ज्ञान तथा सूचनाका विविध विषयहरु, विभिन्न प्रकारका पुस्तकहरु, भिन्नाभिन्नै क्षेत्र, भूगोल भाषा, संस्कृति, साहित्य, जीवनी, इतिहास, प्रविधि, कृषि, अनुसन्धान इत्यादिको नवीनतम ज्ञानलाई इन्टरनेट प्रयोग गरेर वा नगरेर कम्प्युटर वा स्मार्टफोनको माध्यमद्वारा हेर्न, सुन्न वा पढ्न सकिने गरी व्यवस्थित गरिएका पुस्तकालयहरुलाई ई–लाइब्रेरी अर्थात् विद्युतीय पुस्तकालय भनिन्छ । अहिले संसारका विकसित राष्ट्रहरुका अधिकांश पारम्परिक पुस्तकालयहरु द्रुत गतिमा ई–पुस्तकालयमा रुपान्तरित भइरहेका छन् ।

विश्वमा ई–लाइब्रेरीको इतिहास केलाउँदा सन् १८८५ तिर विश्वमा शान्ती स्थापना गर्ने उदेश्य राखेर ज्ञान र सूचनाहरुलाई एउटा प्रणालीमा आबद्ध गर्ने सोचको विकास भयो । अमेरिकाले हिरोसिमामाथि विनासकारी बम खसाले पश्चात् आधुनिक प्रविधिले कसरी विनास गर्न सक्छ भन्ने कुरा बुझाउन स्क्रिन, स्विच र बटनहरु भएको एउटा यन्त्र बनाइयो । जसलाई मेमेक्स नाम दिइयो । कालान्तरमा यो प्रविधिको विकास हुँदै कम्प्युटरमा ज्ञान र सूचनाहरु स्टोर गर्न सकियो । सन १९५६ तिर फोर्ड फाउण्डेसनको सहयोगमा कसरी प्रविधिलाई पुस्तकालमा उपयोग गर्न सकिन्छ भन्ने अनुसन्धान सुरु भयो । लगभग एक दशकपछि अनुसन्धानकर्ता लिक्लिडरले ‘लाइब्रेरिज अफ द फ्युचर’ अर्थात् भविष्यका पुस्तकाल भन्ने किताब प्रकाशन गरे । जसमा उनले मानवीय ज्ञान र सूचनाहरुलाई कम्युटरको प्रयोग गरी मानवका हितमा प्रयोग गर्न सकिने बताएका थिए । सन् १९६० को दशकतिर कम्प्युटरको विकाससँगै सुरु भएको मानिन्छ । सन् १६९५ देखि १९७५ को अवधिमा सूचना सम्प्रेसणमा कम्प्युटरको प्रयोग भएको थियो ।

नेपालमा पहिलोपटक वि.स. २०६६ देखि साझा शिक्षा ई-पाटी र नेपाल पुस्तकालय फाउण्डेसनले विद्युतीय पुस्तकालय ईलाइब्रेरीको सुरुवात गरेको पाहिन्छ । विभिन्न विधामा जस्तै लोकसेवा, कृषि र अन्य व्यक्तिका पुस्तक, शिक्षा, स्वास्थ्य लगायत थुप्रै विषयका पुस्तकलाई भिडियो बनाएर विद्युतीय पुस्तकालयमा राखिएको छ । ई–पाटीले अहिले देशभरिका थुप्रै ठाउँमा विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याएको छ । ईलाइब्रेरी कतिपय विद्यालयहरुमा समेत सञ्चालित छन् । ई–पाटी र फाउण्डेसनले कक्षा २ देखि ८ सम्म अंग्रेजी, नेपाली, गणित र विज्ञान विषयका पुस्तक डिजिटलाइज गरेर पुस्तकालयमा राख्ने गरेका छन् । यसका साथै शिक्षण सिकाइ, पाठ्यपुस्तक, सन्र्दभ पुस्तक, शिक्षक निर्देशिका, स्वाध्यायन सामग्रीसमेत पाइने गरेको छ । यस्तै ई-पाटीले विद्युतीय पुस्तकालयमा पुस्तक पढ्नका लागि सजिलो होस् भन्ने हेतुले मोबाइलएप पनि बनाएको छ । साथै उनीहरुले बनाएको विद्युतीय पुस्तकालय पेन ड्राइभमा आफूले चाहेको पुस्तक लगेर घरमा पनि पढ्न सकिन्छ । जसले गर्दा पुस्तकालयमा बसेर पढ्नुपर्ने बाध्यता हट्ने देखिन्छ । यद्यपि परम्परागत पुस्तकालयमा नै विद्युतीय पुस्तकालय स्थापना गरिएको हुन्छ ।

