कविता : आँखा भिजाउने कथाहरू

पुरुषोत्तम उपाध्याय दाहाल (गुवाहाटी)

मसँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

गर्भवती बीस वर्षकी नाम राधिका

बेथा लागेपछि त्यो भित्री गाउँमा

उपचारको व्यवस्था थिएन त्यसबेला

सानो सहरको अस्पताल झोलुङ्गामा लाँदा

बाटैमा खसिन बिचरा !

दाह-संस्कार गर्दा पनि सानो बालख

काटेर निकालेर अलग्गै गर्नु पर्ने नीति

मैले देखेँ दुइटा लास दुई आँखाले म सानो हुँदा ।

 

मसँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

दुलाल माइलो मेरो साथी

तीजमा दिदीलाई लिएर घर आएको

तिर्खा लागेर दिदी छेवैको ब्रह्मपुत्र नदीमा

पानी पिउन गएकी, चिप्लिन बिचरी दिदी

भाइ बचाउन गयो, बगे दुवै

भेटिएन दुवैको लास ।

 

मसँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

गरिबीको चरम समय, बर्सेनी बाढ़ी आउने ठाउँ

बिहान घाङ्ग्रा र मकै उसिनेर खायो

बेलुकी फर्सी उसिनेर खाई सुत्यो

अन्न थिएन घरमा रत्तिभर उनीहरुको

देखेकै हो यो दुई आँखाले ।

 

मसँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

गोदारबाकी कान्छी छोरी

पच्चीस वर्षकी

अझै महिनाबारी भएको छैन

कति ओखति-मूलो गरे

हलका गोरु बेचे, घडेरी बेचे

केही भएन, भाटोसरी भए आमा-बाबु

छोरीको चिन्ताले सताइरहेको

सकेन देख्न मेरो आँखाले ।

 

म सँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

बाँझी भने गाउँलेहरुले

ठिटा केटाहरु जिस्काउने गरे

भएनन् नानी-केटाकेटी, अर्को बिहे गरे श्रीमानले

घर छोडी वृन्दावन गएको दिन, खत्रीनी आमै

मेरो आँखामा झल्झली याद आउने गर्छिन् ।

 

म सँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

ब्रह्मपुत्र नदीमा दूधको नौका पल्टियो

नौ जना मानिसहरू थिए नौकामा

दुइजना गए बगेर कता हो कता !

अरूले पौडेर जसैतसै प्राण बचाए

बुबा मृतकको घरमा गरूण भन्न जाने

मलाई पनि लानु हुन्थ्यो कहिलेकाहीँ ।

 

म सँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !

 

लैनो गाई “गौरी” अचानक मर्दा

आमा रोएको

हलको गोरु “कथुरे “अचानक मर्दा

बुबा रोएको

हाम्रो घरमा डाका लागेपछि

गाउँघर रोएको

हलो जोत्दै गर्दा बज्र लागेर

मेरो साथी रमण मरेको

बैङ्कमा डाका लागेर म घायल भएको

अनेकौं  कथाहरु छन् ज्वलन्त यी दुई आँखाहरूमा

कुन भनौं, कुन नभनौँ ?

दुखित छन् यी मेरा नयनहरु

निस्ताइरहन्छन् सधैँ यादहरुले

कति बोकोस् स्मृतिका लहरहरु !

 

म सँग थुप्रै कथाहरु छन्

एउटा कथा भन्ने समय छ

लौ भन कुन कथा सुनाऊँ !