हिप्पी संस्कार, हिप्पी व्यवहार, हिप्पी चालचलन, हिप्पी समुदाय तथा हिप्पीका अनुभव र अनुभूतिहरु बारे ज्ञान लिनु छ भने हिप्पी धर्म पढ्दा हुन्छ । हिप्पीका दिनचर्या हिप्पीले गरेका लागुपदार्थको सेवन, गाँजा, चरेस, विभिन्न किसिमका ड्रग्स तथा सेक्स लगायत नसालु पदार्थको ओसार पसार र बेचबिखन, शान्ति र प्रेमको खोजीमा भौतारिँदै नशामा लठ्ठिएका हिप्पीको जीवन कहाँनी एफ डि कोलाबाभालाद्वारा लिखित “हिप्पी धर्म” मा प्रस्तुत गरिएको छ । कोलाबाभाला भारतीय सैनिकका क्याप्टेन थिए । उनले सेनामा रिपोर्टिङको काम गर्दथे । युरोप अमेरिकाबाट टर्की, इरान, अफगानीस्तान, पाकिस्तान, भारत हुँदै नेपालसम्म आइपुगेको हिप्पी यात्राको अब अवशेष मात्र देख्न सकिन्छ । १९७४ मा विभिन्न हिप्पीहरुसँग प्रत्यक्ष बसेर तथा तत्कालिन समयमा हिप्पीहरु बारे पत्र पत्रिकामा प्रकाशित तथ्यहरुको आधारमा हिप्पी धर्म प्रकाशित गरेका हुन् ।

हिप्पी संस्कारको उदय हुनुमा मुख्य गरी दोश्रो विश्वयुद्ध पछि मानिसहरुमा आएको नैराश्यता, उदासिनता, संसार भर आएको आर्थिक मन्दी, युद्धले गरेको क्षति, आणविक हतियार र युद्धको नकरात्मक प्रभावलाई मानिन्छ । त्यसको अलावा हिप्पी प्रवित्ति विकास हुनुमा अन्य कारणहरु समेत रहेका छन, जसलाई हिप्पी धर्ममा विश्लेशण गरिएको छ ।

खिम लामिछने ‘काजी’

हिप्पीहरुले तत्कालिन अवस्थामा पर्यटन व्यवसायलाई अग्रगामी छलाङ मार्न सहयोग गरेका थिए । हिप्पीहरुले निकै कम खर्चमा निकै लामो यात्रा गर्न खप्पिस मानिन्थे । विश्व प्रख्यात साङ्गीतिक समूह विटल्सले १९६८ मा भारत आएर सितार वादक पण्डित रवी शंकरसँग साङ्गीतिक कार्यक्रम गरेपछि हिप्पीवाद झन् मौलाएको मानिन्छ । १९७४ मा स्टिभ जब्सले निम करोली बाबासँग आध्यात्मिक अभ्यास गर्न कैची आश्रममा आएका थिए ।

थुप्रै हिप्पीहरुसँगको उठबस र अन्तरकृया गरी हिप्पीहरुको चरित्रलाई शब्दमा उतारेका छन् लेखक कोलाबाभालाले । हिप्पीको व्यक्तिगत अध्ययन र समूहगत अध्ययन गर्दै उनीहरुले गर्ने व्यवहारलाई शब्दमा बर्णन गरेका छन् ।

एक १७ वर्षीय युवती बाबु आमाको दैनिक घर झगडाको कारण दिक्क भएर हिप्पी भएकी रहिछन् । उनका आमाबुबाको घर झगडाको कारण भने बाबुले राती सुत्दा घुर्ने रहेछन् । आमाले शन्तिसँग सुत्न पाइनँ भन्दै बाबुसँग दैनिक जसो झगडा हुँदो रहेछ ।

खुसी, शान्ति, स्वतन्त्रता र प्रेमको खोजी गर्दै नशालु पदार्थको सेवनको लतमा फस्दै हिप्पी संस्कारमा रमाउन थाले । बिस्तारै लागुपदार्थको खरिद गर्न पैसाको अभाव हुन थाले पछि चोरी गर्ने तथा ठग्ने धन्दामा समेत लागे । यधपी सबै हिप्पीहरु नशाको लागि मात्रै हिप्पी भएका भने थिएनन् । कतिपय हिप्पीहरु जीवनलाई बदल्नको लागि, संसारलाई नै बदल्नको लागि आफू बदलिएको भन्दथे । उनीहरु पूर्वीय दर्शन पढ्ने र योग ध्यान पनि गर्दथे ।

