स्कुल ज्ञानको मन्दिर हो भने पुस्तकालय ज्ञानको भन्डार हो । वर्तमान परिवेशमा प्रायःजसो सबै स्कुलहरुमा विद्यालय पुस्तकालयहरुको स्थापना गरिएको पाइन्छ । फरक यत्ति हो उक्त पुस्तकालयले उद्देश्य पूरा गरेको छ कि छैन ? पुस्तकालय सिर्फ हात्तीका देखाउने दाँतजस्ता छन् कि ? विद्यार्थीबाट थप शुल्क उठाउने साधनका रुपमा मात्र सिमित छन् ?

नेपालमा स्कुल पुस्तकालयको सुरुवात पुस्तकालयको विकाससँगै भएको पाहिन्छ । भारतमा स्कुल पुस्तकालयको सुरुवात भारत आजादी पश्चात् विकास भएको पाइन्छ । अमेरिकामा भने १८औं शताब्दीको अन्त्यतिर नै स्कुल पुस्तकालयको स्थापना भएको पाइन्छ ।

वर्तमान समयमा सबै स्कुल कलेजहरुमा पुस्तकालय स्थापना गरिएको छ तर कतिपय स्कुलहरुमा भने नाम मात्रको पुस्तकालय रहेको छ । पुस्तकालयको लागि विद्यार्थीहरुबाट स्कुलले मासिक वा वार्षिक रुपमा शुल्क लिने गर्छ तर पुस्तकालयको पूर्वाधार भने पुस्तकालय व्यवस्थापनको न्यूनतम मापदण्डसमेत पूरा गरेको हुँदैन । न त पुस्तकहरुको संकलन नै राम्रो हुन्छ, न त बस्ने कुर्सी टेबलहरु राम्रो सुबिधा हुन्छ । जसको कारण गुणस्तरीय शिक्षाको विकास हुन सकेको छैन ।

आजकल केही स्कुल कलेजहरुमा हप्ताको १ वा २ पटक पिरियड लाइब्रेरीमा बिताउन पर्ने नियम राखको पाइन्छ । तर पनि सबै विद्यार्थीहरु पुस्तकालयभित्र प्रवेश गरेको पाइँदैन । शिक्षकले विद्यार्थीहरु पुस्तकालय प्रवेश गरे नगरेको बारे अनुगमन गरेको देखिँदैन ।

स्कुलले जीवनमा लाइब्रेरीमा बसेर पढ्ने बानीको विकास भयो भने स्कुले शिक्षापछि पनि पढ्ने बानी बसिरहन्छ । जसले पढ्ने संकृतिको विकासमा मद्दत पुग्दछ ।

खिम लामिछाने काजी

सर्वप्रथम नेपालमा पहिलो पटक २०६५ साल भाद्रमा पुस्तकालय दिवस मनाउँदा “सबैको लागि पुस्तकालय” भन्ने नारा यथार्थ आदर्श वाक्य राखिएको थियो । जसको उद्देश्य सबै उमेर समूहका व्यक्तिहरुको लागि पुस्तकालय भन्ने थियो । यस अर्थमा बालबालिकाहरुको लागि पनि पुस्तकालयको पहुच हुनु पर्छ भने थियो । त्यसैगरी २०७० सालमा “एक गाउ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय” भन्ने नारा बनाइएको थियो । यसको उद्देश्य पनि बालबालिकाहरु पढ्ने विद्यालयमा सुबिधा सम्पन्न पुस्तकालय हुनुपर्छ र सम्पूर्ण विद्यार्थीहरुले पुस्तकालयको सुबिधा पाउनु पर्छ भनी थियो । यसरी पुस्तकालय दिवसले हरेक तह तप्का, वर्ग, लिङ्ग, जातजाती, भाषाभाषी, हरेक क्षेत्रका व्यक्तिहरुले पुस्तकालयको प्रयोग गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेको छ ।