खिम लामिछाने काजी

सूचना र प्रविधिको विकाससँगै विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दै गएको छ । विनाइन्टरनेट पनि पढ्न सकिने सफ्टवेयरको विकास भएकाले परम्परागत पुस्तकालयको विकल्पको रुपमा विद्युतीय पुस्तकालयको प्रयोग बढ्न थालेको हो । पुस्तकको सट्टा पुस्तकालयमा गएर विद्युतीय माध्यम (कम्प्युटर, ल्यापटप, आलइप्याड, ट्याब्लेट, किन्डल र मोबाइल) को प्रयोगबाट पुस्तकलाई पढ्न सकिने प्रणालीलाई नै विद्युतीय पुस्तकालय हुन् । सफ्टवेरको माध्यमबाट कम्प्युटरमा पुस्तकलाई डिजिटलाइज गरेर राखिएको हुन्छ । ती डिजिटाइज भर्सनका पुस्तकलाई कम्प्युटरमा राखिएका विद्युतीय पुस्तकालयमा गएर पढ्न सकिन्छ । कम्प्युटरमा आफैँ कुन किताब पढ्न खोजेको हो त्यो किताबको नाम टाइप गरेर पुस्तक खोजेर पढ्ने व्यवस्था विद्युतीय पुस्तकालयमा रहेको हुन्छ । अहिलेको युग भनेको इन्टरनेटको युग हो । इन्टरनेटको माध्यम ज्ञान र सूचना सस्तो, सुलभ र शीघ्र आदानप्रदान हुने सजिलो माध्यम भएको हुनाले संसारमा द्रुत गतिमा ई–लाईब्रेरीहरु स्थापना भइराखेका छन ।

एउटा किताबलाई धेरै जनाले पढ्न सक्ने भएकाले पनि यसको प्रयोग बढ्दै गएको हो । समयको व्यवस्थापनमा सजिलो, पुस्तकालय चाहारिरहनु पर्ने झन्झट नहुने, चौबीसै घण्टा आफूले चाहेको पुस्तक, चाहेको समयमा विद्युतीय माध्यमबाट पढ्न सकिने भएकाले ईलाइब्रेरी दिन प्रतीदिन लोकप्रिय बन्दै गैरहेको छ । पेनड्राइभ वा कुनै डिभाइसमा राखेर घर लगी कम्प्युटरमा राखेर पनि पढ्न सकिने हुँदा सहर तथा ग्रामीण सबै क्षेत्रमा यसको प्रयोगकर्ताहरु बढिरहेको पाइन्छ ।

