साहित्यकार सरुभक्तद्वारा लिखित २०४८ सालको मदन पुरस्कार बिजेता “पागल बस्ती” उपन्यास पहिलो पटक सहिदस्मृति पुस्तकालय मालेपाटनबाट केही दिनको लागि सापटी लिएर २०४८ सालतिर पढेको थिएँ । त्यतिबेला मेरो उमेर त्यस्तै १७ वर्षको हुँदो हो । पृथ्वीनारायण बहुमुखी क्याम्पस, पोखरामा मानविकी संकायमा आइए पहिलो वर्षमा अध्ययनरत हुँदा पागल बस्ती पढिएको थियो ।
एसएलसी दिएर बसेको बेला मैले उपन्यास, कविता, निबन्ध जे हात पर्छ त्यही पढ्ने गर्दथेँ । खप्तड बाबाको विचार विज्ञानदेखि युधिर थापाको लुकेको समाजसम्म पढियो भने स्वेट मार्डेनको व्यक्तित्व विकास गर्ने कलादेखि फिल्मी पत्रिका कामनालगायत वेद प्रकाश शर्माका हिन्दी जासुसी उपन्यासहरू पढ्ने गर्थेँ । क्याम्पस सुरु भएपछि पुस्तकालय पनि जाने गर्थेँ तर म कोर्सको किताबभन्दा बढी बाहिरी पुस्तकहरू पढ्न मन पराउँथेँ । नढाटी भन्नु पर्दा कोर्सका किताबहरू त करै करले मात्र पढेको, अभिभावक, शिक्षक र परीक्षाको डरैडरले मात्रै पढेको, आफ्नै रहरले पढेको त केबल उपन्यास र यौनकथाहरू मात्रै हो । पुस्तक पसलबाट सेकेन्ड ह्याण्ड उपन्यास भाडामा किनेर पनि पढियो ।
त्यो अल्लारे उमेरमा पढेको पागल बस्ती मानपटलसमा यसरी बसेको छ कि आज पनि जब म त्यो नाउँडाडा पुग्छु, पागल बस्तीको खण्डहर यतै कतै छ कि भन्दै आँखा डुलाउँछु । पागल बस्ती उपन्यासलार्इ सम्झिनु पर्दा आदिगुरु, आदिमाता, बस्ती, अहमता, प्रेम अनि कुस्टरोगीहरू बस्ने पगाल बस्ती, पृथ्वीनरायण क्याम्पस, एउटा बूढी कुकुर आदि कुरा मात्र सम्झने गर्थेँ । उपन्यासको मुख्य कथा नै बिर्सिसकेको थिएँ ।
अहिले ३० वर्षपछि फेरि मलाई पागल बस्तीले तान्यो । केबल ३ बसाइ मै पढेर सकाएँ । अहिले बुज्दैछु उपन्यास निकै साहित्यिक रहेछ, खै त्यो बेला मैले के के बुझेँ के के बुझिनँ । पढिन्जेल निकै कुतुहलता भइरह्यो । कथाको सुरु मै मार्थालाई बूढी देखाइएको छ भने उसकै चित्रमार्फत पागल बस्तीको कथालाई अगाडि बढाइएको छ । किशोर नाम गरेका एक पत्रकारले पागल बस्तीबारे खोज तलास सुरु गर्छन र मार्थासम्म पुग्छन । मार्था पृथ्वी नारायण क्याम्पसको क्वार्टरमा बस्ने गरेकी हुन्छिन् ।
पागल बस्ती प्रेम र अहमवादवीचको द्वन्द्व बोकेको प्रयोगवादी उपन्यास हो । आदिमाता याने कि मार्थाले प्रेमको प्रतिनिधित्व गरेकी छन् भने आदिगुरु याने कि प्रशान्तले आहमवादको प्रतिनिधित्व गरेका छन् । उपन्यासमा प्रस्तुत गरिएका दर्शनहरू मलाई ओशोको दर्शनसँग थुप्रै कुराहरू मिल्दो जुल्दो लाग्यो । यद्यपि एउटा कुरामा भन्ने ठीक विपरीत विचार पनि रहेको छ । आदिगुरुले अहमतालाई सर्बपरी ठानेका हुन्छन् भने ओशोले प्रेमलाई नै सर्बपरी ठानेका छन् ।
