तुन्द्रुङ्ग झुन्डिएको छ हजुरबाको खुर्पेटो
भित्ताको किलोमा,
एउटा गर्विलो इतिहास बोकेर।

हजुरबाको आँखाको पर्दा बिहानीको
भालेको डाँकसँगै खुल्थ्यो,
हुक्काको घाँटी थिच्दै फु..ऊ..फु..ऊ फु…गर्दै सल्काउनुहुन्थ्यो,
सख्खर सहितको बास्नादार, नसादार तम्बाखु
र हुत्याउनु हुन्थ्यो धुँवा दलिनतिर

चिहाउनु हुन्थ्यो फलैँचाबाट झुण्डिरहेको खुर्पेटोलाई,
एक्लै बोलिरहनु हुन्थ्यो ऊसँग
दुखेसो पोख्नु हुन्थ्यो
मुलाको सुकेका चानासँग साटेको पटुकी कस्नुहुन्थ्यो बेस्सरी
कम्मरमा,
भिर्नुहुन्थ्यो खुर्पेटो,
खुर्पेटोलाई नदुख्ने गरी खुर्पा घुसार्नुहुन्यो

हिजोको बासी ढिंडो थोरै नूनसँग खाएर निक्लनुहुन्थ्यो
खर काट्न खरबारीमा,
चिसो मौसम छ,
खुट्टामा देशी चप्पल छैन,
बाक्लो लुगा छैन,
छरछर रगत बगेको छ खुट्टाहरूबाट,
मुटु नै कक्रक्क पारिसक्यो,
हजुरबा यस्तै गुनासो गर्नुहुन्थ्यो खुर्पेटोसँग

खुर्पेटो बुझेझैँ, बोलेझैँ गरेर
खत्र्याकखत्र्याक गर्दैछ
हजुरबाका दुःख र सुखको साक्षी ऊबाहेक कोही छैन

म हेरिरहेछु ती सब दृष्यहरू,
सुनिरहेछु हजुरबाका गन्थन, गुनासाहरू
अनि खुर्पेटोसँगका वार्तालाप

हजुरबा एक्कासि खस्नुभयो
कहिल्यै नफर्किने गरी यो लोकबाट
म झसङ्ग हुन्छु
ब्युझन्छु
मेरो सिरानीमाथि झुन्डिएको घडी
जहाँ खुर्पेटो झुन्डिएको थियो
खत्र्याक् खत्र्याक् सुईहरू गरिरहेछन्,
खुर्पेटोको आत्माझैँ लाग्यो,
मन भयले आत्तिदै थियो

अहो ! भाले बास्यो उस्तैगरी
उठेँ कलम भिरेँ गोजिटोका
लेख्न खोजेँ इतिहास हजुरबाहरूको,
एक्कासि आकाशवाणी हुन्छ,
कसरी ? लेख्न सक्छस् हँ तैले हाम्रो इतिहास
तँलाई समयले लिलाम गरिसक्यो,
तँ जवानीमै बूढो भइसकिस्।