अहिले संसारमा भएको जुनकुनै देशको भाषा, धर्म, संस्कृति, साहित्य, विषय र विधाको ज्ञान इन्टरनेटमा सजिलै हेर्न सुन्न र पढ्न सकिन्छ । ई–लाइब्रेरीमा पुस्तकहरुलाइ कम्प्युटर वा स्मार्टफोन मोबाइलबाट श्रव्य दृश्य सामग्रीहरु छिटो छरितो गरी हेर्नु र सुन्न सकिन्छ । प्रायःजसो सूचना सामग्रीहरु अनलाइनमा निःशुल्क पढ्न, सुन्न र हेर्न सकिनेखालका हुन्छन् । यद्यपि कतिपयलाई पैसा तिरेर किन्नु पर्ने पनि हुन्छ । त्यसैगरी कतिपय सूचना र ज्ञानका सामग्रीहरु निःशुल्क डाउनलोड गर्न मिल्ने खालका हुन्छन् भने कतिपय अनलाइन हुँदा मात्र पढ्न मिल्ने गरी राखिएको हुन्छ ।

बजारमा पाउन छाडिएका पुस्तक र अन्य सहयोगी सन्दर्भ सामग्रीहरू ई–लाइब्रेरीको कम्प्यूटरमा इन्टरनेट लिंक राखिने चलन पनि हुन्छ । जसले गर्दा पाठकलाई चाहिएको सन्दर्भ सामग्री सहजै पाउन सकिने भएकोले पनि ईलाइब्रेरीको लोकप्रियता झन् झन् बढेको छ । विद्वान् अध्येता तथा अनुसन्धानकर्ता, स्तम्भ लेखक, पत्रकार लगायत सबै किसिमका पाठकहरुको लागि ईलाइब्रेरीको महत्व दिनानुदिन बढ्दै गैरहेको छ । किताब बोकेर हिँड्नभन्दा मोबाइलमै डाउनलोड गरेर उपन्यास तथा अन्य पाठ्य सामग्री बोकेर आफूलाई मन परेको ठाउँमा बसेर पढ्नेहरुको संख्या बढेको पाइन्छ ।
यद्यपि वर्तमान् अवस्थामा दिनदिनै लोकप्रियता बढ्दै गैरहेको ईलाइब्रेरीको मागलाई सरकारी, गैरसरकारी तथा विभिन्न शैक्षिक संघ संस्थाहरुले माग भए अनुसारको ईलाइब्रेरीको व्यवस्थापन गर्न नसक्दा परम्परागत पुस्तकालयको नै भर पर्नु परेको पाइन्छ । हाल उपलब्ध भइरहेको श्रोत र साधन अनुसार नै पुस्तकालय ईलाइब्रेरीको व्यवस्थापन गर्ने गरिएको छ । धेरैजसो शैक्षिक संस्थाहरुमा पुस्ताकालय भवनभित्र कुनै एक ठाउँमा ५/६ वटा कम्प्युटर राखेर ईलाइब्रेरी सन्चालन गर्ने गरेको पाइन्छ । भर्खरै नयाँ खोलिएका स्कुल कलेजहरुमा भने ईलाइब्रेरीको लागि भनेर छुट्टै भवन निर्माण गरेको पनि पाइएको छ ।

यसरी हेर्दा पुराना पुस्तकालयहरुले विस्तारै ईलाइब्रेरी व्यवस्थापन तथा सन्चालनलाई जोड दिँदै आइरहेको र नयाँ खुल्दै गरेका शैक्षिक संस्थाहरुमा ईलाइब्रेरीलाई विशेष जोड दिएको पाइएको छ । केही समय अगाडिदेखि नै खोज तथा अनुसन्धानात्मक थेसिस, लेख, रचना तथा विभिन्न रिपोर्टहरु लेख्दा ईलाइब्रेरीको प्रयोग गर्ने गरिएको थियो । वर्तमान अवस्थामा स्कुल कलेजहरुले नै आफ्नो शैक्षिक संस्था राम्रो देखाउनको लागि हाम्रोमा ईलाइब्रेरीको राम्रो व्यवस्था रहेको छ भनी प्रचारप्रसार समेत गर्ने गरेको देखिन्छ । यसबाट भन्न सकिन्छ, हाल ईलाइब्रेरीको महत्त्व र यसको उपयोगिता व्यापकरुपमा बढ्दो छ । धेरै जसो कलेजहरुमा लाइब्रेरीलाई नै डिजिटलाइज गर्ने र लाइब्रेरी अटोमेसन गर्ने गरेको पाइन्छ । जसले गर्दा ईलाइब्रेरीहरुको व्यवस्थापनामा वृद्धि भइरहेको छ ।

