उच्च हिमाली भूभागहरूमध्ये अति दुर्गम जिल्ला हुम्लाको उत्तरी भेगमा प्रचलनमा रहेको लोपोन्मुख बहुपति विवाह प्रथालाई मुख्य आधार बनाएर साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास हो “द्रौपदी अवशेष” । प्रचीन ढाँचाको बहुपति विवाहलाई द्रौपदी विवाह प्रथा पनि भनिन्छ ।

महाभारतकालीन समयमा द्रौपदीका पाँचओटा श्रीमान्‌हरू (पाँच पाण्डव) रहेको र महाभारतको युद्धपछि द्रौपदी सहित पाँच पाण्डव स्वर्ग जाने क्रममा यही उच्च हिमाल भूभाग हुँदै गएको कुरालाई मध्यनजर गरेर यस उपन्यासको नामकरण ‘द्रौपदी अवशेष’ राखिएको हुन सक्छ ।

यद्यपि यो उपन्यासमा बहुपति विवाहको मात्र नभएर त्यहाँको सम्पूर्ण कला, संस्कृति, परम्परा, प्रविधि, रहनसहन, भाषाशैली, वेशभूषा,  व्यवहार, चालचलन, लोकरीति, चाडपर्व लगाएर उच्च हिमाली भेगमा बसोबास गर्ने रैथाने बासिन्दाको दैनिक जीवन पद्धतीलाई हुबहु अक्षरमा उतारिएको छ ।

धुवाँकम आउने आधुनिक खाना पकाउने चुल्हो निर्माण गर्न भनी एक बिकासे पात्र दिग्विजय उच्च हिमाली भूभागमा पुगेको हुन्छ । उसैले स्थानीय व्यक्तिहरूसँग गरेको संवाद र अन्तःक्रियामार्फत उपल्लो भेगको सामाजिक सांस्कृतिक जीवनलाई पाठकसमक्ष प्रस्तुत गरिएको छ । साथै लेखिकाले  दिग्विजयमार्फत आफ्ना दार्शनिक भनाइ, तर्क र विचारहरूलाई समेत समावेश गरेकी छन् ।

संवादका क्रममा स्थानीय भाषाशैली र लवजको प्रयोग तथा भौगोलिक परिवेशका दृश्यहरूको वर्णनले उपन्यास पढिन्जेल पाठकलाई हिमाली भूभागमा आफैँ रहेर सबै कुरा देखेको भोगेको अनुभूति भइरहन्छ । उपन्यास पढिसकेपछि पनि त्यहाँको बासिन्दाले बाँच्नका लागि गरेका जीवनसङ्घर्षका कथाहरूले मथिङ्गलमा माथापच्ची भइरहन्छ । सानो देश नेपालभित्र पनि भौगोलिक बनावटले यति धेरै असमानता कसरी हुन सक्छ ? देश विकास गर्ने जिम्मा लिएका ठेकेदारहरूको यो विषयमा किन मौन छन् भन्ने कुराले मन पोलिरहन्छ ।

हिमाली भौगोलिक परिवेशबारे लामो समयको अध्ययन अनुसन्धान तथा स्थानीय बासिन्दासँगको अन्तःक्रिया, स्थलगत भ्रमण, तत्सम्बधी विषयमा पारङ्गत व्यक्तिहरूको अनुभव, सञ्चारमाध्यममा प्रकाशित लेख, निबन्धहरूको सहयोगमा तयार गरिएको यो उपन्यासमा हिमाली जनजीवन र सम्पूर्ण संस्कृतिलाई उतार्न सफल रहेको छ ।

उपन्यास हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित भएकाले उपन्यासको औपचारिक विमोचन पनि उच्च हिमाली भूभाग हुम्लाको नाम्खा गाउँमा स्थानीय बासिन्दाको उपस्थितिमा भएको थियो ।

उच्च हिमाली संस्कृतिको विषयमा खोजअनुसन्धान गर्ने जोकोहीलाई पनि यो उपन्यास उपयोगी हुन सक्छ साथै हिमाली जनजीवनबारे बुझ्न र त्यहाँको सामाजिक सांस्कृतिक जीवनबारे थाहा पाउन यो उपन्यासले सहयोग गर्दछ ।

बहुपति विवाह र यसले सामाजिक जीवनमा पारेको असर र प्रभावबारे उपन्यासमा विश्लेषण गरिएको छ । एकातिर बहुपति प्रथाको कारण नवविवाहित महिलाले भोग्नुपरेको कष्टकर जीवनका बारेमा केस्रा-केस्रा केलाइएको छ भने अर्कातिर बहुविवाहका कारणबाट भाइ-भाइमा अंशवण्ड गरेर जग्गाको बाँडफाँड गर्नु नपर्ने हुँदा जग्गाको खण्डीकरण हुनबाट जोगिएको रहस्य स्थानीयको कुरामार्फत झल्काइएको छ ।

