म ननिदाउन सक्छु
तिम्रो सपना पूरा गरिदिन
म आँसुले रुझिदिन तयार छु
तिम्रो आकाङ्क्षा नबगाई दिन
म हाँसी दिन सक्छु
हजार चोटहरू लुकाएर
तिम्रो खुसीको मुल फुटाईदिन
नबिझून् काँडाले पैतालामा
म हत्केला बिछ्याईदिन तयार छु
म तिम्रो दुखाईको चीत्कार सुन्न सक्दिनँ
म बगिदिन सक्छु
तिम्रो सुख,दु:खको लय संगै
म चाहन्छु, तिमीलाई कष्टको अनुभूत नहोस्
म जलिरहन तयार छु
तिम्रो भविष्य उज्यालो पार्न
जसरी मैनबत्ती जलेर आफै विलीन हुनेगर्छ
झारी दिन नसकूँला
तिम्रो लागि आकाशको जून
तर मनको संसार उज्यालो बनाउने प्रयास रहनेछ
टिपी ल्याउन नसकूँला
सागरको अनन्त गहिराईबाट मोतीका दानाहरू
तर तिम्रो मुहारमा हीरा मोतीका चमक ल्याउन कोसिस गर्नेछु
आऊ मेरो समीप
तिमी रमाउनू पुलकित पुतली झैँ फुरफुर उड्दै
एउटा विशाल मनोरम बगैँचा बनेर
लमतन्न बिछ्याईदिउँला यो छाती तिम्रो लागि
मनको डुङ्गामा सयर गर्दै रमाउनू तिमी
म बनिदिउँला फराकिलो रारा र फेवाताल
पौडीरहनू खुसीका तरङ्गहरू संगै
म बहिदिउँला तरङ्गका लहर फैलाउँदै
बिहानीको लालिमा हिमाल बनिदिन्छु
तिम्रो पिपलपाते ओठमा मुस्कान फुलाउन
म देख्न चाहन्छु- तिमी मन्द मुस्कुराएको
तिम्रो मुहारमा मुस्कान फुलेको बहुत सुहाउँछ
तिम्रो श्रवणमा गुञ्जिरहने मधुर ध्वनि
बहिरहूँला सिरसिर मन्द बतास
सुसाईरहूँला संगीत खोलानाला र झरना बनेर
म ननिदाउन सक्छु
तिम्रो सपना पूरा गरिदिन
तर एउटा प्रतिज्ञा गर
तिम्रो सपना पूरा भएपछि
तिमीले गन्तव्यको शिखर चुमिसकेपछि
भुल्न हुँदैन, तिम्रो शुरुवाती पाईलाको आरम्भ बिन्दु
तिमीले टेकेर गएको माटो र पैतालाका डोबहरू
भविष्यमा
एउटा आदर्श पथ बन्नेछ
नव पुस्ताहरूका लागि
तिमीले पहिल्याएका संघर्षका मार्गहरू
तिम्रो भोगाईका कथा-पटकथाहरू
तिमी पुगेको गन्तव्य र चुमेका शिखर
र तिम्रो सफलताका कथाहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ असार २०८३, शनिबार 










