
बा-आमाले जोरीपारिको अगाडि नाक राखेस् है छोरा भनेदेखि
सबैको नाक हेर्दै, आफ्नो लामो नाक छाम्दै हिंड्ने गरेको छु
नाक हेरेर हिंड्न थालेदेखि, शरीरका अन्य अङ्गहरू नै बिर्सने गरेको छु
उस्लाई हेर्छु, उस्लाई देख्छु, अनुहारको बीच भागमा
ठिङ्ग उभिएको एक थान नाक टुसुक्क बसेको
मान्छेका नाकहरू पनि कस्ता कस्ता
कसैको लामो घिरौँलाजस्ता
कसैका नेप्टा-चेप्टा चेपागाँडाजस्ता
कसैका गोला गोला गुच्चाजस्ता
कसैका टाढाका टारी खेतजस्ता
कसैका गहकिला गैरी खेतजस्ता
कसैका सुगाका चुच्चाजस्ता सुगा नाके
कसैका मकैका ढोड जस्ता ढोड नाके
कसैको नाक बिरालोको झैँ चिसो हुन्छ
कसैको नाक कुकुरको झैँ तिखो हुन्छ
जति सिँगान चुहिए पनि सबैलाई आफ्नो नाक राम्रो लाग्छ
नाके डाँडी नै भाचिए पनि हरेकलाई आफ्नै नाक प्यारो लाग्छ
बा-आमाले कुल-खानदानको “नाक राख्नु पर्छ है” भने पनि, नभने पनि
मैले मेरो प्यारो नाक ट्याप्प टिपेर फ्यात्त फ्याक्न सक्दिनँ क्यारे
रामायणमा लक्ष्मणले सुपर्णर्खाको नाक काटेझैँ
एकीकरणको बेला पृथ्वीनारायण शाहले कीर्तिपुरेहरूको नाक काटेझैँ
म आफ्नो सुन्दर नाक काटिएको हेर्न मात्र होइन, सोच्न पनि सक्दिनँ
कहिलेकाहीँ,
मेरा प्यारा साथीहरू मेरो बयान गर्दै ताली पड्काउँदै फुसफुसाइदिन्छन्
अनि मेरो नाक लौकाझैँ फुल्छ
तिनै साथीहरू उनीहरूले भनेको नमान्दा, हो छि छि र दुर दुर गर्दै गाली वर्षाउँछन्
त्यतिबेला मेरो नाक लाजले लत्रक्कै निहुरिन्छ
कसैले प्रशंसा गरिदिए मेरो नाक
हिमालजस्तै शानले ठाडो हुन्छ
जब कसैले तिरस्कारको तीर हान्छ
गल्तीले गरिएछ भन्ने महसूसले
नाक झुकेको आभास हुन्छ
तर आफ्नो नाक आफ्नै हुन्छ
त्यही नाकको सहायताले गन्ध, सुगन्ध र दुर्गन्धको
अनुपम बास्ना छुट्याउने शक्ति हुन्छ
त्यति मात्र कहाँ हो र, हजुर
नाकले चश्मा अड्काउने स्ट्याण्डको रूपमा अर्को महत्त्वपूर्ण काम गरेको हुन्छ
तपाईंहरूलाई सम्झना ताजै होला
त्यो कोरोनाको काल
जति बेला पापी कोरोनाले विश्वभर नाक छोपेर हिंड्न बाध्य पारेको थियो
नाकबाट कोरोना शरीरभित्र छिर्छ भनेर फेक मास्क लगाएर हिंड्न परेको थियो
कहिलेकाहीँ त, कोरोना सर्यो कि भनेर
नाकको पोराभित्र सुइरो रोपेर पिसीआर गर्न्न नाकेगुजी झिक्न पारेको थियो
तपाईंहरूलाई यादै होला नि है
फेसमास्क लगाएर नाक लुकाएर हिंड्नु पर्दा
आफन्ती र पराइ छुट्ट्याउनै गाह्रो परेको थियो
शायद त्यो बेला नारायणगोपाल भइदिएको भए
“नाक छोपी नहिँड भनी भन्नु पर्या छ”
को हो आफ्नो को हो पराइ ठम्याउनै गाह्रो छ”
भन्ने गीत गाउँथे होला
यद्यपि आजकल पनि फेसमास्क लगाएर नाक छोपी
हिंड्नेहरू शहर बजारमा प्रशस्तै भेटिन्छन्
कोही बिरामी परेर होला, कोही सानो तिनो अपराध गरेर होला
सबैलाई आफ्नो नाक जोगाउने र नाक बचाउने समस्या होला
नाक लुगाउन जान्नु पनि एउटा कला हो
तर तपाईं हामी सबैलाई थाहा नि है
केही नबोली पनि नाकको ढाकाइले धेरै कुरा बोल्छ
खै मैले मेरा बा-आमाले भने जस्तो, सोचेजस्तो नाक राख्न सकेँ कि सकिनँ ?
