हिरासतमा लिएर आफैँलाई कैद गर्न मन छ
– नजन्मिएको अभियोग लगाएर

र थुनछेक बहसमा यति सोध्नुछ
३२ औं वर्षसम्म कसैको मस्तिष्कमा किल बनेर गढेको किन ?
अनि आँखाको डिलमा लागेको आँसुको कालो लेउ नपुछ्नुको कारण के ?

जब समयमा लाग्दैन ओखती के कामको त्यो
बरु विष पिलाए हुने हो दिनहुँ मार्नु भन्दा
सोच्दाहुन् मेरा बा यसैगरी
सोच्नुपर्छ किनकि हुर्काइरहेका छन् एउटा भ्रूण कविको रूपमा
र कवि नजन्मेकै अभियोगमा अब समातिँदै छ

यतिबेला कविका हितैषीहरू मोटर चढ्छन्
कविका प्रियाहरू आफ्नो स्वामी लिएर माइत टेक्छन्
कवि आफैँ भने ग्रस्त कविताले हिर्काइरहेको छ उसका बालाई
मानौं त्यति नगरे उसको जन्म आजै भैहाल्छ
र सत्य त यही हो ऊ जन्मनै चाहँदैन

अब साहित्यको अदालतले यो फैसला गर्न बाँकी रह्यो
उसले निर्मम रूपमा शब्दहरूको हत्या गरेको छ
र सजाय सुनाइयोस्

सजायमा एउटा छान्न लगाइयोस् – कवि कि जन्म ?

कवि हुन मृत्यु अंगाल्नुपर्छ, नकार्न मिल्दैन
किनकि बाँचुन्जेल मिल्ने भनेको
– जिन्दगीको आस मात्र हो

र जन्मने हो यदि भने त्याग गर्नुपर्छ – कमसेकम एक ग्राम जिन्दगी
एक ग्राम सहजता
एक ग्राम आनन्द
अनि एक ग्राम शब्द

अब प्रशवको समय आइसकेको छ
शव गृहबाट आफूलाई उन्मुक्त गरी उसले जन्मनुपर्छ
जन्मनुबाहेक अब ऊसँग अर्को विकल्प पनि छैन ।