परम्परागत पुस्तकालयमा छुट्टाछुट्टै विषयका पुस्तकहरुलाई छुट्टाछुट्टै र्याक वा छुट्टै पुस्तकालय भए झैँ ईलाइब्रेरी अन्तर्गत छुट्टाछुट्टै विषयलाई भिन्दाभिन्द्दै वेवसाइटहरुको विकास भएको छ । उदाहरणको लागि कर्नेल युनीभर्सिटी लाइब्रेरीले कृषि अनुसन्धानको लागि एगोरा डाटाबेस बनाएको छ । त्यसैगरी डब्लुएचओले ठूला प्रकाशन गृहसँग मिलेर विश्वका १२० वटा विकाशोन्मुख देशहरुले प्रयोग गर्न पाउने गरी हिनारी डाटाबेसको विकास गरेको छ । जसमा १५,००० जर्नलहरु, ६०,००० ईबुक (किताब) हरु र १०५ भन्दा बढी अन्य सोध तथा अनुसन्धानात्मक लेख, रचना र रिपोर्टहरु समावेश गरिएको छ । जुन स्वास्थ्य शिक्षा तथा अनुसन्धानसँग सम्बन्धित रहेका छन् ।

यस्ता विविध विषयहरुसँग सम्बन्धित लाखौं करोडौँ डाटाबेसहरु इन्टरनेटको माध्यमबाट हामीले संसारको जुनसुकै कुनामा बसेर पनि पढ्न सक्दछौँ । गुगल, विकिपेडिया लगायत थुप्रै सर्च इन्जिन, वेवसाइट तथा पोर्तलहरुभित्र रहेका पाठ्य सामाग्रीहरु नै ईलाइब्रेरीका ज्वलन्त उदाहरण हुन् । यद्यपि छुट्टाछुट्टै विषयका छुट्टाछुट्टै वेवसाइट र पोर्तलहरुमा सबन्धित विषयको व्यापक मात्रामा सन्दर्भ सामाग्रीहरु समावेश गरिएको हुन्छ ।

जसरी अहिले पत्रपत्रिका पढ्नेहरुले मोबाइल र ल्यापटपमा समाचारहरु पढ्न थालेका छन्, त्यसैगरी पुस्तक पढ्नेहरुले मोबाइल र ल्यापटपका स्क्रिनहरुलाई स्क्रोल गर्दै पढ्ने बानीको विकास भइरहेको छ । मुख्यतः परम्परागत पुस्तकालयको ठाउँमा ईलाइब्रेरीको महत्व बढ्नुको कारण प्रविधिको विकास, पढ्न सजिलो, चाहिएको सामाग्री छिट्टै उपलब्ध गर्न सकिने, पुस्तक प्रकाशित भएर पाठकको हातमा पर्न निकै समय लाग्ने तर ईलाइब्रेरी अन्तर्गत प्रकाशित पुस्तक, जर्नल, रिपोर्ट, थेसिस, विभिन्न अनुसधानात्मक लेख रचाना आदि तत्काल पाठकको स्क्रिनमा उपलब्ध हुने, वर्षौँ अगाडि प्रकाशित पुस्तकहरु च्यातिएको, ढुसी लाग्ने, खोल्दा धुलो निस्कने अवस्थामा हुनेहुँदा पाठकलाई सजिलो ईलाइब्रेरीको प्रयोग नै हुने, कुनै कुनै विषयका ठूला ठूला ८/९ किलोका पुस्तकहरु उचालेर राख्नै गाह्रो पर्ने भएकाले पनि ईलाइब्रेरीको महत्त्व बढेको छ ।

