एक आदेशको कथा हो
जहाँ भोक थियो
भोक चुहाउने आँसु थिए
भोकसँगै आँत निमोठ्ने पेट थियो
घर छोड्दा लात हिर्काएको गेट थियो
तथानाम बकेर छोडेको पत्र थियो
भावविह्वल भएका बा-आमा थिए
थिएन त केवल आशीर्वाद
र थिएनन् अर्जुनलाई जस्तै रथ हाँकिदिने कृष्ण
अनि थिएनन् धनुर्धारी विद्या सिकाउने गुरु द्रोणाचार्य
एउटा योद्धा बाटो बिराएर मैदानमा उत्रँदा जानकी साथमा थिइन्
तर हर जानकी रामकी नहुँदा रहेछन्
महिनौं सक्किएर नखर्चिएको नोट पर्समा थियो
दस रुपैयाँको त्यो नोटमा गान्धी थिए
गान्धी आजभोलि चर्खा चलाउँदैनन्
चर्खा अहिले गोदाममा असरल्ल छरिएका छन्
र छरिएका छन् केही पुराना सिक्काहरू – नयाँ शिवालयमा
यता गान्धारीहरू गान्धी अंकित नोटका लागि लडिरहेका छन्
र लडिरहेका छन् अन्त कहीँ दस रुपैयाँको नोटजस्तै धेरै कम मूल्यमा
मेरा सहोदर भ्राताहरू मरुभूमिको त्यो तातो बालुवामा
अनि लडेकै त थिए आखिर पाण्डव र कौरवहरू
कोही लडे राज्यको लागि
कोही राजाका लागि लडे
जो जहाँ लडे पनि एक योद्धा र अर्को क्रान्तिकारी जन्मियो
त्यसैले यहाँ एउटाको क्रान्ति अर्काको लागि आतंक हुन्छ
आदि अन्त्य भएर मात्र हो आरम्भको शंख नसुनिएको
नत्र एउटा योद्धा अर्को मुलुकमा हुँदा बडा इमारतको पाचौं तलामा नलडेको हैन
नढलेको हैन
नभिडेको हैन
तर भिडबाट एक्लिएपछि निरीह बाघ पनि शिकारीको फन्दामा पर्दो रहेछ
शरीरको गर्मी त वैद्यले नाडी छामेरै बताइदिन्छन्
भित्र जमेको ताप मापन मिल्दैन र मात्र हो नत्र देखाउन हुन्थ्यो
कति तातेको छ मस्तिष्क
कति मातेको छ हृदय
हृदयकै बात गर्ने हो भने त खरबुजा जस्तै रसिलो छ
तर रस कतिबेला सुकेर जान्छ भन्न कहाँ सकिँदो रहेछ
सकिन्थ्यो भने म भन्नेथिएँ-
“जिन्दगी अलिकति अझै बाँकी छ आऊ सँगै यात्रा गरौँ”
बगरका कित्तामा ओइलाएका खरबुजाका त्यान्द्रा जस्तै
किस्ता किस्तामा जलेर खरानी हुन बाँकी एक योद्धा
अनि कष्टको नदीमा उसको बगेर सक्किएको अस्तित्व
र अति न्यून मूल्यमा बेचेर बँचेको न्यून अवशेष
एउटा जिन्दगीमा पोको पारी हिसाब देखाउन हुन्थ्यो
देखाउन त हुन्थ्यो तर देख्ने आँखा खै कहाँ छन्
कहाँ छन् ती भिजेका आँखा नरोइकन हेर्ने सुख्खा बन्दरगाह जस्तै सुख्खा आँखा
एकातिर लद्दाखमा तापमान बरफझैं माइनसमा चिस्सिएको थियो
बावजुद ऊ सर्वाङ्ग भई, सपनाको गर्मी जो थियो
अर्कोतिर मुम्बईमा समुद्र अनि मेरो आँखामा नूनझैं आँसुको सुनामी
मेरो चरित्र त्यहीँ लिलाम भयो
जहाँ भोकले निम्त्याएको अवरोह चिर्दै म फोन घुमाउँथे
मान्छेको सोच घुमाउँथे
त्यसै बखतको कथा हो टिफिनमा कैद गरेर ऊ भोक बेच्दैथियो
त्यही व्यापारीलाई आशाका जुठा त्यान्द्रामा अल्झाएर
खुद धोखेबाजको हतकडीमा कैद थिएँ
र कैदीले जिन्दगी ज्यून मात्र हैन, त्याग्न पनि मिल्दैन
थाहा छैन ऊ बरफसँगै लद्दाखमा जमी
वा यो योद्धा पग्लियो समुद्रको गर्भमा मिसिन
थाहा छैन तर त्यो बेला स्थिति कायापलट भैसकेको थियो
सही गर्ने दौडमा मबाट गलत भैसकेको थियो
केही जान्दाजान्दै नजानिदा गल्तीहरू
गलत प्ल्याटफर्ममा उभिएर रेल पर्खिँदा भयो
अर्को स्टेसनबाट छुटेको रेल खै किन मेरो अघि आएर उभिएन
अनि किन सही गन्तव्य खोज्दै म हिँडिनँ
किन मेरा गोडाहरू साँझमा गुँड फर्किएका चराझैँ घर फर्किन मानेनन्
कि एउटा योद्धा मैदान छोडेर दरबार फर्कियो भने महाअभियोग लाग्ने हो
– राजद्रोहको अभियोग
लाग्छ पाप धुरीबाट कराएर मेरो घर-थर सब हराएको छ
नत्र पानीको स्वभाव हो बाफ र बरफ हुनु
योद्धाको चरित्र हो नायक र खलनायकको भूमिकामा उभिनु
त्यसैले परिस्थिति जुनसुकै आओस् अब लात हिर्काएको गेटभित्र पस्नेछु
सुतेको योद्धाको चरण स्पर्श गरेर पग्लिएको एक योद्धालाई जमाउनेछु
जमाउनेछु वीरको वीर्य र वीरताको अन्ड मिसाएर
अनि जन्माउनेछु एक योद्धा, नयाँ युद्ध आरम्भ गर्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।