धेरै जसो हिप्पीहरु धनी देशबाट आएका थिए । त्यसमा पनि धेरै जसो स्कुल र क्याम्पसका ड्रपआउटहरु थिए ।

हिप्पीहरु विशेष गरी गर्मीयाममा भारतको गोवामा बस्दथे भने जाडो मौसममा बम्बई, दिल्ली, बनारस, हरिद्वार, हम्पी, मनाली र नेपालको काठमाण्डौंमा पनि बस्दथे ।

कोलोबाभालाले हिप्पीहरुको व्यवहारको आधारमा ३ प्रकारमा वर्गीकरण गरेका छन् ।

१- आद्यात्मिक हिप्पी : गीता, बुद्धिजम, जेन, जेरोस्त्रानिज्म सम्बन्धी पुस्तकहरु पढ्ने, आफूलाई गुरु भनेर चिनाउने, आश्रममा बस्ने, हिन्दु गुरुको चेला हुने, पूर्वीय दर्शनलाई जीवनमा लागु गर्ने प्रकृतीका हुन्छन् । हिन्दु पूजारी जस्तै जीवनलाई ढाल्न कोसीस गर्नेहरु आध्यात्मिक हिप्पीमा पर्दछन् । अहिले संसारभर हिन्दु धर्म र पूर्वीय दशर्नको सकारात्मक सन्देश यी आध्यात्मिक हिप्पीहरु मार्फत भएको देखिन्छ ।

२ – नौसिखियाहरू : यिनीहरु एक प्रकारको हिप्पी बन्ने शोखले गर्दा मात्र हिप्पी बनेका हुन्छन । ५-६ वर्ष हिप्पी भएर स्वतन्त्र भएर नशामा बाँच्ने, योग र ध्यान समेत गर्ने तर पछी फर्केर आफ्नै देशमा गएर नियमित जीवन बिताउनेहरु शौखिन हिप्पीहरु अन्तरगत पर्दछन् ।

३- तेस्रो प्रकारमा लेखकले हपर्स हिप्पी, भनेर छुट्याएका छन, जसमा लागुपदार्थ सेवन गर्ने, नाँच्ने रमाउने, “खाओ पिओ मोज करो” भन्ने प्रवित्तिका हुन्छन् । यिनीहरुलाई फ्री सेक्स, ग्रुप सेक्स, विभिन्न प्रकारका लागुऔषध नभै हुँदैन । संसारभर हिप्पी संस्कारको बदनाम गराउने नै मुख्य गरी यस्तै प्रकारका हिप्पीलाई मानिन्छ । यिनीहरुले लागुऔषध सेवनको लागि लुट्ने, ठग्ने, चोर्ने जस्ता जस्तो सुकै काम पनि गर्ने गरेको पाइएको छ । यिनीहरु समूहमा बस्ने गर्दछन् । समूहभित्र जो सुकै सँग पनि यौन सम्बन्ध राख्ने गर्दछन् ।

केही हिप्पीहरुको विश्वाश थियो कि लागुऔषधको आनन्दले उनीहरुलाई निर्वाणको अवस्थामा पुर्याउँछ र माया प्रेम गर्न सिकाउँछ । यो भ्रमले गर्दा हिप्पीहरुको दिनचर्या नै नशा खोज्ने र नशामा लठ्ठिने हुन्थ्यो ।

हिप्पीहरुको प्रमुख उदेश्य नै व्यक्तिगत स्वतन्त्रता प्राप्ति हो ।

हिप्पीहरुकै कारण भारतको कला संस्कृति पू्र्वीय दर्शन आदिको समेत विश्वभर प्रचार प्रसार हुन थाल्यो । भारतीय गुरुबाट शास्त्रीय संगीत सिक्न पश्चिम देशबाट मान्छेहरु आउन थाले । कोलाबाभालाका अनुसार त्यतीबेला भागवत गीता र कामशुत्रका पुस्तकहरु अत्याधिक बिक्री भएको थियो ।

