प्रिय छोरी मान्छे
तिमी जन्मियौ लक्ष्मीको रुप लिएर
तिम्रो आगमनले धपक्कै बल्यो घर
खुशीयाली छायो सारा गाउँघर टोल छिमेक

कोपिला हुँदै फक्रिएर जाँदा
तिम्रो सौन्दर्य सुवासको बयान चल्न थाल्छ

प्रिय छोरी मान्छे-
तिमी जन्मिएको गाउँ सहर
तिमी हुर्किँदै यौवनास्था आएको समाजमा
मठमन्दिर/गुम्बा/मस्जिद/चर्चहरू पनि छन्
देवी/देवता/अल्लाह/यशु हरूका आत्मा पनि बस्छन्

शान्ति मिल्ने चौतारीहरू पनि छन्
सेवा गर्ने धर्मात्मीहरू पनि बस्छन्

प्रिय छोरी मान्छे
तर तिमी ढुक्क नहुनू
तिम्रो आफ्नै बाहेक- सतप्रतिशत विश्वास कसैको नगर्नू
किनकि
मन्दिरको पुजारीले नै हत्या गरेको घटनाहरू छन्
गुम्बा भित्रै भिक्षुहरू मारामार भएको उदाहरणहरू छन्
मस्जिदभित्रै हज गर्नेहरू किच्दा मारेको घट्नाहरू छन्

यो समाजमा-
अनेक थरिका दैत्यहरूको पनि बास छ
धेरै खालका विषाक्त सर्पहरू पालेका हुन्छन्
धेरै किसिमका झुसिलकीराहरू लिएर डुलेका हुन्छन्

यो समाजमा फैलिँदै गएको दैत्य मनस्थितिले
तिम्रो सौन्दर्यमा पागलपना देखाउन थाल्छन्
तिमीलाई भोग गर्न लालायित हुन्छन्

ख्याल गर्नू
तिम्रो सौन्दर्य नै तिमीलाई हानिकारक हुन सक्छ
तिम्रो कुरुपता पनि तिम्रै लागि यमराज बन्न सक्छ

प्रिय छोरी मान्छे-
तिमी आफैँलाई निखार्नू
तिम्रो बौद्धिकतालाई तिखार्नू
तिम्रो आत्मरक्षाको लागि तयारी हुनू/गर्नू

कि त तिमीले पनि
जादूमयी मोहनीमा फसाउन सक्नू
जस्तो कि-
– भेनस फ्लाई ट्र्याप
– कोब्रा लिली
– बटरवर्ट
ती फूलहरूले कीराहरूलाई फसाएर आहारा बनाउँछन्

कदाचित् !
तिम्रो अस्वीकृतिमै
तिम्रो फ्राक/जामा र फरिया भित्र
दैत्यहरूले झुसिलकीराहरू पसाउन थाले
तिमी “बाबा” भन्दै पुकारेर रोएर नबस्नू
ती झुसिलकीराहरूलाई टिप्दै ढुङ्गामा पछार्ने हिम्मत गर्नू

कदाचित् !
विषाक्त सर्प- दुलो खोज्दै तिम्रो तिघ्रातिर सर्किदै आए
तिमी “आमा” भन्दै चिच्च्याहटमा तड्पिएर नबस्नू
दाँतहरू किट्नू र साहस बटुल्नू
अनि
क्रोधित सर्पका फणामुनि घाँटीमा च्याप्प समाएर हत्या गरिदिनू

तिम्रो अनिच्छित- दुलोभित्र सर्प पसिहाल्यो भने
यो समाजले अनकन्टारमा बलात्कृत तिम्रो लाश भेटिनेछ
अन्यथा तिमीले यो समाजमा जिउँदो लाश भएर बाँच्नु पर्नेछ ।

निस्दीगाउँपालिका- ६ अर्चले, पाल्पा