बर्सिन्छ आकाशे पानी
मेघ गर्जिँदै आकाशबाट
धर्तीको काय लछप्पै रुझाएर
बर्सिन दिनू
धर्ती सिञ्चिनेछ
वायु मण्डल स्वच्छ बन्नेछ
वनस्पति जगत लहरिनेछ खुसीले
तिमी देख्छौ-
केवल बर्सिरहेको पानी
तर भुलिदिन्छौ
ताप दिने घामको भूमिका
जमिनबाट आकाशिएको वाष्पको महत्त्व
विशाल वायु मण्डलभित्र
कण कण वाष्प र तापको समागम हुन्छ
बन्दछ आकाशमा पानी
र
बर्सिने गर्दछ धर्तीमा- थोपा थोपा
म उसैगरी देख्ने गर्छु-
नारी र पुरूष- वाष्प र तापजस्तो
वाष्प र तापको समागमपछि जसरी बर्सिन्छ थोपा
नारी र पुरूषको प्रणयनले चल्दछ सिङ्गो सृष्टि
यो सिङ्गो सृष्टि-
चलिरहेको छ- नारी र पुरूषको सहअस्तित्वले
पुरूषको अनुपस्थितिमा- असम्भव प्राय; छ
नारीको अनुपस्थितिमा- शून्यतामा रोकिनेछ सृष्टि
नारी एक आम मान्छे मात्रै होइन
सृष्टिकर्ता जननी पनि हुन्
नारी- उर्वर धरा जस्ती हुन्
यिनै महान् नारीलाई-
क्याटवाकको प्रतियोगी मात्रै नदेख्नू
शोकेशमा सजाएको वस्तुसित नदाँज्नू
सेवा दिने विलासी गुडिया मात्रै नसोँच्नू
जसको मस्तिष्कमा भरिएको छ
पितृसत्ताको अहङ्कार र दम्भ
नारीलाई पिँजडामै देख्न चाहन्छ
र आफ्नै रिमोट कन्ट्रोलमा नचाउन चाहन्छ
पोखरीमा पानी थुने जस्तै
थुनि राख्न चाहन्छ नारीलाई
जसको प्रवृत्ति सलल बग्नु छ र बगिरहन मनपर्छ
संस्कार र परम्पराको बन्धनहरू
बाँधिदिए पनि स्वतन्त्रतामा साङ्लोले
निमोठिए पनि निस्सासिले गरि घाँटीमा
नारीले आफ्नो हकको श्वास फेर्न ल्याकत राख्छ
तिमीले श्वास फेरिरहे जस्तै
मैले पनि फेर्न पाउनु पर्छ
महाशय,
तिमी सोच्दो हो-
यो ब्रह्माण्ड पुरुषको मात्रै हो
तिम्रो जति नै, नारीको पनि हक छ
यो आधा आकाश नारीको पनि हो
यो कदापि नबिर्सनू-
नारी र पुरुष- सहअस्तित्वमा चलेको छ ।
पाल्पा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










