तास खेलेर दिन बिताउँथ्यो
घर गएर स्वास्नी सताउँथ्यो
सुको कमाई नगर्ने त्यो लन्ठू
आफूलाई जान्ने सुन्ने बताउँथ्यो !
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
दिनभरि कुकुरको पुच्छर बन्थ्यो
पुच्छरले नै कुकुर हल्लाउँछ भन्थ्यो
बेलुका कुकुरकै मुत धोकेर आई
घरका र छिमेकीको खोइरो खन्थ्यो !
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
कुकर्म अति नै गरेको थियो
लाजले बसाइँ सरेको थियो
कुकुरले नपाएको दुःख पायो रे
दुराचारी तराईतिर झरेको थियो
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
परिवारलाई बाह्र गाउँ घुमायो रे
भएको झिटीझ्याम्टी सबै गुमायो रे
बेइज्जतका मात्रै खबर सुनिन्थ्यो
कन्या काण्डमा पुलिसले समायो रे
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
उसलाई जाँडले खायो कि खाएन होला ?
उसको मनले शान्ति पायो कि पाएन होला ?
ऊ जिउँदोसम्म त हुनुपर्ने हो अहिलेसम्म पनि
त्यो बानीले उसलाई उँभो लायो कि लाएन होला ?
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
अरु सुधार्नेले पहिले आफू सुध्रिनुपर्छ
अरु उधार्नेले पछि आफू उध्रिनुपर्छ
पृथ्वी गोलो छ पालो घुमेर आउँछ
अरुलाई बिगार्नेले पछि आफू बिग्रिनुपर्छ
जय शिव शङ्कर भोला
आजकाल त्यो कता होला ?
हजुरको तिर आइपुग्या’छ त ?
०००
हेटौंडा ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।