बुद्ध वेणु वनमा आफ्ना सयौँ भिक्षुहरूसँग विहार गरिरहेका थिए। छिमेकी गाउँका एकजना वृद्ध आफ्नो जिज्ञासा लिएर बुद्धको अगाडि नमस्कार गर्न आइपुगे।

“भगवान् !” उनले भने, “दुष्टहरू राम्रो घरमा बसिरहेका छन्, मीठो खाइरहेका छन् र जीवनको मजा भोगिरहेका छन्, उल्टो सज्जनहरू झुप्रोमा बसेर खस्रो पिठो खाएर दुःख भोगिरहेका छन्, यस्तो किन हुन्छ ?”

आफ्ना अर्द्धबन्द आँखा उघार्दै बुद्धले ती वृद्धलाई हेरेर भने, “दुष्टहरू सुखी हुन्छन् भन्ने तिमीलाई लाग्यो तर तिनीहरूको अवस्था विक्षिप्त व्यक्तिको जस्तै हुन्छ।अस्ति मात्र आफ्नो मनोदशा विक्षिप्त भएर क्रूर बनेकी एउटी महिलालाई उसका बाबुले मकहाँ ल्याएका थिए। ती महिला लङ्गडी पनि थिइन् र असावधान पनि थिइन् । जसले गर्दा उनी जता हिँड्थिन् त्यतै ठोकिन्थिन्। भान्सामा काम गर्दा पनि ढोकामा, चुलोमा, भित्तामा जे जेसँग ठोकिन्थिन् त्यसैलाई उनी आफ्नो शत्रु ठान्न थाल्थिन्, त्यसै जड बस्तुलाई पनि पिट्थिन्, आफैँ घाइते हुन्थिन् र रिसले चिच्याउँथिन्। अस्ति तरकारी काट्दा हात काट्यो भनेर चुलेसी भुइँमा बजारिछन्। चुलेसी उफ्रेर गई उनको गोडा पनि काटेछ। आफूलाई कुरूप देखायो भनेर ऐना पनि फुटाइछन्। रिसले निद्रामा पनि चिच्याउँछिन् भनेर उनका बाबुले मलाई भने। सारा मानिसलाई दुख त दिन्थिन् तर तिमी भन त, के तिनी  अरूलाई दुख दिएर आफू सुखी थिइन् त ? ती महिला त दुष्ट होइनन् रूखबाट खसेर लङ्गडी भएपछि विक्षिप्त बनेकी हुन्, मानसिक बिरामी । हो, दुष्टको नियति पनि ठिक त्यस्तै हुन्छ।”

एकोहोरो आफ्नो अनुहार हेरिरहेका वृद्ध व्यक्तिलाई हेरेर बुद्धले भने, “तिनीहरू सबैलाई शत्रु ठानेर आत्मघाती युद्ध  लडिरहेका हुन्छन्, दुष्टको जीवन सजिलो छ ? अनि तिमी किन दुष्ट नबनेको त ?”

ती दुब्ला, गरिब वृद्ध व्यक्तिले बुद्धलाई नमस्कार गरे र आफ्नो झुप्रोतिर जान तयार हुँदै भने, “म सुखी छु भन्ने मलाई थाहा थिएन भगवान् !”