अघिल्लो रात मृत्यु जितेपछि केही फरक होला कि भनेर बिहानको सूर्यलाई हेरें । सूर्य नमस्कार गरौं कि जस्तो लाग्दालाग्दै पनि गरिनँ । हिजो जिन्दगी अँध्यारो हुँदा आफू उज्यालो भएर मलाई गिज्याउने सूर्यलाई नमस्कार गर्न मनले मानेन । मान्दै मानेन । मान्थ्यो भने पनि मस्तिष्कले रोक्ने थियो । सूर्य हेर्दैगर्दा अघिल्लो रात फर्किएको चेतले एउटा शेर पस्कियो । जुन शेर गजल बनेन । बस अस्तित्व बनेर म आफैंभित्र बसिरह्यो । मेरो लेखनको अभिप्राय बनेर मनमा द्वीपजस्तै उज्यालो गरी बसिरह्यो । त्यो घडीभन्दा पहिले लेख्छु भन्ने सोच नभएको हैन । चलचित्र लेख्छु भन्नेले जिन्दगी लेख्न भने अपूरो शेरपछि सम्भव भयो ।

सूर्यलाई पोल्छु आगोमा म एकदिन, अगेनामा ओदान राखी
फरक पर्दैन कति तातो छ, ११००० भोल्ट करेन्ट पचाएको छु

मृत्यु जितेपछि सायद जो कोहीले पनि यस्तै साहस राख्दो हो । त्यो साहस काफी थियो अबका दिनहरुमा खुसी हुन । त्यसपछि मैले वर्तमानलाई हाँस्न थालें । ज्युँन थालें । बिगतलाई केलाएर आफ्नो नकारात्मक पक्षलाई क्लोरोफाइड गरी सकारात्मक बनाउन मनमा एउटा प्रयोगशाला बनाएँ । म आफैंले रिबन काटेर उद्घाटन गरेको प्रयोगशाला आजसम्म राइट अफ द ट्र्याक छ । राइट अफ द ट्र्याक मिन्स सब ठीक छ । जुन आजसम्म मेरो स्वभाव बनेको छ । त्यही भएर म हाँसेर भन्ने गर्छु, सब ठीक छ ।

रूपक अधिकारी

मृत्यु अघि र अमृत्युपछि मेरो जिन्दगी बिल्कुल फरक रह्यो । अमृत्युको कुरालाई आश्चर्यका साथ नलिनुहोला । मृत्यु नभएकाले वा मानौं मैले मृत्यु जितिसकेकाले वा यसरी पनि भनौं कि मैले पुनर्जन्म पाएकाले अमृत्यु भयो । अर्थात् मृत्यु भएन । अर्थात् मैले जितें ।

के रे … के रे ? मैले जितें रे ? कसलाई ?

मृत्युलाई …

मृत्यु रे … उफ ! मृत्युलाई आजसम्म कसैले जित्न सकेको छैन ।

फेरि सम्झिएँ, अघिल्लो रात मेरो गर्दनमा छुरी थियो । कपालबाट मट्टीतेल तप्किरहेको थियो । अर्थात् म मृत्युको द्वारमा थिएँ । यस्तो भन्दा कसैको केही पनि बिग्रनेवाला छैन । मृत्युको द्वारमा उभिएको मान्छे आज जिन्दगीको झ्यालमा बसेर सुसेलिरहेको छु- अब मैले मृत्यु जितेको भन्न नपाउनु ?

केही समय पहिले मलाई घर मन परेन र सहर पसें । मलाई सहर पनि मन परेन, म कहाँ जाऊँ ? यस्तैमा म अचेत भएर जङ्गल पसिसकेको रहेछु । आफ्नो घरपरिवार, बुवाआमा, साथीभाइ र यी सबैभन्दा पर आफ्नो जिन्दगी मन नपराउनु भनेको म जङ्गली हुनु हैन र ? जब म जंगली भएँ त्यहीँबाट सहर नै जङ्गल बनिसकेको थियो । आजको बहुमत जङ्गलमै छ । फ्रस्टेसन र डिप्रेसन जस्ता कुरा हरेक घरमा पाइन्छ । यो रोग नभएर संस्कार भैसकेको छ ।

– मलाई त घरबाट चाराना दिँदैनन् यार ! म त फ्रस्टेट भैसकें ।
– बाइक किन्देऊन् भनेको सुड्डोले त गाडी भाडा पनि दिँदैनन् थिए । घरमा साइकल छ त तेइ चला रे । डिप्रेस भैसकें ।
– मासु खान दसैँ आउनुपर्छ । साग खाँदा खाँदा पागल भैसकें
– अस्ट्रेलिया जान्छु भनेको, दुई लाख दिन्छु जे गर रे ! मेरो त टाउको फुटिसक्यो ।
– मेरो छम्माको त अर्को ब्याइफ्रेण्ड रछ यार । म त मर्छु होला अब ।

