एकाबिहानै
रेडियोले फुक्यो-
गन्तव्यमा दौडिरहेको बस
अनियन्त्रित भएर नदीमा खस्यो
धेरै यात्रुहरूले अकालमा मृत्यु वरण गरे
मान्छेहरूले भने- “भवितव्यमा परेछन्”
दैवको लीला !

समाचारपत्रले मुख्य पृष्ठमा
एउटा हृदय विदारक तस्बिर छाप्यो
र लेख्यो-
“सडक दुर्घटनामा पैदल यात्रीको वीभत्स मृत्यु”
मान्छेहरूले भने – “बिचरा ! नियतिले चुँडेर लगेछ ”
दैवको लीला !

भीषण बाढीले
एउटा पुरै बस्ती नै बगायो
हजारौँ विस्थापित भए
मान्छेहरूले भने – “हुने हुनामी टारेर टर्दैन’”
दैवको लीला !

महामारीको सङ्क्रमणले पुरै गाउँ आक्रान्त थियो
जान्ने बुझ्नेहरूले भने – “मान्छेहरू अधर्मी हुँदै गए”
दैवको लीला !

एवम् रीतले …

कोही धरापमा परे
कोही एम्बुसमा परे
कोही चेपुवामा परे
कोही भिडन्तमा मरे

मर्नेहरू मरेर गए कोही फर्किएनन्
बाँच्नेहरू लाचार भएर रमिता हेरिरहे
मान्छेहरू संवेदनाहीन र चेतना विहीन थिए

सबैले आफ्नो -आफ्नो भाग भोग र
प्रारब्धलाई दोष दिए

गम्भीरतापूर्वक कसैले विश्लेषण गरेनन्
समस्या प्रति कोही संवेदनशील थिएनन्
विपत्तिको कहर निरन्तर चलिरह्यो

त्यो देशमा सरकार थिएन
त्यहाँ सबै कुरा दैव मार्फत नै हुन्थ्यो
मान्छेहरू दैवकै शरणमा थिए ।

°°°°
हेटौंडा-४