नरोक्नू तिम्रो यात्रा
यदि कुनै गन्तव्य पुग्ने संकल्प गरेको छ
बीच बाटोमै यात्रा रोकिनाले हो शिखर नचुमेको

बग्दा बग्दै रोकियो भने पानी
समुन्द्र सित समागम हुन सम्भव हुँदैन
सागरको गहिराई नबुझ्दै अन्त्य हुनेछ बगाईको लय

नरोक्नू तिम्रा पाइलाहरू
यदि थाकेर पाइतालाहरू बीचमै रोकिएको भए
टेक्दैनथे टेन्जिङ्ग/एडमण्ड/पासाङ्ग ल्हामुले सगरमाथा शिखर

नरोकियोस् उडेका वाष्पहरू
उड्दै उड्दै आकाशमा ठोक्किन पुग्दछन्
थोपा थोपा बनेर पुन: बर्सिनेछन् यही धर्तीमा

नउखेल्नू अङ्कुराउँदैका मुनाहरू
बढ्न दिनू आकाश छुने लक्ष्य लिएर
निर्वाध फुल्नेछन् बैँस लहरमा स्वेच्छाले
डाली नुघाउँदै लटरम्म फल्नेछन् परिपुष्ट फसल
र जीवन्त जिउनेछन् जीवात्माहरू

नरोक्नू तिमीले सपना देख्न
यदि चाख्नु छ सफलताको स्वाद र अनुभूतिहरू
सपना बिनाको जिन्दगी जिउनु,जीवित रहनु मात्र हो

आओ जिउँदा मान्छेहरू हो !
जीवनको सारतत्त्व खोज्न अनन्त यात्रामा निस्काऔं
जिउनुको अर्थ खोज्नुछ जिउँदा सम्म
जिन्दगी रहँदा सम्ममा जीवनको सार्थकता पहिल्याउनुपर्छ

नरोक्नू तिम्रा इन्द्रियका क्रियाहरू
कदाचित्, केही मिनेट श्वासप्रश्वास रोकिनाले हो
सिङ्गो जिन्दगीले मर्त्यलोकबाट विश्राम लिने ।
——–

निस्दी गाउँपालिका-६ अर्चले,पाल्पा