म हुर्किंदै गर्दा मेरा बा
मलाई हुर्काउँदै हुनुहुथ्यो
म जवान हुँदा मेरा बा
आफ्नो जवानी मलाई
हुर्काउन सक्दै हुनुहुन्थ्यो
बा’को जवानी सकिँदा
मेरो जवानी खुब मात्तिएको थियो
मेरा बा’का सपना भने
झन् थिचिँदै थिएँ
म मस्त र खुसी हुन चाहन्थेँ
मलाई बा’को आँखामा
नबग्ने आँशु हुन्छ भन्ने थाहा थिएन
मिहिनेत गर्दागर्दै शरीर थाक्छ भन्ने
हेक्का रहेन
मेरो मुटु नदुखाउन बा’को मुटु पत्थर भएको
मलाई कहिल्यै अनुभव भएन
न बा’ले मलाई मेरो सुखमा कमी गर्नुभयो
न मैले बा’को दुःखको बारेमा प्रश्न गरेँ
न बा’ले दुःख पोख्नु भयो
न मैलेँ बा’को बारेमा सोधखोज गरेँ
म आफ्नै खुशियालीमा बाँचिरहेँ
बा’को पसिनामा नुहाइरहेँ
बा’को परिश्रमको दुखाइमा
म सधैँ खुसी रहेँ
शायद सँगै हाँस्न खेल्न पाएको भए
बा’को दुखाई बुझ्थेँ होला
बा’का आखाँमा नबग्ने आँशु पढ्थेँ होला
यो परदेशी लम्बाइले
बा’लाई रुवाई रह्यो
मलाई हँसाई रह्यो
मलाई मेरो जीवनको
दुःख बुझ्ने अवसर दिएन
बा’लाई सुख के हो थाहा भएन
बा अहिले स्वदेशमा
वैदेशिक पीडाका बिमारी लिएर
बिस्तारामा लम्पसार हुनुहुन्छ
म बा’का दुःख बुझ्दै छु
म बा’सँगै बस्न चाहन्छु
अहिले म नबग्ने आँशु रोएको छु
यो कस्तो अवस्था?
बिस्तरामा बा’लाई छोडेर
बा’कै दुःखकष्टबाट कमाइएको धन बोक्दै
विदेशी पढ्न जाने भएको छु!
तानसेन, पाल्पा
हालः कुवेत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










