गमक्क उभिरहेको छ पहाड
त्यसकै समीप उभिदिन्छु अर्को पहाड
र मुस्कुराउँछु आत्मियपनले

म पहाड जोगाऔं अभियानमा छु
मेरो माग हो- पहाडलाई पहाडै रहन दिनुपर्छ

पहाड सँगै उभिरहेको बेला
गोप्य योजना बनाउँदै आए एक हूल दलालहरू
जो रातारात पहाड बेच्ने कुरा गर्दै थिए

जब मेरो नजिक आए
कसैले पागल भन्न थाले-
यो जासूस हुन सक्छ
यसले जासूसी गर्न सक्छ

एकैछिन पछि आए
पहाडको छाती चिर्दै जेसीबी र डोजरहरू
म कसरी सहन सक्छु पहाडको भयभीत क्रन्दन ?
के म मुखमा पट्टी बाँधेर बस्नू ?
र औंला उठाएँ पहाड बनेर

रूखसित बात मार्दै थिएँ
फूलको सुगन्धमा मुग्ध
संगीतको सुसेली धून कानमा गुञ्जिन आइपुग्यो
र मगजमा बज्न थाल्यो झन्कार

मैले प्रस्ताव पेश गरेको हुँ
शुद्ध अक्सिजनको उत्पादन बढाउन
कार्बनडाइअक्साइड उत्सर्जन गर्न

एक हूल मान्छेहरूले धन्क्याउँदै भने-
किन बर्बराउँदैछस् पागल ?

तिनीहरू भटाभट रूख ढाल्न थाले
नयाँ बस्तीको योजना बिस्तारको नाममा
मजगमा आगोको मुस्लो उठ्यो
हानिदिएँ प्रश्नको तीर-
किन रेट्दैछौ आफ्नै घाँटी ?
किन निकाल्दैछौ आफ्नै फोक्सो ?
जवाफ आयो-
हाम्रो बृहत् योजनाबारे तँ पागललाई के थाहा ?

म नदी छेऊमा उभिएको छु
सुस्तरी बात मार्दै थिएँ नदीसँगै
बगिरहेको तरेली सँगसँगै बगिरहेको थिएँ
पानीको छालहरूले संगीत कम्पोज गर्दै थिएँ
र सुरम्य सुर मनको कुनाकन्दरा गुञ्जिन आउँथ्यो

नदीलाई सम्झाउँदै थिएँ-
धेरै उत्ताउलो नबन्नू, बैँशालु जोश सम्हालेर बग्नू
उखरमाउलो उर्लेको भेल क्षणिक हुन्छ
निरन्तर बग्ने जरुवाले जीवन्त लय समाउँछ

त्यही बेला आए
केही शंकस्पद मान्छेहरू
मुख कालो मास्कले छोपेर
र भन्न थाले-
हत्तेरिका ! यो त पागल रहेछ
दायाँबायाँ पल्याकपुलुक हेर्दै
खन्याए पानीमा- जर्किनका जर्किन जहर

हरे !
म कसरी हेर्न सक्छु पानीको धुमिलपन ?
कसरी सुन्न सक्छु जलाचारको चित्कारहरू
मेरो औंला यन्त्रवत खडा भए

उल्टै चेतावानी दिँदै भने-
तैँले हेरिस् ! तेरो आँखा निकालिदिन्छौं
तैँले बोलिस् भने तेरो जिब्रो थुतिदिन्छु

सरर… बहँदै थियो बतास
बताससित कानेखुसी गर्दै थिएँ
लज्जाले सुस्तरी स्पर्श गर्दै गएँ बतासलाई
बतासले- उल्टै निर्लज्ज स्पर्श गरे मेरा अवयवहरू
सुई..सुई..मधुरी सुरले मनै झङ्कृत गरायो

सम्झाएको हुँ बतासलाई-
तिमी स्वच्छ अक्सिजन लिएर बहनू
वायुमण्डलमा दुर्गन्धको हरक बोकेर विष नमिसाउनू
उन्मत्तता नदर्साउनू, बलको झोंक र घमण्डमा
उचाई लिएको अहङ्कारी बेलून आकाशमै फुट्नुपर्छ

उत्तिनै बेला-
केही अराजक भीडले गराए आगो र चुरोटको मिलन
आगोले वनजङ्गल निलेर धुवाँ आकाश छुन उडे
चुरोट भन्दा भयङ्कर छिटो जल्दोरहेछ वन

कुनै कुनै मिलन संयोगान्त नहुने रहेछ
आगो र चुरोटको मिलनले धेरै चिजको बिछोड गराउँछ
माटो र वनस्पति जीवनचक्रको विछोड
चरा र गुँडको, आमा र बचेराको विछोड
फोक्सो र अक्सिजन बीचको विछोड
कालान्तरमा जीवन र मृत्युको मिलन

यावत् अनपेक्षित् दृश्यहरूले
उदेक र हैरानीमा पारिदियो मलाई
मगजको रेशा रेशामा उद्वेलनको बाढी आयो

कसरी भत्काउन सक्छ आफूले ओत पाएको घर
कति कठोरता चाहिन्छ आफ्नै शरीरमा आगो झोस्न
कसरी सकेका रगतमा विष निषेचन गरी क्षणिक रमाउन
कति सम्भव छ हृदय र रगतको बिछोडपछि जिउँदो रहन
कस्तो मूर्खता आगोभित्र शितलता ताप्ने चाहना ?

तिनीहरू कलियुगका कालिदास थिए
तिनीहरूले नै देखाएका हुन् पागलपना

जुन दिन तिनीहरूको पागलपना देखेँ
मन र शान्तिबीच बिछोड भएको छ
निद्रा र आँखाको सम्बन्ध विच्छेद हुँदैछ
लामो समयदेखि भोकहरू मौन छन्

हे ! कलिदासहरू हो
हे ! अराजकतावादीहरू हो
तिमी मात्र छैनौ यो पृथ्वीमा
तिमी पनि बाँच र अरूलाई पनि बाँच्न देऊ
एकचोटी सहअस्तित्वको पाठ गहिरिएर पढ

म पागल थिएन
प्रकृतिको विचरण गर्दै थिएँ
तिमीहरूको पागलपना देखेपछि
मलाई समेत- यथार्थ पागल बनाउँदैछौ ।

————-
निस्दी गाउँपालिका- ६ अर्चले
पाल्पा