त्यो त म जान्दिनँ
तर मेरा एक जोर लजालु नयनको तेज बढाउने हेतु, एक थान पावरवाला चश्मा नाकमाथि राख्ने गरेको छु
समय-समयमा राजनैतिक दलले देशमा नाकाबन्दी गरेझैँ, नेपाल बन्द भएझैँ
आजकल मेरो नाक पनि बन्द हुने गरेको छ
बिहान उठ्ने बित्तिकै नाक हाच्यु हाच्यु गर्न थालेको छ
दुवै नाकका फोहराबाट एकै साथ कर्णाली र कोशी बग्न थालेको छ
यो अलक्षिनी नाक भन्दै नाकै काटेर फल्दिमझैँ भएको छ
फेरि सम्झिन्छु, मेरा बा-आमाको आदेश – नाक राख्नु पर्छ है छोरा !
त्यसपछि एक ट्याबलेट ओखती खाएर, नून खाएको कुखुराझैँ झोक्राएर बस्न थालेको छु
के तपाईंलाई थाहा छ… मैले भनेकै छैन, तपाईंले कसरी थाहा पाउने ?
नाकले सुन्दर अनुहारको नक्सा बदल्छ
नाक भएन भने अनुहार नै समथल तराईझैँ देखिन्छ
कम्तीमा नाक छ र त अनुहार सगरमाथाझैँ उठेको छ
नाक अङ्ग एक – काम छ अनेक
नाक नै हो जीवनको सार
शरीरलाई चाहिने प्रणवायु अक्सिजन लिने प्रमुख द्वार
गलत काम गर्दा नाक काटिन्छ, शिर निहुर्याउँछ
असल काम गर्दा यही नाकले झुकेको शिर उठाउँछ
ए साँच्ची
कहिल्यै सोच्नु भएको छ
नाक भएन भने के हुन्छ ?
नाक भएन भने,
छिमेकीको घरमा के तरकारी पक्यो ?
नजिकको साथीले कस्तो ग्यास फ्याँक्यो ?
केही थाहा हुँदैन
त्यसैगरी चश्मा कहाँ अड्काउने, कहाँ लड्काउने
त्यो पनि केही थाहा हुँदैन
आफन्त जोरीपारीको सामु, न त नाक काटिने डर हुन्छ
न त झुठो इज्जत बचाउन, नाक राख्ने नाटक गर्नुपर्छ
अनि अर्को कुरा,
नाक नहुँदो हो त, न त यती राम्रो कबिता लेखिन्थ्यो
न त तपाईं लाई झर्को मानी मानी पढ्नु पर्ने टन्टो हुन्थ्यो
यस्तो अचम्मको “नाके” कविता पढ्दै गर्दा
के तपाईंले एक पटक आफ्नो नाक छाम्नु भयो त ?
के तपाईंले आफ्नो नाक ऐनामा गएर हेर्नु भयो त ?
छैन भने नाक छामी हाल्नुस्, ऐनामा हेरी हाल्नुस्
के थाहा नाके कविता पढ्दा पढ्दै कतै तपाईंको नाकमा केही भई पो हाल्यो कि ?
खैर, ठीकै छ, त्यो तपाईंको नाक हो, आफ्नो नाक आफैँ सम्हाल्नुस्
मान्छेहरू नाकमा पनि राजनीति गर्छन्
कोही भन्छन् – लामो नाक हुनेहरू सामन्ती रे !
कोही भन्छन् -थेप्चो नाक हुनेहरू गरीव, दबिएको वर्गको रे !
खैर मलाई नाकसँग राजनीति जोड्नु छैन,
बस आफ्नो नाक जोगाउनु छ,
नाक ठीक ठाउँमा होस, सास चलिरहन्छ
अनि,
के तपाईं नाक बिनाको अनुहारको कल्पना गर्नु भएको छ ?
शायद छैन होला र गर्दा पनि नगर्नुस्
किनकि मान्छेको शान, मान र मान-मर्दन राख्ने यही नाकै हो
अब त नाकको बारेमा पढ्दा पढ्दै नाकै लागि सक्यो होला है
जे होस्
बाउ-आमाले सोचेजस्तो नाक राखौ !
नाक जोगाऔँ भन्दै सबैलाई नाके अभिवादनसहित
यो मेरो नाके कविता तुरिएको अवगत गराउँछु ।
धन्यवाद !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
