म तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
फोन नगरे पनि
भिडियो कल नगरे पनि
म्यासेज नआए पनि
चिठी नपठाए पनि
खबर नपठाए पनि
तपाईंले नगरेको फोन
नउठाए पनि 😃
तपाईंलाई सम्झिरहेको छु
भेट हुने दिन कुरिरहेको छु !
म तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
तपाईं त फोन गर्न जान्नुहुन्न
फोन गरेन भनेर दुःख मान्नुहुन्न
न तपाईंसँग नेट छ
न डाटा छ
सिमबाट कल गर्दा
उल्टो घाटा छ
तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
तपाईंलाई अस्ति बाडुल्की लाग्या
मन टोलाएर खान मन नलाग्या
मेरो हृदयले मिसकल गरेको हो
सम्बन्ध नवीकरण गरेको हो
फोन नम्बर राखेको व्यर्थ नठान्नु होला
यसले बिर्स्यो नमान्नुहोला
म तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ, म यतै छु है !
मेरा गोठाला जाँदाका साथी
खोलाका बयर खाँदाका साथी
दाइँ गर्दाका साथी
आपत पर्दाका साथी
लडाइँ – झगडा गर्दाका साथी
पढाइ लेखाइ गर्दाका साथी
मेलापात धाउँदाका साथी
जात्रामा दोहोरी गाउँदाका साथी
हाटबजार जाँदाका रङ्गीचङ्गी साथी
होली खेल्दाका नवरङ्गी साथी
निबुवा कागती खाँदाका
पिरा र अमिला साथी
मनभित्रका धमिला साथी
म तपाईकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
पौडी खेल्दाका साथी -भाइ
काठ बोक्दाका काका दाइ
कसैलाई भगाउन सघाउने साथी
नखाइकन अघाउने साथी
प्रेमपत्र लेखाइमाग्ने साथी
परीक्षामा देखाइमाग्ने साथी
पूर्व भगाएर पश्चिम देखाउने साथी
झुठो मुद्दा लेखाउने साथी
दुःख पर्दा उदाउने साथी
सुखका निम्ति कुदाउने साथी
नडरा म छु भन्ने साथी
नकरा मर्छु भन्ने साथी
निहुँ नखोज मार्छु भन्ने साथी
बङ्गारा सबै झार्छु भन्ने साथी
मेरा मानस पटलमा घुमिरहने साथी
मेरो सफलतालाई चुमिरहने साथी
मेरो सासमा सास मिलाउने साथी
मेरो गाँसमा गाँस मिलाउने साथी
मेरो आशमा आश मिलाउने साथी
मेरो त्रासमा त्रास भगाउने साथी
म अघाउँदा अघाउने साथी
तपाईकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
मेरो भविष्यको रेखा कोर्नेहरू
आपसमा दुईलाई जोर्नेहरू
स्वार्थ सकिएपछि छोड्नेहरू
फाइदालाई सम्बन्ध तोड्नेहरू
ज्ञान दिने गुरुहरू
मान दिने मनुहरू
भलो चाहने भलोहरू
शुभ चाहने थलोहरू
तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ म यतै छु है !
माथि चढाउने काँधहरू
मलाई जमाउने बाँधहरू
छिनछिनमा म चाहिने
छिनछिनमा मलाई चाहिने छिमेकी
गफले आकाश पाताल जोड्ने साथी
सुर्ती चुरोटका लागि कक्षा छोड्ने साथी
कृष्ण बनेर गोपिनी घुमाउने
पछि घरकी पनि गुमाउने साथी
छुद्र बोल्ने छुच्चो साथी
साह्रै लोभी लुच्चो साथी
आजकाल कस्ता भए होलान् !
आजकाल कता गए होलान् ?
म तपाईंकै मनभित्र कतै छु है
मलाई सञ्चै छ; म यतै छु है !
हेटौंडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।