खिम लामिछाने काजी

साथै विवाह गरी पठाइएको चेलीले घरका अन्य दाजु भाइहरूको समेत श्रीमती भएर बस्नुपर्ने सांस्कारिक बाध्यतालाई उपन्यासमा उजागार गरिएको छ । उपल्लो थलोमा बसोबास गर्ने नारीहरूको पीडा, व्यथा, वेदना, बाध्यता र विवशतालाई मिहिन तबरले उपन्यासमार्फत पाठकमाझ प्रस्तुत गरिएको छ । त्यसैगरी आफ्नै भाउजूलाई पत्नी स्वीकार गरेर बस्नुपर्ने भाइहरूको व्यथालाई समेत उपन्यासमा उल्लेख गरिएको छ ।

सहर बजारका मान्छेहरू हिमाली भेगमा घुम्न जान मरिहत्ते गर्छन् । त्यही हिमाली भेगमा बसोबास गर्ने मान्छेहरू भने सहरबजारतिर बसाइ सर्न खोजिरहेका हुन्छन् । विकट दूरदराजका गाउँमा घुम्न जानु र त्यही जीवनयापन गर्नुमा आकाश र जमिनको फरक हुन्छ भन्ने कुरा पनि उपन्यास पढ्दा थाहा हुन्छ ।

हिमाली भूभागमा बसोबास गर्ने हुनेखानेहरूले आफ्ना छोराछोरीलाई सहर, बजार तथा सदरमुकाममा पढ्न पठाउने गरेका हुन्छन् भने कतिले बसाइँ सराइ नै गरेका हुन्छन् । गरिब तथा नसक्नेहरूले आफ्ना सन्ततिलाई सहरमा पठाउने सपना पालेर बसेका हुन्छन् भन्ने यथार्तता उपन्यासमा दर्साइएको छ ।

आमापछिको मामा भन्ने उखानलाई चरितार्थ दिँदै यो उपन्यास पनि मामा ज्याल्गेनले आफ्नो भान्जाप्रति गरेको मायाँ, प्रेम, त्याग, तपस्या र कर्तव्यलाई देखाइएको छ ।

विवाहित महिलासँग बिहे गर्नाका लागि जारी तिर्नुपर्ने परम्पराबारे पनि उपन्यासमा उल्लेख गरिएको छ । एक पुरुषले विवाह गरी छाडेकी महिलालाई ग्याल्जेनले निकै मन पराउँछ । जारी तिर्न नसकेर बिहे गर्न सक्दैन । त्यसै क्रममा उसले भनेको कुराले पाठकको मन छोएर हृदयलाई भारी बनाउँछ । “मेरो मयाको के काम, सर ? खाली बाहिर-बहिर । न त हिउँपानीमा ओत । यही न्यानो नसक्न्या पहेलो घामजस्तो न हो, मेरो मया । उसको दुःख देखेर लेख आफैँसँग प्रश्न गर्छिन्, “देश सबै देशवासीको हो कि होइन ?”

पेमा­ र  नुर्बुबिचको प्रेमसम्बन्ध र त्यसपछि विकास हुने घटनाक्रमलाई ग्याल्जेनले दिएको जानकारीमार्फत उनीहरूको प्रेमजीवनलाई खोतल्दै जाने क्रममा दिग्विजय उसकी आफ्नै प्रेमिका सुलक्षणासँगको वियोगका बारेमा गरेको चिन्तन मनन गर्न पुग्छ । वाङ्दी वा ग्याल्जेनका भान्जाजस्ता न्यालुहरूको जीवनमार्फत आफ्नै टुहुरो जीवनसँग तुलना गर्न पुग्छ  ।

त्यसैगरी कलिलै उमेरमा छोरीको बिहे गरिदिने प्रचलन । गर्भावस्थामा समेत काम गरिरहनुपर्ने बाध्यता र धेरै कामको बोझले गर्भको शिशुको मृत्‍यु, मृत्‍युपछि गर्भवती महिलामा आउने पाठेघरसम्बन्धी अनेकौँ समस्या र सङ्क्रमणको कारणले बिरामी पर्ने अवस्था । बिरामीको उपचार गर्ने डाक्टर नर्सको अभाव भएकाले धामी झाँक्री र लामाकोमा निर्भर रहनुपर्ने बाध्यतात्मक स्थितिलाई लेखकले मार्मिक ढङ्गले प्रस्तुत गरेकी छन् । जसले हरेक पाठकको मन र मुटु छुनेछ ।