सत्यको खोजीमा कतिपय हिप्पीहरु आश्रममा बसेर ध्यान योग गर्न थाले । आश्रममा खान बस्न निशुल्क भएकोले पनि हिप्पीहरुको आकर्षण बढ्न थाल्यो । एक स्विडिस हिप्पी भन्दछन, “संस्कृतका श्वलोकहरु हामीले नबुझे पनि हामी यस श्वलोकमा विश्वाश गर्दछौ” । तर कतिपय हिप्पीहरु आश्रमको कठोर अनुशासन र नियममा बस्न नसकी भाग्दथे ।

पुस्तकमा हिप्पीहरुले प्रयोग गर्ने शब्दवलीहरुलाई समेत उल्लेख गरिएको छ । जस्तै प्रहरीले पक्रनुलाई ‘बुस्ट’ एम्फेटामिन ट्याब्लेटलाई ‘जोली बिन्स’, रक्सी धेरै सेवन गर्नेलाई ‘जुस हेड’, कोकिनलाई ‘स्नो’, नशामा झ्याप हुनुलाई ‘स्टोन’ आदि थुप्रै शब्दहरु छन जस्लाई लेखकले अन्तिममा ‘हिप्पी फ्रेजोलोजी’ भनेर समावेश गरेका छन् । तिनै हिप्पी शब्दवली आहिलेका युवाहरुले समेत प्रयोग गर्ने गरेको पाइन्छ । त्यसो त आजकाल पनि हाम्रो समाजमा एक हद हिप्पीहरु छन् जसलाई हामीले देखिरहेकै छौं । हिप्पी संस्कार घटेको त पक्कै छ तर मासिएको भने छैन ।

कतिपय हिप्पीहरु कुकुर बिरालो पालेर उनीहरुको नाम कृष्ण, राम, चरेस, गाँजा एलयसडी जस्ता नामहरु राखिदिन्थे । करेन नाम गरेकी हिप्पीनिले आफ्नो पप्पीको (कुकुर) नाम ‘गड’ राखेकी थिई ।

यो पुस्तक प्रकाशित हुँदा म सन १९७४ मा जन्मेको रहेछु । पोखराको पर्यटकिय स्थल लेकसाइडमा घर भएकोले सानैदेखि विदेशीहरुलाई देखेको थिएँ । उनीहरु मध्ये कतिले हिप्पी व्ववहार गर्ने गरेको पनि देखेको थिए । क्याप्टेन कोलाभावालाले हिप्पी धर्ममा बताए जस्तै लामो लामो कपाल, कानमा मुन्द्रा-झुम्का, अर्धनग्न शरीर, खाली खुट्टा, हातमा चुरोट सल्काउँदै गाँजा चरेस तान्दै हिँडेको, कहिले यस्तै हुलियामा गीतार बोकेर हिँडेका महिला पुरुष हिप्पीहरुलाई देखेको थिएँ ।

उनीहरुको आनीबानी, चालचलन, बानी व्यहोरा आदि बारे हल्का अवगत थियो । अहिले धेरै वर्ष पछि “हिप्पी धर्म” पढिरहँदा बालककालमा देखेको दृश्यहरु झलझली सम्झिरहेको छु । त्यसैको उत्प्रेरणाले समीक्षा लेख्न जाँगर चल्यो ।

१९६०-७० को दसकमा मौलाएको हिप्पी संस्कारका अवशेषहरु अझ पनि हाम्रो समाजमा देख्न सकिन्छ । हिप्पीहरुको संगतबाट नेपाली दाजुभाइहरु पनि उनीहरुको नक्कल गर्दा गर्दै उनीहरुकै बाटोमा हिँडेर हिप्पी हुन पुगे । कतिले हिप्पीहरुलाई गाँजा चरेस बेचेर टन्नै रुपैयाँ पनि कमाए भने कतिले भएको सम्पति पनि गाँजा चरेस तथा लागुपदार्थको कुलतमा लागेर सके ।

“खाओ पिओ मोज करो” भन्ने भावनाले ओतप्रोत भएका हिप्पीहरुको जमात भारतका विभिन्न स्थानहरु हुँदै नेपालको काठमाण्डौं आइपुगेका थिए । कति पोखरा र पोखराको आसपासको गाउँ समेत घुम्ने गरेको तथ्यहरु भेटिन्छन् ।