केही प्राइभेट बोर्डिंग स्कुलहरुको लाइब्रेरीमा भौतिक पूर्वधारमा केही सुधार गरेको भए तापनि दूरदराजका गाँउका सामुदायिक स्कुलहरुमा भने पुस्तकालय विकासमा न कुनै बजेट छुट्याइएको हुन्छ न त विद्यार्थीहरुलाइ पुस्तकालय कोठाभित्र प्रवेश गर्न नै उत्प्रेरित गरिन्छ । नेपालका धेरै जसो विद्यालयहरुमा कुनापट्टिको, छिंडीको, सबैभन्दा नराम्रो कोठालाई विद्यालयको पुस्तकालयको रुपमा छुट्याइएको हुन्छ । पुस्तकालयभित्र खेलकुदका सामग्री अन्य बिग्रे भत्केका सामानहरु समेत राखिने गरिएको हुन्छ । पुस्तकालय हेर्ने जिम्मा पनि कुनै शिक्षकलाई सुम्पिएको हुन्छ । सरकारले पनि विद्यालयमा कुनै लाइब्रेरी सम्बधी तालिम तथा पुस्तकालय विज्ञान सम्बन्धी पढेर डिग्री हासिल गरेको प्राविधिकको दरबन्दी राखेको हुँदैन ।

नेपाल पुस्तकालय सङ्घले हरेक विद्यालय तथा कलेजमा अनिवार्य रुपमा पुस्तकालयको स्थापना गरिनु पर्ने र पुस्तकालयको जिम्मा पुस्तकालय विज्ञान सम्बन्धी पढेको वा तालिम गरेको प्राविधिक हुनु पर्ने भन्ने आवाज उठाउँदै आइरहेको छ । जसको कारण अहिले कतिपय स्कुल लाइब्रेरीहरुमा पुस्तकालय विज्ञान सम्बन्धी पढेको वा तालिम गरेको कर्मचारी राख्ने गरिएको छ । पुस्तकालय दिवसको उद्देश्यहरु मध्ये यो पनि एउटा उद्देश्य हो । पुस्तकालयको उचित व्यवस्थापन र विकास पुस्तकालय सम्बन्धी पढेर ज्ञान हासिल गरेर पोख्त भएको कर्मचारीले नै गर्न सक्छ ।

आजको युगमा स्कुल-लाइब्रेरीको महत्त्व झन् बढेर गएको छ । हरेक स्कुलमा ई–लाइब्रेरी अनिवार्य रुपमा हुनै पर्छ । ताकी विद्यार्थीहरुले सानै उमेरदेखि मोबाइल, ल्यापटप, आइप्याड आदि गेम खेल्ने मात्र होइन कि पढ्ने साधन पनि रहेछ भने दिव्यज्ञानको विकास होस् ।

हरेकको घरमा सर्वसुलभ रुपमा रहेका मोबाइल, ल्यापटप, स्मार्ट टिभी सिर्फ मनोरन्जनको लागि मात्र होइन पढ्ने काममा प्रयोग गरेर ज्ञान हासिल गर्ने साधन पनि हो भन्ने कुरा सर्वप्रथम अभिभावकले आफ्ना नानीबाबुहरुलाई सिकाउनु पर्दछ । र तिनीहरुको उपयोगीता बारे बताइदिनु पर्दछ ।

अभिभावकहरू आफू टिभी र मोबाइलको स्क्रिनको अगाडि मख्ख पर्दै बस्ने र आफ्ना बाबुनानीहरूलाई पढ्न जाउ भनेर कोठाभित्र छोडिदिँदैमा जिम्मेवारी पूरा हुँदैन । अभिभावक आफू पनि किताब लिएर सँगै बसिदिँदा सन्तति र आफ्नो दुबैको पढ्ने बानीको विकास हुँदै जान्छ ।

पढ्ने बानीले व्यक्तिलाई असल नागरिक बनाउन ठुलो मद्दत गर्दछ । हरेकको व्यक्ति असल हुँदै जाँदा समाज र देशलाई समग्र रुपमा फाइदा पुग्दछ । त्यसैले मैले भन्ने गरेको छु आफ्ना स्कुले बच्चाहरु अगाडि हातमा रिमोट होइन किताब लिएर बस्ने गर्नुस् त्यसले तपाईँको मात्र होइन तपाईँको सन्ततिको समेत बानी सुध्रिरहेको हुन्छ ।

प्रायःजसो पढ्ने बानी गरेका बुद्धिजीवीहरुले पनि सिर्फ आफ्नो लागि मात्र पुस्तक किन्ने गरेको पाइन्छ । घरमा स्कुले बच्चाहरु छन् भने उनीहरुलाई समेत बाल पुस्तकहरु किनेर दिने गर्नु पर्दछ । सानैदेखि लागेको बानी हतपत बिर्सिँदैन । त्यसैले आफ्नो बच्चाहरुलाई सानैदेखि पढ्ने रुची जगाउने पुस्तकहरु दिन जरुरी हुन्छ ।

