पुरुषोत्तम उपाध्याय दाहाल (गुवाहाटी)

ऊ आज म्लान र अबोल छ
पुरानो र नयाँ दसैँको फरक देखेर
के थियो चहलपहल उहिले
मौसम आभा आभा हुन थाल्यो
मिठो मसिनो बटुल्न हम्मे हम्मे
के सोच्दो होला आजको तामझाम देखेर दसैँ ?
कठैबरा ! दसैँ ।

बाबु ऋण लिन साहुकामा
आमा कर्केनी आमैकामा
सापट केही दिनु हुन्छ कि ?
नाति आमैलाई सानो गाडी र पेस्तोल भन्छ
हिजो आज त अरिजिनल पो
खेलाउँछन् गाडी र पेस्तोल ठिटाठिटीहरू
छक्क पर्दो हो अहिलेको माहौल देखेर
कठैबरा ! दसैँ ।

ढिकीको मुसलको निम्ति नयाँ काठ
खोजी रहेछ दुलाल साइँलो
एउटा ढिकीमा निरन्तर कार्य
गाउँका मानिसहरू
तैँ छाड कि मैँ छाड
दिन रात चल्छ ऊ
बनाउँछ चिउरा पातलो, बाक्लो
मसिनो अनेकौँ धानको
भुट्न व्यस्त, प्रेमालाप, कति हो कति कथा
अहिले रहेन पुरानो रौनक
कठैबरा ! दसैँ ।

खसी,बाख्रा, च्याङरो तान्दै लगेको दृश्य
सप्तमी र अष्टमीमा बलि दिएर
बोकाको निकैवटा टाउको
बोकेर घर ल्याएको धामी कान्छाले
बजारमा नयाँ लुगाको निम्ति
लिडेँढिपी गरिरहेका नानीहरू
गरीबहरू साहुको भरमा
धनीहरू ब्याजको स्तरमा
निष्प्राण देख्छ अहिले माहौल ऊ
सपना भए ती दृश्य
कठैबरा ! दसैँ ।

लिङ्गे पिङमा पालो पालो
मच्चिएको पिङ माथिबाट नै नजर
तल भूमण्डलमा प्रेमिका
विहङ्गम दृश्य, प्रेमिल माहौलको
दशमीको दिनै टिको लगाएर
यात्रा सुरु परदेशको, वृद्ध आमाबाबुको
दर्शन र आशीर्वादको अभिलाषा
देख्दैन हिजो आजको दसैँले सायद
कठैबरा ! दसैँ ।

ढिँडो, घाङ्ग्रा, मकै, कोदो साथै
मासु बेगर नै फुको चिउराले चाड कटाएको
त्यो गरिबी देखेन अहिलेको दसैँले
कठैबरा ! दसैँ ।

 

गुवाहाटी