कोलोभाबालाका अनुसार भारतमा पहिलो पटक आउने हिप्पी बेल्जियमकी जानिक हुन् । उनी १९६३-६४ तिर भारत आएकी थिइन् । हिप्पीहरु भारतमा मनाउने हिन्दु चाडपर्वहरुमा रमाउने गर्दथे । विशेष गरी होली पर्वमा उनीहरुले एक साथ नाचगान गरेर नशामा झुमेर उत्सव मनाउँने गर्दथे ।

भारतको बम्बइमा हिप्पीहरुले वेश्या वृत्ति, लागु औषध कारोबारको जालो नै फैलाएका थिए । जहाँ गाँजा, चरेस र अफिमलाई मिलाएर धेरै समय सम्म नसा दिने लागु औषध बनाएर बिक्री बितरण गर्दथे । त्यस्ता नसालु पदार्थलाई “बम्बे ब्ल्याक” भनेर नाम दिएका थिए । ‘बम्बे ब्ल्याक’ भनेर भारतीय हिप्पीलाई पनि भनिन्थ्यो ।

कोलोभाबालाले भारतीय हिप्पीहरुको दैनिकी समेत प्रस्तुत गरेका छन् । भारतीय हिप्पीहरु खुल्ला आकाश ओढेर खुल्ला चौर र सडकमा सुत्थे । सडकमै खान्थे, झगडा गर्थे । यदि पैसा भयो भने सस्तो रेस्टुरेन्टमा खानाको आनन्द लिन्थे । बिरामी भएमा उपचार गराउँन अस्पातल पुग्दा आफूलाई भाग्यमानी ठान्दथे । यी बम्बे ब्ल्याक हिप्पीहरु आफ्नो इच्छा र चाहनाले हिप्पी भएका भने होइनन् । बरु विवशता र वाध्यताले हिप्पी जिन्दगी जिउँनु परेको हो । लेखकका अनुसार उनीहरु चरम गरीबीको कारणले हिप्पी हुनु परेको हो । उनीहरुको घर छैन, जग्गा छैन तर पनि जिन्दगी खुसीयालीपूर्वक बितेको देख्दा हिप्पीहरु ‘खुसी मान्छे’ भनेर भन्दथे ।

विदेशी हिप्पीहरु भारतीय हिप्पीहरुलाई लुगा कपडा खाना दिएर सहयोग गर्ने गर्दथे । कतिपय हिप्पीहरु समूह सेक्स र खुल्ला यौन सबन्धमा रमाउँथे । कतिपयले सेक्सलाई भन्दा बढि महत्व लभ (प्रेम) लाई दिन्थे । उनीहरुले ठाउँको नाम नै “लभ स्ट्रिट” राखेका थिए । अन्तर्वाताको क्रममा एक जना हिप्पी केटीले भनेकी छन, “मैले धेरै पटक दिनमा ४ जना सँग सेक्स गरे तर मलाई प्रेमको कुनै अनुभूति भएन । सेक्स र प्रेम छुट्टै कुरा हुन्” । सेक्स गर्न प्रेम हुनै पर्छ भन्ने छैन तर प्रेममा सेक्स भयो भने निकै आनन्द र खुसी मिल्छ ।

हिप्पीहरुले लागुपदार्थको विकल्पमा थुप्रै अनुसन्धानहरु समेत गरेका थिए । जस्तै कतिपएले अन्नको बोक्रा सहित खाने, केहिले मासु र चिनीसँग खाने गर्थे । यसो गर्दा उनीहरुलाई नसा लागेको जस्तो आनन्दित बनाउँथ्यो ।

फ्रेन्च हिप्पी सुजान भन्छिन्, “जिन्दगी भनेको आज हो । वर्तमानमा नै हामी बाँच्ने हो । पैसा चलायमान भएको राम्रो हो तर एकै जनासँग सङ्ग्रहित हुनु नराम्रो हो । जब म जिन्दगीमा भ्रमित हुन्छु नि, त्योबेला टन्न नसा पिएर मज्जाले सेक्स गर्छु । त्यसपछि म आफैँभित्र हराउँछु । यो मेरो निर्वाण प्राप्त गर्ने सजिलो उपाय हो ।”