डेसीमलभ प्रणाली अन्तर्गत क्लासिफिकेसन गरेर मिलाएर राखिएको पुस्तकहरु पाठकलाई खोज्न समय लाग्ने, मोबाइल, ल्यापटप, किन्डल, आइप्याड जस्ता डिभाइस तथा उपकरण सजिलै बोक्न सकिने तथा आफूलाई मन परेको स्थानमा गएर पढ्न सकिने भएकोले पनि ईलाइब्रेरीको महत्त्व बढ्दै गएको छ । पुस्तकालय भवन धाउनुको सट्टा घरमै बसी बसी पढ्न सकिने, विश्वको कुनै कुनामा प्रकाशित सामाग्री सजिलै उप्लबध हुने लगायत थुप्रै फाइदा भएको हुनाले ईलाइब्रेरीको महत्व दिनदिनै बढ्दै गैरहेको छ । एउटै यन्त्र (कम्प्युटर, मोबाइल, किन्डल, आइप्याड आदि) भित्र सयौँको संख्यामा पुस्तक लगायतका पाठ्य सामाग्रीहरु राख्ने सकिन्छ । ईलाइब्रेरी अन्तर्गत नेपाली पाठ्य सामाग्रीहरु प्रसस्त मात्रामा राखिएको छैन, विस्तारै नेपाली प्रकाशकहरुले पनि ईलाइब्रेरीमा आफ्ना सामाग्रीहरु राख्न थालेका छन् ।

त्यसैगरी पुस्तक छपाउनदेखि आयात निर्यात गर्न पनि विभिन्न कर तथा शुल्कहरु तिर्नु पर्ने हुन्छ, ईलाइब्रेरी अन्तर्गत त्यस्ता कर र शुल्कहरु तिर्नु नपर्ने हुनसक्छ । ईलाइब्रेरीको व्यवस्थापनमा सुरुमा खर्च भएको जस्तो देखियता पनि एकपटकको खर्चपछि घरि घरि नयाँ पुस्तक किनेर पुस्तकालयमा राख्ने जस्तो खर्च हुँदैन । त्यसैले ईलाइब्रेरी मितव्ययी हुन्छ । एउटै सामाग्री संसारको थुप्रै ठाउँहरुबाट एकै समयमा पढ्न सकिन्छ । परम्परागत पुस्तकालय निर्माणको लागि विशाल भौतिक संरचनाको निर्माण गर्नु पर्दैन । एउटा पुस्तक छाप्ने कागजको लागि थुप्रै रुखहरु काट्नु पर्ने हुन्छ, यदि ईलाइब्रेरीको विकास गर्दै जाने हो भने रुखबिरुवाहरु काट्नु पर्दैन । वन विनास रोक्नमा मद्दत पुग्छ ।

परम्परागत पुस्तकालयभित्र राखिएको सामाग्रीहरु लामो समयसम्म जतन गरी राख्न नसकिने, कीरा धुलोले हानी गर्ने, पित्रो भएर च्यातिने हुनसक्छ भने ईलाइब्रेरी व्यवस्थापनपछि लामो समय जतन गरी राख्न सकिन्छ । चाहिएको बेला जुनसुकै स्थानमा सजिलै उपलब्ध गर्न सकिने हुन्छ । यद्यपि प्रविधिले ढोका नदिने भन्ने त हुँदैन । कहिलेकाहीँ विद्युतको अभाव, ब्याट्री तथा जेनेटरको लागि थप खर्च लाग्ने हुनसक्छ । दूरदराजका गाउँहरुमा बिजुली तथा इन्टरनेटको पहुँच नपुगेको ठाउँमा ईलाइब्रेरी सन्चालन गर्न नसकिने पनि हुनसक्छ । तथापि हाम्रो जस्तो विकासन्मुख देशमा ईलाइेब्रेरी व्यवस्थापन र विकासमा सबैले आआफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्न जरुरी छ ।