आदिगुरु मार्फत उपन्यासमा प्रस्तुत गरिएका दर्शनहरू धेरै जसो ओशोको दर्शनसँग मिलेको देखिन्छ । जस्तै आदिगुरुले ‘गुरु’को काम अघिअघि हिँड्ने पथप्रदर्शक मात्र हो भनेका छन् भने ओशोले गुरुको काम मार्गदर्शन मात्र हो भनेका छन् । त्यसैगरी आदिगुरु जगत्लाई मिथ्या मान्दैनन, बरु पूर्ण सत्य मन्दछन् । ओशोले पनि जगत्लाई सत्य नै मानेकान् छन् । ओशोले पुनर्जन्ममा विश्वास गरेका छन् भने आदिगुरुले पनि बस्तीमा आउनु भन्दा अगाडिको जीवनलाई पुनर्जन्म मानेका छन् । उपन्यासमा आधिगुरुले बस्तीमा रहेका सबैलाई राखेर प्रवचन दिने गरेका छन् भने ओशोले पनि प्रवचन दिने गर्थेँ । सच्चा प्रेमी प्रेमिकाहरूको बिछोड पछि पुनः एक पटक भेट हुने नै छ भन्ने कुरा ओशोले गरेका छन् भने आदिगुरुले पनि आफ्नो कलेज पढ्दा मन परेकी मार्थासँग फेरि भेट हुने विश्वासले उनैको नाममा आदिमन्दिरको स्थापना गरिएको हुनसक्छ ।
ठुला ठुला विद्वानहरू पनि ओशोको पछि लागेका थिए भने आदिगुरुको पछि लागेर थुप्रै डाक्टर नर्स लगाएका व्यक्तिहरू बस्तीमा आएर बसेका थिय ।
ओशोको पछि लगेर हिँड्नेहरूलाई तत्कालीन अस्वथामा कतिपयले पागल भन्थे भने पागल बस्तीमा बसोबास गर्ने सबैलाई बाहिरी मानिसहरू पागल भन्दै उपहास गर्थेँ ।
उपन्यासमा मार्थाले भनेकी छन्, “प्रेम भन्दा महान, प्रेम भन्दा पवित्र, प्रेम भन्दा सुन्दर र प्रेम भन्दा जीवनदायी अरू केही पनि छैन” । जुन ओशोको दर्शनसँग मिल्न जान्छ ।
आदिगुरुले आफ्ना योग्य शिष्यहरूलाई जन्मान्तरिक वा महाज्ञानी भन्दै दीक्षा दिने गरेका छन् भने ओशो संसारमा पनि ओशोको ध्यान र दर्शनलाई आत्मसात् गर्नेहरू दिक्षा लिएर ओशो सन्यासी हुने गर्दछन् ।
ओशो सन्यसीहरू ओशोको ध्यान र दर्शनलाई बाँड्ने हेतु विभिन्न ठाउँमा ओशो सेन्टर र ओशो आश्रम खोलिएको पाहिन्छ भने उपन्यास अहमको सुन्यता उपलब्धि भइसकेपछि आदिगुरुबाट दिक्षीत भएका महाज्ञानीहरू पनि आदिगुरुको ज्ञानलाई बाँड्न विभिन्न ठाउँमा जानु पर्ने परम्परा रहेको वर्णन गरिएको छ ।
प्रेमको पीडाले आध्यात्मिक बाटो रोक्ने गर्दछ । किनकि प्रेम पीडित जो कोही होस् ऊ आफ्नो प्रेमको बारेमा मात्रै चिन्तित रहन्छ । जसले गर्दा उसको ध्यानको मार्ग पहिल्याउन सक्दैन भन्ने ओशोको विचार रहेका छन् भने उपन्यासमा पनि प्रेमको पीडा बोकेर कोही पनि ज्ञानमार्ग तर्फ उन्मुख हुन सक्दैन । प्रेमको पीडाले बाटो छेक्छ भनेर आदिगुरुले भनेका छन् ।
आदिगुरु आफूलाई इश्वर पुत्र वा प्रतिनिधि मान्दैनन् तर बस्तीका मानिसहरू उनलाई मसिहा अर्थात् देवता समान ठान्थे । ओशोले आफूलाई कहिल्यै पूजा गर्नु भनेका छैनन् तर पनि ओशोका अनुयायीहरू ओशोको पूजा गर्ने गर्दछन् ।
आदिगुरु थुप्रै समय मौन एकान्तबास बसेका थिए भने ओशो पनि ४ वर्ष कसैसँग नबोली मौन बसेका थिए ।