उपन्यास पढिरहँदा लेखराज गिरीद्वारा लिखित तथा सूरज पण्डितको स्वर र सङ्गीत रहेको “रेलको बाटो……” गीतको शब्द र भिडियोसँग ठ्याक्कै मिल्ने कथा यो उपन्यासमा पाइन्छ । जसरी “रेलको बाटो” गीत सुन्दा र हेर्दा मनमा अनेकौँ भावहरू उत्पन्न हुन्छन् दुरुस्त त्यस्तै भाव र अनुभूतिहरू यो उपन्यास पढ्दा हुन्छ ।

उपन्यासमा त्यहाँको पीडा र अभावलाई समेत उपन्यासमा विभिन्न किसिमबाट देखाइएको छ । जस्तै स्कुलको अभावमा केटाकेटीहरू पढ्नबाट वञ्चित छन् । मोटरबाटो, स्वास्थ्य संस्था, अस्पातल लगायत पूर्वधारहरूको अभावमा सामान्य रोगको समेत अपचार नपाएर थुप्रै मान्छेहरू अकालमा मर्नुपरेको तितो यथार्थलाई उपन्यासमार्फत देखाइएको छ ।

लेखकले उपल्लो थलोमा बसोबास गर्नेहरूको चाडबाड, पर्व, उत्सबहरूबारे समेत वर्णन गरेकी छन् । समान्य अवस्थामा गरगहना नलगाउने, सिँगारपटार नगर्नेहरू भोज भत्तेर बिहे, उत्सव आदि कार्यमा जाँदा भने गहनाले सजिएर जाने गर्दछन् । जोरीपारीका अगाडि गहना लगाउनुपर्छ भन्ने आडम्बरी संस्कार त्यहाँ पनि रहेको देखिन्छ ।

भाग्यमा विश्वास गर्ने सोझा सरल र दयालु प्रकृतिका हिमाली भेगका बासिन्दाहरूको न्यायनिसाफ छिन्ने काम मुखियाको हुन्छ । गाउँका झगडाहरू मुखियाद्वारा मिलाएको हुन्छ भने मुखियाबाट पनि कुराकचिलो नसल्टिएको अवस्थामा झगडालुहरूलाई चिग्यापकोमा पठाइन्छ । चिग्यापले झगडाहरूलाई गुम्बामा लिएर जान्छन् र धर्मका अगाडि कसम खुवाउन थाल्छन् । धर्मका अगाडि झगडालुहरू सत्य-सत्य कुराहरू बक्न थाल्दछन् ।

उपन्यास हालसालै लेखिएको भए तापनि गोलाप्रथाद्वारा आफ्नो कार्यक्षेत्रमा खटिन पुगेका बिकासे कार्यकर्ताले रिलवाला क्यामेरा बोकेको कुरा देखाइएको छ । यो डिजिटल युगमा सबैको हात-हातमा मोबाइल हुने समयमा किन रिलवाला क्यामेरा बोकेर गएको देखाइयो, यो मैले बुझ्न सकिनँ ।

जिम्बु, जटामसी, चिरायितो, बिरेनुन, निरमसी, जटामसी लगायताका जडीबुटी र वनौषधिहरू तथा सियो, खिपहुप, नरिवल, मिस्री लगायताका सामग्रीहरू पोकापुन्तुरा र बोरामा बोक्दै, महिला र पुरुष दुवैले लामो कपाल बाटेर, दोचा, बक्खुजस्ता कुर्कुच्चासम्म आउने न्याना लुगा लगाएर हाम्रो गाउँघरतिर आएर आफ्नो सामानसँग कोदो, चामल, धान साट्ने व्यापारीहरूको जीवनगाथालाई अक्षरमा उतारिएको छ ।

हाम्रा हजुरआमा, हजुरबा, बाआमाले कोदो धानसँग उनीहरूले ल्याएको नरिवल मिस्री, जिम्मु, बिरेनुन लगायतका समान साट्ने गर्दथे । एक प्रकारको वस्तु विनियम प्रणाली रहेको थियो । प्रायः गरी राम्रोसँग नफालिएको भुस मिसिएको कोदालाई उनीहरूसँग सामान साट्ने भनी छुट्याएर राख्ने गरेको दृश्यसहित आफ्नो बालापनको स्‍मृति ताजा भइरह्यो । साथै उनीहरूकै पछि लागी उनीहरूकै गाउँको भ्रमण गरिरहेजस्तो अनुभूति भइरह्यो ।

एउटा हिमाली क्षेत्रमा प्रचलनमा रहेको बहुपति प्रथाका बारेमा उपन्यासमार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक व्यवहारमा सीमित रहेको अलिखित र लोपोन्मुख सामाजिक संस्कारलाई लिखित साहित्यका रूपमा ढालेर संसारलाई देखाउने बुझाउने जुन प्रयत्न गरेकी छन् लेखिकाले, त्यो नेपाली साहित्यजगत्‌का लागि एउटा महत्त्वपूर्ण योगदान हो ।