म राम्री युवती
झन् राम्री भएर
गाडीमा यात्रा गर्दा
झुर बुढासँग
सिटमा पर्दा
ह्यान्डसम लक्का जवान छेउमा परोस्
मेरो आँखाको तारिफ गरोस्
ओठ देखेर खुत्रुक्क परोस्
ढेपिएर मैतिर सरोस्
मसक्क-मसक्क मस्किओस्
मलाई हेरेर झस्किओस्
भन न सङ्‌गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

हिमालमा हिमाल रोकियोस्
पहाडमा आँखा ठोक्कियोस्
टाकुरादेखि तराई छ्‌याङ्ग देखियोस्
मेरो नाम उसको मनमा लेखियोस्
मोडमा जोडले
दुवै एकैतिर मोडिऊँ
संयोगले भने पनि
एक छिन जोडिऊँ
उसको धड्कन बढोस्
गालामा लाली चढोस्
मायाले बोलिदिए हुन्थ्यो
मनको भाव खोलिदिए हुन्थ्यो
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ..?

नजानिंदो पाराले
हलचल गरोस्
अझ वरवर सरोस्
गन्तव्य अझ टाढियोस्
आपसमा माया बाँडियोस्
कर्के आँखा एक्कासि जुधून्
गाडीअघि शरद् कुदून्
बिचबिचमा ब्रेक झ्याप्प लागोस् उसलाई पनि श्रृङ्गार जागोस्
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

आनन्दको लोकमा शयर गरी
आफूलाई ठानी स्वर्गकी परी
सपनाको राजकुमारको यादमा
कल्पनामै मजा लिएँ मन भरी
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

गाडीभरी बुढाको घुर सुघियो
बल्लतल्ल गन्तव्यमा पुगियो
मसक्क मस्कँदै आयो मेरो हिरो
यति भएपछि मलाई पुगि’गो !
भन न सङ्गी
छुट्ने बेलामा गरोस् बाई !
तिमीलाई पनि लाग्छ कि नाइँ ?

हेटौंडा