ओशोले बुद्धत्व प्राप्त गरेको दिन भनेर मार्च २१ मा ओशो सन्यासीहरूले उक्त दिन सम्बोधी दिवस अर्थात् इनलाइटमेन्ट डे मनाउने गर्दछन् भने पागल बस्ती उपन्यासमा पनि प्रशान्तले आदिज्ञान प्राप्त आदिगुरु बनेको दिनलार्इ आधार मानेर आदिगुरुपर्ब मनाउने गरिएको छ ।
संक्षेपमा भन्नु पर्दा पागल बस्ती उपन्यासले प्रेम र अहमबीचको द्वन्द्वलार्इ चित्रण गरेको छ । तर प्रेम र द्वन्द्व मध्ये कुन चाहिँ सही हो भन्ने निकर्ष भने निकालेको देखिँदैन । आदिमाता र आदिगुरुबीचका अन्तर्द्वन्द्वहरू हेर्दा कहिले आदिमाताको प्रेमको कुरा सही लाग्छ भने कहिले आदिगुरुको अहमता ठिक लाग्छ ।
पागल बस्ती शोषित, पीडित, प्रताडित, अपमानित, उपेक्षित र रोगीहरूको बस्ती हो भन्दा पनि हुन्छ । बस्तीका मान्छेहरूले बनाएको डोको, नाम्लो, गुन्द्री, मान्द्रो, भकारी, राडी पाखी जस्ता हस्त निर्मित सामानहरू बनाएर दसैँको फूलपातीको दिन पोखराको टुङ्डीखेलमा हुने हाटबजारमा बेच्न जाने गर्दछन् । बाहिरी मान्छेहरूलार्इ उनीहरूले सामान बेच्ने गरेका हुन्छन् जहाँ बाहिरी मानिसले उनीहरूलार्इ पागल भनेर उपहास गर्ने गर्दछन् । बाहिरी मानिस र बस्तीका मानिसबीच द्वन्द्व देखाइएको छ तर बस्तीका मानिसहरू धेरै समझदार देखाइएको छ ।
उपन्यासमा टुँडीखेलमा भेडा च्याङ्ग्रा किन बेच हुने कुराको सन्दर्भ साह्रै रोचक छ । पुस्तक लेखिँदा २०४८ सालमा उपल्लो थलो मुस्ताङलगाएतका ठाउँबाट भेडा च्याङ्ग्रा बिक्री गर्न पोखराको टुँढिखेल ल्याइने गरेको उल्लेख छ । जहाँ ग्रामीण अर्धग्रामीण र शहरियाहरू धेरैबेर आँखा डुलाए पछि भेड़ा च्याङ्ग्राको गर्दनदेखि पुच्छरसम्म छामेर उचालेर भेड़ा च्याङ्ग्राका मालिक हिमाली क्षेत्रमा बसोबास गर्ने थकाली वा भोटेसँग मोल मोलाई गरी किनेर बथानबाट जब्बरजस्ती भेडा च्याङ्ग्रा घिसारेर लैजाने गर्दछन् । भेडा च्याङ्ग्राको घाँटीमा डोरी लगाएर तानिँदा भ्या भ्या गर्दै खुट्टा चलाएर हिँड्न इन्कार गर्दै बाटोमा थुचुक्क बसेको तमासा देख्न पाहिन्छ । पुस्तक लेखिएको ३० वर्षपछि पनि टुँडीखेलमा भेडा च्याङ्ग्रा किने बेच हुने तौरतरिका भने अहिले पनि उस्तै दुरुस्तै रहेको छ ।
उपन्यासमा बिन्दु नाम गरेकी एक कुकुर छिन्, जुन साह्रै ज्ञानी र आज्ञापालक छिन् । बस्तीमा कुकुरलार्इ समेत नियम र अनुशासनमा राखिएको छ ।
सुरुको खण्डमा मार्थाले किन र कसरी प्रशान्तलार्इ धोका दिएकी रहिछिन् भन्ने कुतुहलता जागिरहन्छ भने पछिल्लो खण्डमा कति बेला आदिगुरुले प्रशान्त र आदिमातालार्इ मार्था भनी सम्बोधन गर्ला भन्ने मनमा खेलिरहन्छ । उपन्यास पढेर नसकिन्जेल आदिमाता र आदिगुरुबीच अन्तमा के होला भन्ने कुतुहलताले पाठकलार्इ तानिरहन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।