ऊ नचाहेर पनि बिस्तारै एउटा आफैँले पनि अनुमान नगरेको निष्कर्षमा पुग्दै थियो जुन कुरा उसको मुखबाट आफैँले सुन्ने गरी बिस्तारै निस्क्यो, ‘मबाट भूल भयो – महाभूल।’ उसलाई लाग्यो, उसले जुन मान्छेसँग बदला लिन चाहेको थियो त्यस्तो मान्छे बुद्ध थिएनन्, ती अर्कै मान्छे थिए।”

उत्तर आधुनिक कथावाचक केही बेर रोकियो र भान्सामा काम गरिरहेकी पत्नीलाई आवाज दियो, ‘दुई कप चिया पठाऊ।’

पत्नी चाहिँले चिया ल्याउँदा केही बिस्कुटका टुक्रा पनि प्लेटमा राखिदिई र आधुनिक वृद्धलाई हेरेर ‘नमस्ते काका’ पनि भनी। महिलाको भद्रताले कथाश्रोता आनन्दित भए ।

“अँ मैले भनेँ,” कथा अगाडि बढ्यो, ‘भद्रपाल अघिल्लो रात बुद्धबाट आफूमाथि अत्याचार भएको ठानी निदाउन सकेन भने अर्को रात आफूबाट बुद्धप्रति अत्याचार भयो भन्ने ठानेर निदाउन सकेन। वसन्त ऋतु मध्य अवस्थामा थियो तर भद्रपाललाई अनिदो रात निकै लामो र तातो पनि लाग्यो। समय जस्तो भए पनि त बितेरै जान्छ। मानूँ ऊ रातभरि बिहान हुने प्रतीक्षामा थियो। बिहान हुँदा बित्तिकै ऊ आफ्नो कुटे लौरो समातेर फेरि जेतवनतिर लाग्यो। जेतवनतिर फलफूल र मिठाई बोकेर गइरहेका मानिसहरू देखेर उसलाई आज रिस उठेन। उसलाई लाग्यो, ‘यी मानिसहरू ठिक काम नै गरिरहेका छन्।’

भद्रपालले बाटोमा कसैसँग कुनै कुरा गरेन। नवपालुवाहरू छिचोलेर सरसर बगिरहेको वायु ठन्डा-आनन्ददायी थियो। सरासर ऊ बुद्ध बसेको ठाउँमा पुग्यो र बुद्धका पाउमा पसारियो।

‘महात्मा, मलाई क्षमा गर्नुहोस्,’ भद्रपाल रोइरहेको थियो।

‘किन ? कुन गल्तीका निम्ति ?’ बुद्धले सोधे।

भद्रपाललाई लाग्यो – बुद्ध रिसाएका छन्।

उसले भन्यो, ‘मबाट अपराध भयो, अपमान भयो, मलाई क्षमा गरेर शान्ति दिनुहोस्, भगवान्, म व्याकुल छु।’

‘म तिमीलाई किन क्षमा गरूँ ? अकारण त म यस्तो काम गर्दिनँ’ बुद्धले अविचलित र शान्त भावमा भने। सबैलाई आश्चर्य लाग्यो किनभने हिजोकै घटना आज बिर्सनु त बुद्धका निम्ति सम्भव थिएन। अर्कोतिर कुनै मानिस जस्तोसुकै अपराधी र विवेक शून्य होस्, बुद्धबाट क्षमा नपाउनु पनि सम्भव थिएन।

‘हिजो मात्र, हजुरजस्तो ज्ञानी महात्मालाई जथाभाबी बोलेर अनुहारमा थुक्ने बुद्धिहीन र भाग्यहीन अपराधी हजुरको सामु छ प्रभु, क्षमा बक्सियोस्,’ भद्रपालले स्मृति दिलाउँदै भन्यो।

भद्रपालले जिद्दी गरेको देखेर बुद्धले भने, ‘हिजोको घटना त मलाई सम्झना छ तर मेरो अगाडि जुन सज्जन अहिले क्षमा याचना गरिरहेको छ त्यो हिजो आउने व्यक्ति होइन। मान्छेको जीवन नदीको पानी जस्तै हो – क्षण-क्षण बगिरहने र भिन्न हुने। गङ्गामा अहिले जुन पानी बगिरहेको छ त्यो हिजोको पानी होइन। हिजोको मान्छे तिमी होइनौ, तिमी आज अर्कै मान्छे हौ ।’

‘भगवान्, क्षमा बक्सियोस्,’ भद्रपालले पुनः भन्यो।

आफ्नो उत्तरबाट अझै सन्तुष्ट हुन नसकेको स्थितिमा भद्रपाललाई देखेर बुद्धले अगाडि भने, ‘ठिक छ, तिमीलाई क्षमा चाहियो, हिजो आउने त्यस मान्छेलाई तिमीले भेट्यौ भने उसको अनुहारमा थुकिदिनू, अनि म उसलाई भनिदिनेछु कि यसका निम्ति तिमीलाई क्षमा गरोस्।’

सारा मानिसहरू स्तब्ध थिए र भद्रपाल भावातिरेकमा आँसु बगाइरहेको थियो।”

कथा सकिएपछि आधुनिक वृद्ध अर्थात् श्रोताले भने, ‘तिमी उत्तर आधुनिक मान्छेलाई बुद्ध पुराण कसरी रुचिको विषय बने होला, तिमी पनि हेर्दा हेर्दै अर्कै मान्छे पो देखिँदै छौ त।’

‘समय विगत नभएर गोलो पो हुन्छ कि काका, के पुरानो के नयाँ, रूख पुरानो बीज नयाँ हो कि बीज पुरानो रूख नयाँ हो काका ?’

‘क्षण-क्षणको भिन्न भिन्न जीवन भनेको होइन त ?’

‘समुद्र पुरानो जस्तो,त्यसबाट बन्ने बाफ नयाँ जस्तो, बाफबाट बन्ने पानी झन् नयाँ जस्तो, अनि भन्नु त, त्यसै पानीबाट बन्ने समुद्र फेरि पुरानो ? त्यसैले सब गोल छ काका। जीवन नदीको पानी जस्तो। विचारहरू समुद्र जस्ता, कहिले सुषुप्त अनि कहिले छालको रूपमा, कहिले बाफको रूपमा, कहिले ज्वार र कहिले भाटाको रूपमा। उही विचार कहीँ नयाँ देखिन्छ कहीँ पुरानो – गोल चक्कर, निरन्तर।’

तीन पटकसम्म भान्सा तयार भयो भनेर भित्रैबाट कराएकी उत्तर आधुनिक युवाकी पत्नीले चौथो पटक अगाडि आएर भनी, ‘कान फुटेको हो र ? खाना कतिखेर खाने हो, तताएर खानू अथवा नखानू, म सुत्न गएँ, आफ्नो पुराण वाचन सुस्तरी सानो स्वरमा गर्नू।’

आधुनिक वृद्धलाई पनि उत्तर आधुनिक युवाले सुनाएको कथा अहिले अलि बुझे जस्तो  लाग्यो – कथा वाचककी युवा पत्नीलाई सुरुमा चिया ल्याउँदा उसले  जस्ती सोझी देखेको थियो अहिले ठिक त्यस्तै देखेन, अलिकति अर्कै थिइन् तिनी, अर्कै मान्छे।