कतिपय हिप्पीहरुले नशाको लागि पैसा जम्मा गर्न काम पनि गर्दथे । सुजानका अनुसार भारतीय सिनेमामा सुइमिङसुटको कपडा लगाएर बसे वापत दिनको रु ४० देखि १५० सम्म कमाउदथेँ । हिप्पीहरु लागु पदार्थको अलवा खान नपाएर पनि मरेका रहेछन् भन्ने कुरा लेखकले तथ्य प्रस्तुत गरेका छन । कतिपय हिप्पीहरु ओशो रजनिशलाई गुरु मान्दै उनले प्रतीपादन गरेको ध्यान गर्ने गर्दथे । ध्यानबाट शान्ती मिलेको कुरा एक हिप्पीले बताएको कुरा उल्लेख गरिएको छ ।

भारतको मियामी भनेर चिनिने ‘जुहु’ समुद्रि तटमा जर्मनी हिप्पी दम्पती रोल्फ र टिनाक अनुसार हिप्पीहरु तयारी भगवान (इन्स्ट्याण्ट गड) को खोजीमा थिय । लेखकले एक २० वर्षीय अमेरीकन केटीको केस स्टडी गरेका छन् । जसमा केटीका आमा-बा धेरै धनी रहेछन् । केटीको छुट्टै आफ्नो कार रहेछ । थुप्रै पैसा पनि रहेछ । उनी क्यानडा, युरोप र उत्तर अमेरीकाको भ्रमण पनि गरीसकेकी रहिछन् । शान्ति र खुसीको खोजीमा उनी हिप्पी जीवन अँगाल्न भारत आएकी रहिछन् । उनले भनेकी छन्, संसारमा पैसा मात्र ठुलो कुरा रहेनछ । उनले भारतमा लागु पदार्थ, एसिड र सेक्स आदिमा मन भुलाउन थालिन् । उनी भन्छिन, “संसारमा प्रेम नै सबैभन्दा ठूलो चीज रहेछ । प्रेममा अहंकार अर्थात इगो सबै हराउँदै जान्छ ।”

लेखकले हिप्पीहरुले प्रयोग गर्ने लागुपदार्थका किसिमहरु, यसका असरहरु, कुलतमा परेकाहरुले लागुपदार्थ नपाउँदाको अनुभूति आदि बारेमा समेत उल्लेख गरेका छन् । युज ड्रग कमिसन रिपोर्ट – १९७३ का अनुसार २ लाख भारतीय हिप्पी चरेसको कुलतमा परेर मरे भने अमेरिकामा ५ लाख हिप्पीहरु मरेको तथ्य लेखकले पेश गरेका छन् ।

समुन्द्र किनारमा सेक्स, संगीत, खुसीयाली, लागुऔषधको नशा, रक्सीको मज्जा लिने उदेश्यले समय-समयमा “वीच अफ द ब्लेस्ड”को कार्यक्रम गरिन्थ्यो । जहाँ हजारौं हिप्पीहरु संगीत, सेक्स, लागुऔषधको नशामा झुम्ने गर्दथे ।

गोवाको बागा, अजली, क्यालनगुट, समुन्द्र किनारमा धेरैजसो साइकेडेलिक हिप्पीहरु सामुदायिक रुपमा नसाको साथमा रमाइलो गर्दथे । अफिम, गाँजा, चरेस पानपसलमा पनि सजिलै पाइन्थ्यो । त्यसैगरी काठमाडौंका थुप्रै पसलहरुमा गाँजा चरेस पाइन्छ भनेर साइनबोर्ड नै राखेर बेचिन्थ्यो ।

बिस्तारै ड्रगको कारणले शरीर सुक्दै गएका, सुख्खा खोकी लागेका, कुपोषण भएका जस्ता लक्षणहरु भएका ड्रगको ओभरडोजले बाटोमा कराउँदै हिँडेका हिप्पीहरु देखिन थाले । हेपाटाइटिस चारैतिर फैलिरहेको थियो । रोगको डरले गर्दा हिप्पीहरु आउने क्रम बिस्तारै घट्दै गयो ।