भट्टराई जेठोले सोधे- दुलाल कान्छालाई
बाबु कोसँग बस्छन् भाइ?
उसले भन्यो
बाबु माइला दाइसँग बस्छन्
बाबुको अंश उसैले लिएको छ

गोदार माइलालाई सोधे- हजुरको बाबु कोसँग बस्नुहुन्छ
उसले भन्यो
हाम्रो बाबु त कान्छा भाइसँग बस्नुहुन्छ
अनि आमा ?
आमा ठूलेसँग बस्नुहुन्छ
अनि आमाबाबु अलगैअलगै बस्नुहुन्छ त?
हो त
कुरा मिल्दैन कसैको अनि !

पाख्रिङ जेठालाई सोधेको-
बाबुआमा दुवै साइँला भाइसँग बस्छन्
भेट्न जान्छु म पनि बेलाबखत
स्पष्ट पार्यो उस्ले

अब मलाई सोध्ने पालो आयो
सोध्यो भट्टराई जेठाले: अन्तरे, तेरा बाबु कोसँग बस्नुहुन्छ
निकै बेर सोच्नुपर्यो मैले
बोली निस्किएन मेरो
झरे आँखाबाट आँशू
याद आयो बाबुले सानामा अम्लो समातेर डुलाउनुभएको
साइकलको पछाडि चढाएर
अस्पताल लानुभएको
स्कूलमा नाम भर्ती गर्नुभएको
गीता र रामायण पढाउनुभएको
नीति शिक्षा सिकाउनुभएको
बरु मागेर खानू, कहिल्यै चोरी नगर्नू छोरा भनेको
मेरो पालो आयो,भन्नु नै पर्ने रे मैले
गला फुलाएर मैले भनेँ-
बाबु कोहीसँग बस्नुहुन्न
हामी बाबुसँग बस्छौँ

भट्टराई जेठो खोलातिर गयो
म गोठतिर चल्दिएँ
प्रश्न सोध्न नजानेको हो कि
मैले भन्न नजानेको !

जन्तरे गुरुबा छेउमै हुनुहुन्थ्यो
“असल कुरा भन्यो अन्तरेले” भन्दै
हरिभक्त बाकोमा श्राद्ध पढ्न जानुभयो

हजुर म बाबुसँगै बस्छु
म बाइचान्स विदेश गएँ भने
कान्छो भाइ बाबुसँग छँदैछ।
******

गुवाहाटी, असम