हाल बजारमा बाल पुस्तकहरु सजिलै पाइँदैन । किनकि हामीले जे धेरै खरिद गर्दछौँ, त्यसैको माग धेरै हुन्छ, बजारमा त्यसैको बिक्री वितरण बढी हुने गर्दछ । हामीले बाल पुस्तक खरिद गर्न सुरु गर्यो भने बजारमा सजिलै उपलब्ध हुन थाल्दछ । त्यसैले बजार बाल पुस्तक पाइँदैन भनेर खोजी गर्न नछाडौँ ।

बालबालिकाहरुमा नक्कल गर्ने बानी धेरै हुन्छ । पुस्तकालय जान थालेपछि त्यहाँ विभिन्न प्रकारका पुस्तकहरु त पढ्ने नै भए । त्यसपछि उनीहरुले पढेका कविता, कथा, गजल, हेरेका चित्रहरुको नक्कल गर्दै बिस्तारै उनीहरु आफैंले कविता, मुक्तक, सायरी लगायता थुप्रै कुराहरु गर्न थाल्दछन् । किनकि बच्चाहरु जे देख्यो, जे सुन्यो त्यही गर्ने प्रवृतिका हुन्छन् । पुस्तकालय जाने बानीले बिस्तारै पढ्ने बानीको विकाससँगै बालबालिकाहरुको सृजनशीलतामा पनि विकास हुँदै जान्छ । त्यसैकारण बालबालिकाहरुलाई स्कुल मात्रा होइन घरमा समेत पुस्तक पढ्ने वातावरण बनाइदिनु पर्दछ ।
स्कुल लाइब्रेरीमा सकेसम्म नैतिक शिक्षाका पुस्तकहरुको सङ्ग्रह गर्दा धेरै लाभदायिक हुन्छ । ट्राफिक सम्बन्धी नियमहरुको पुस्तक, सामान्य ज्ञानका पुस्तकहरु, छोटा नीतिकथाका पुस्तक, बाल कविता, मुक्तक, सायरीका पुस्तकहरु, एट्लास, अंल्मन्याक, विश्व शब्दकोश, थेसरस, नेपाली शब्दमाला तथा बाल मनोविज्ञानअन्तर्गत बालबालिकाहरुलाई सकारात्मक सन्देश दिने पुस्तकहरु स्कुल लाइब्रेरीमा सङ्ग्रहित गरिनु पर्दछ । स्कुल लाइब्रेरीमा हत्या, आतङ्क, मारकाटजस्ता हिंसासँग सम्बन्धित पुस्तकहरु सङ्ग्रहित गरिनु हुँदैन । यसले बाल मनोविज्ञानमा नकरात्मक असार पर्न जान्छ ।

साना साना बच्चाहरुको लागि चित्र पुस्तकहरु राख्नु पर्दछ । चित्रको माध्यमद्वारा बच्चाहरुले धेरै कुराहरु सिक्न सक्छन् । कमिक्सहरु, जोक चुट्किलाका पुस्तकहरु, राजकुमार राजकुमारीहरुका काल्पनिक कथा तथा लघु उपन्यासहरु स्कुल लाइब्रेरीमा राखिनु पर्दछ ।

इतिहास, साहित्य, कला, गीत संगीत, भुगोल, सामाजिक जनजीवन सम्बन्धी पुस्तकहरु, जात जाती र उनीहरुका संस्कार संस्कृति सम्बन्धी लेखिएका पुस्तकहरु पनि स्कुल लाइब्रेरीमा समावेश गरिनु पर्दछ ।

साहसिक कार्यहरु गरेका, देश तथा विदेशमा उत्कृष्ट काम गरेबापत उनीहरुको बारेमा लेखिएका पुस्तकहरु, उनीहरु जीवनी तथा आत्मकथाहरुलाई स्कुल लाइब्रेरीमा अनिवार्य रुपमा सङ्ग्रहित गरिनु पर्दछ । जसले बालबालिकाहरुलाई साहसी बन्न तथा समाज र देशमा केही राम्रो काम गरेर देखाउन उत्प्रेरणा मिल्दछ ।

