म आफ्नो मस्तक हिन्द महासागरको बगरमा राखी
खोजिरहेछु मरूभूमिको तातो भूगर्भभित्र
त्यसैले कहिले कसैलाई म पागल
कसैलाई म सन्काहा
कसैलाई घमण्डी लाग्ने गर्छु
पागल ,सन्काहा र घमण्डी भनिएको भए पनि
वास्तवमा म कहिलेकाहीँ म हुने गर्छु
र कहिलेकाहीँ सबैको खुसीको कामना गर्दागर्दै म आफू हुन पाउँदिन
समाजको परिबन्धमा फसेको एक कैदी नभएर
बिना बर्दीको सैनिक भएर
लड्दालड्दै मरे पनि अर्को पल राम्रो हुने आसमा चलाउनुपर्ने रहेछ सास
म गरिरहेको छु यही एउटा मात्र काम
निरन्तर यही
निरन्तर यहीँ
म खोज्नेगर्छु कहिलेकाही चिसा एस्ट्रेहरूमा बाफिलो आस
अनि रित्ता बियर बोटलहरूमा चिसो नसा
र त मलाई भग्नचेत भएको पागल भनी बोलाइन्छ
म हाँस्नेगर्छु र झार्छु आँसु
म रुन्छु अनि छोड्नेगर्छु खित्का – नमिलेका मेरा दाँत देखाउँदै
अब झर्न बाँकी यो दाँत र मर्न बाँकी आत्मा बाहेक केही छैन मसँग
लाग्छ कुनै मन्चमा उभिएकैबेला लेखिनेछ देहावसान
र अन्त्य हुनेछ एउटा कहानी
एउटा जिन्दगानी
money , name , fame blah blah blah
सिंगो संसार यसैको पछि छ – because power rules
तर कुरिरहेको छु म आफ्नै अन्तिम पल
यतिबिघ्न प्रतीक्षा त कसैले आफ्नो शत्रुको पनि गर्दैन
– म गर्छु
गर्छु मृत्युको प्रतीक्षा किनकि मलाई जित्नुछ
एउटा यस्तो जित जहाँ कसैको हार हुनेछैन
बरु हुनेछ यहाँ हरेक धावकको गलामा सम्मानको हार
र हुनेछ सपनालाई गन्तव्यसम्म पुर्याउने super fast lamborghini car
किनकि स्वाभिमानले जित्छ दौड
किनकि स्वाभिमानीले लेखेर छोड्छ इतिहास
आउनुस् मेरो पागलपनको उन्मादलाई साथ दिन
हिन्द सागरमा बग्दै गएको मेरो चेत यहीँको धर्ती उत्खनन गरी झिकौं
आखिर गाडिएको हो मेरो साल नाल यही धर्तीको गर्भमा
र मिल्ने नै हो भोलि यहीँ अस्तु पनि अन्त्यमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