यी फगत उदाहरण हुन् । हेर्नूस् त कति सजिलो छ जिन्दगीसँग हार्न । संस्कार निभाउँदै कति सजिलोसँग चितामा धकेलिरहेका छन् । यस्तैमा समाचार आउछ, १३ वर्षका किशोरद्वारा आत्महत्या । सायद म पनि यतिबेलासम्म त समाचार पो भैसकेको हुन्थे होला है ! एकैछिन यस्तै सोचेर फेरि जिन्दगी लेख्न सुरु गर्छु । मलाई यस्ता उदाहरणहरु सुन्दा अचम्म लाग्छ, तर म पनि हिजो त्यही अवस्था बाँचेर आएको छु । त्यसैले उनीहरु कति गलत भन्न सक्दिनँ, तर सही के हो म भन्न सक्छु । मैले भोगेको छु । आफूसँगको युद्ध जितेको छु ।

हिँड्दैगर्दा बाटोमा कोही ठोक्किएछ भने पनि तपाईं सरी भनिदिनूस् न, के जान्छ ? तपाईंको गल्तीले ठोक्किएको भन्ने मानिदिनूस् न, के बिग्रन्छ र ? यसले विस्तारै तपाईंलाई राइट अफ द ट्र्याक दौडाउँछ । सकारात्मक पक्ष जब तपाईंको नसामा चढ्न थाल्छ, जिन्दगीभन्दा सुन्दर अरु केही पाउनुहुने छैन । स्वभावमा नियन्त्रण नै तपाईंको जित हो । मैले आफूले महसुस गरेपछि आँसुलाई पुछ्दै जीवन लेख्न सुरु गरें । ह्वेर इज द्याट ब्लेड भन्दै “थ्री एन्ड हाफ मर्डर” लेख्न सुरु गरेको जीवनको नाम “साढे तीन हत्या” रह्यो र सुरुवातमा नै कथाको अन्त्य भयो । यो कथा पढ्दा एकबार द्विविधा आउन सक्छ, तर बुझेपछि आफ्नै जिन्दगी पढेको महसुस हुन्छ भन्ने विश्वासका साथ लेखिएको छ ।

साढे ३ हत्या पढ्नेले कहिल्यै नकारात्मक सोच राख्ने छैन भन्ने मेरो विश्वास हो । तर मेरो विश्वास सर्वोपरी हुनुपर्छ भन्ने पनि छैन । मैले आधा गिलास पानीलाई उदाहरण दिँदै आधा भरिएकै मान्नुपर्छ भन्ने पनि छैन । यसलाई आधा रित्तोभन्दा गलत कहीँ हुनेछैन । जिन्दगी सुन्दर छ भनिरहँदा सुन्दर गुलाफमा काँडाहरु भएजस्तै धेरै अल्झनहरु हुन्छन् तब सुन्दर नलाग्न सक्छ । यहाँबाट सुन्दर लागेको हिमाल- एकचोटिमा नपुगेसम्म बित्थामा आइएछ जस्तो लाग्दैन र ? तुइनमा खोला तर्दै गर्दा त्रासमा जिन्दगी सुन्दर लाग्ला र ? पक्कै पनि लाग्दैन । तर पहिलोचोटिमा पुगेपछि त्यो हिमालभन्दा सुन्दर दृश्य पछाडि पनि देखिँदो हो । आहा ! कति मिलेका घरहरू भनिँदो हो । जिन्दगीका अँध्यारा भनिएका पलहरु त्यस्तै हुन् । बहुतै सुन्दर छन् । बस ऐना हेर्दा आफूलाई कुरुप देख्न भएन ।

अन्त्यमा, म भन्न चाहन्छु, जबसम्न आफूले ज्युँने अभिप्राय बुझिन्न तबसम्म जतिसुकै मोटिभेसनल कार्यक्रममा सहभागी भए पनि जिन्दगीको सुन्दरता बुझ्न सकिँदैन । कसैले ज्युँने अभिप्राय सुनाउन सक्छ, जित्ने अभिप्राय बताउन सक्छ । तर त्यसलाई अमल गराउन सक्दैन । साढे ३ हत्याको आशय पनि त्यही हो । जिन्दगी सुनाउनेछ, बुझ्नु आफैंले पर्नेछ । मैले जिन्दगीको सुन्दरता देखाउन जित लेखेको छु । अब जिन्दगीको बगैँचामा उभिएर मलजल यहाँहरु स्वयंले गर्नुपर्छ । तपाईंको जित मेरो जित हो । आउनुहोस्, हामी सबै हारलाई हराऔं । हार अर्थात् मृत्यु ।

से नो टु सुइसाइड