स्कुल लाइब्रेरीमा बालबालिकाहरु समय छुट्याएर पुस्तकालय समय तालिका बनाउनु पर्दछ । यदि ठुलो सानो सबैको लागि एउटै पुस्तकालय भवन निर्माण गरिएको छ भने बाल पुस्तकालयको लागि छुट्टै सेक्सन छ्ट्याउनु पर्दछ ।

इफ्ला र युनेस्कोले सन् २००० मा स्कुल लाइब्रेरी निर्देशिका समेत तयार परेका थिए । जसमा स्कुल पुस्तकालयको व्यवस्थापनको लागि कुशल पुस्तकालयकर्मी अथार्थ लाब्रेरियन हुनु अनिवार्य सर्त बनाएको छ । एक कुशल लाइब्रेरियनमार्फत पुस्तकालयको उचित व्यवस्थापन मात्र होइन पाठकहरुले उचित रुपमा भरपुर सेवा सुबिधा लिन सक्दछन् ।

स्कुल लाइब्रेरीमा पुस्तक तथा रचनाहरुको छनौटको अलवा टेबल कुर्सीको तथा किताब राख्ने तखताको उचाइ, चौडाइको समेत ध्यान दिनु उत्तिकै महत्त्व हुन्छ ।

सबैभन्दा ठुलो कुरा विद्यालयले स्कुल लाइब्रेरीको विकासको लागि हरेक वर्ष बजेट छुट्याउनु पर्दछ । योग्य कर्मचारी र शान्त ठाउँमा पुस्तकालय भवन वा कोठाको व्यवस्थापन गरिनु पर्दछ । कुनै पनि पुस्तकालय बाल मैत्रीको साथै अपाङ्गता मैत्री पनि हुन जरुरी छ । व्हीलचयरमा बसेर पुस्तकालयको सम्पूर्ण सुबिधाहरु सजिलै लिन सकिने व्यवस्था गरिएको हुनु पर्दछ ।

विश्वका सम्पूर्ण पुस्तकायहरुको उद्देश्य एउटै हो – ज्ञान हासिल गर्ने । इफ्ला र युनेस्कोले सन् १९९९ मा स्कुल पुस्तकालय सबैको लागि सिक्न र सिकाउनको लागि भन्ने घोषणा पत्र जारी गरेको थियो । स्कुल पुस्तकालयकर्मीहरुले पुस्तकालयको व्यवस्थापन गर्दा पहिलो नम्बरमा बालबालिकाहरुको अधिकारलाई ध्यानमा राख्न जरुरी हुन्छ ।

वर्तमान अवस्थामा स्कुल लाइब्रेरीमा मिडिया सेक्सन अथार्थ श्रव्यदृश्यको लागि पनि छुट्टै ठाउँको व्यवस्था गरिनु पर्दछ । विद्युतीय पुस्तकालयको लागि छुट्टै साधनश्रोत र ठाउँको व्यवस्था गरिनु पर्दछ । स्कुल लाइब्रेरीमा पनि रेफेरेन्स सेक्सन लगायत पुस्तकालयको नीतिनियमअनुसार नै व्यवस्थापन गरिनु पर्दछ । जसले बालबालिकाहरु पुस्तकालय सम्बन्धी थप जानकारी मिल्न सक्दछ ।

स्कुल लाइब्रेरीको विकासको लागि स्कुलका विद्यार्थी र शिक्षकहरुबाट स्वयम् सेवकहरु छनौट गरी उनीहरुलाई केही जिम्मेवारीहरु दिँदा लाइब्रेरीलाई आफ्नो उद्देश्य पूरा गर्न मद्दत मिल्छ ।

हामी सबैले हाम्रा बाबु नानीहरुलाई घरमा पनि स्कुलको कोर्सभन्दा बाहिरका ज्ञानवर्धक पुस्तकहरु पढ्न दिने गर्नु पर्दछ । सामान्यतया बच्चाहरु पढ्न मान्दैनन् तर बजारमा चित्रसहितको पुस्तकहरु उपलब्ध हुन्छ्न् । उमेरअनुसारका पुस्तकहरु किन्न पाइन्छ । उक्त पुस्तकहरु किनेर हाम्रा बच्चाहरुलाई आजैदेखि पढ्ने बानीको विकासमा जोड दिनु पर्दछ । यसरी हामी सबैले पढ्ने संस्कृतिको विकास गर्न सक्दछौँ । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?

सिनियर लाइब्रेरी असिस्टेन्ट
मणिपाल कलेज अफ मेडिकल साइन्सेज